
काठमाडौं । नेकपा एमालेले प्रतिपक्ष मात्रै नभइ सत्तापक्षका नेताहरूमाथि पनि छानिछानी आक्रमण हुन थालेको बताएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेता असुरक्षित रहेको बताएका हुन् ।
यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेको भन्दै बर्तौलाले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे । बुधबार दिउँसो नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकरी प्रहार भएको थियो ।
‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन्। प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो,’ उनले भने, ‘हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने । त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस् ।’














