Logo
Logo

‘प्रधानमन्त्रीको चीन भ्रमणकाे एजेण्डा तय भएको छैन’


756
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेपनि अहिलेसम्म एजेण्डा तय नभएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा कार्यान्वयन गर्न सकिने परियोजनामा छलफल गर्ने तयारी भएपनि औपचारिकरुपमा एजेण्ड तय नभएको जानकारी गराएका हुन् ।

उनले चीनले नेपाललाई सहयोग अनुदान गर्दै परियोजनामा रकम विनियोजन हुन नसकेको र विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको पनि जानकारी दिए । मन्त्री साउदले चीन भ्रमणका बेला नेपालसंग जोडिएका नाकालाई सहज रुपमा सञ्चालनका लागि पनि छलफलको एजेण्डा बनाउने तयारी भएको बताए ।

त्यस्तै, उनले नेपालको संसदले पारित गरेको नयाँ नक्साको सम्मान चीनले गर्नुपर्ने उल्लेख गरे । नयाँ नक्सा जारी भइसकेपछि पनि यस बिषयमा चीनलाई जानकारी गराएको औपचारिक रेकर्ड फेला पर्न नसकेको उनको भनाइ छ । चीनलाई पत्राचार गरिएको जानकारी आए आफु आभारी हुने समेत उनले बताए ।
बैठकमा सांसदहरुले नयाँ नक्साका बारेमा अन्य राष्ट्रहरुलाई जानकारी गराइएको बिषयमा मन्त्री साउदसँग प्रश्न गरेका थिए । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको नक्साका बारेमा चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको भन्दै सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए ।

त्यस्तै, माओवादी केन्द्रका सांसद बर्षमान पुन अनन्तले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा अन्य मुलुकमा पत्राचार गरेको बिषयमा भएको कमीकमजोरीका बारेमा समितिमा जानकारी गराउनुपर्ने बताए । उनले नेपालको आन्तरिक मामिलामा कुनै पनि राजदूतले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने धारणा राखे ।
त्यस्तै, अन्य सांसदहरुले चीनको नक्सामा नेपालको पुरानै नक्सा राखिएको बिषयमा कुटनीतिक तवरले वार्ता गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री साउदले भने यस बिषयमा मन्त्रालयले कुटनीतिक नोट जारी गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्