मोरङ । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले एमाले सम्बद्ध युवा संघलाई ब्यानरमा कोशी नलेख्न र जातीय पहिचानबिरुद्ध उत्तेजित बोल्ने ब्यक्तिहरुलाई कार्यक्रममा नबोलाउन आग्रह गरेको छ । युवा संघको यही भदौ २३ र २४ गते सुनसरीको धरानमा प्रदेश अधिवेशन गर्दैछ । संयुक्त संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशनको ब्यानर र गेटहरुमा कोशी नाम नलेख्न आग्रह गरेको हो ।

संघर्ष समितिले प्रदेशभर कोशी लेखिएको बोर्ड, ब्यानर, छाप मेट्ने, हटाउने, च्यात्ने कार्य गर्दै आएका छन् । साथै, कोशी नामको लागि हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदलाई गाउँगाउँमा कालो झण्डा देखाउँदै आएका छन् । संघर्ष समितिले कोशीमा हस्ताक्षर गर्ने ८२ मध्येको कोही पनि र समस्या चर्काउने मन्तब्य दिने कसैलाई नबोलाउन विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलन कुनैपनि संगठन र समुदायको विरोधी नभएको, कोशी नाम खारेजी नभएसम्म निरन्तर रहने र कोशी नाम खारेजी निश्चित रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच युवा संघ र संघर्ष समितिबीच भदौ २० गते धरानमा छलफल भएपनि निष्कर्ष ननिस्केको र आधिकारिक धारणा सार्वजनिक नभएकाले भ्रममा नपरी खराब अभिव्यक्ति र कोशी नामविरुद्ध हुने प्रदर्शनको तयारीमा लाग्न आव्हान गरिएको छ ।
विज्ञप्तिमा किरात राई यायोक्खा संघीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम एक्तेन, पहिचानसहितको प्रदेश नं. १ पुनः नामांककन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष ग्याल्जे शेर्पा र नेपाल शेर्पा संघको महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षर गरिएको छ ।












