काठमाडौं । हिक्मत कार्की फेरि कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता कार्कीलाई सर्वोच्च अदालतले ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश दिएको हो ।

हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले यस्तो आदेश दिएको हो । कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी र अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
९३ सदस्य रहेको प्रदेश सभाको बहुमत ४७ पुर्याउन ४७ सीट आवश्यक पर्दछ । सभाको अध्यक्षता गरेका मन्सुरीले मतदान गरेपछि उनै मन्सुरीले थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।