काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् ।

शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विविधताका बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन दिनु नहुने बताएका हुन् । उनले आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्नेसमेत बताए ।
गृहमन्त्री श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताउँदै आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व र विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको बताए ।
उनले भने, ‘आज नेपालको यो विविधता बीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन ? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ ।’
समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुलमन्त्र बनाएको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे ।














