Logo
Logo

अहिले पनि सामाजिक विद्वेष फैलाउने तत्वहरु छन् : ओली


1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्वहरु अहिले पनि क्रियाशील रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तीजको अवसरमा शनिबार पार्टीनिकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमि नगर कमिटीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

जात–जात, वडा–वडा, पालिका–पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको ओलीको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाली चाडपर्वको अर्थ सामाजिक सद्भाव कायम गर्नु रहेको बताउँदै त्यसले सबै समुदायमा निकटता ल्याउने उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘हाम्रा हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रुपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसाबले विकास गरिएको होला । तर, यसको अन्तर्य र सारतत्व चाहिँ सामाजिक सुप्रबन्धलाई अझ राम्रो बनाउनु हो ।’

उनले भिन्न जात, थर, भूगोल मिलेर बसेकोमा असन्तुष्ट भएकाहरूले समाजमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरेको बताउँदै भने, ‘साम्प्रदायिक विद्वेष फैलाउने तत्वहरु पनि छन् । चाडको अर्थसँग त्यस्ता सोचहरु ठ्याम्मै मिल्दैनन् किनभने चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो ।’

सामाजिक निकटता कायम गर्नु सबै मिलेर रमाउनु साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुसियाली, साझा उत्सव मनाउँदै आएको उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्