Logo
Logo

लिबियामा भीषण बाढी, कम्तिमा १५० जनाको मृत्यु



एजेन्सी । भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको सरकारी अधिकारीहरु बताएका छन् ।

लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा आँधी ड्यानियलले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा एक सय ५० जनाले ज्यान गुमाएका बताए ।

‘यो मानवीय क्षति बाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,’ उनले एएफपी संवाददातालाई सुनाए । प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न डेर्ना पुगेका बताएका छन् ।

त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गठन भएको अन्तरराष्ट्रिय मान्यता प्राप्त सङ्क्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ ।

उद्धारमा खटिएका नौ जना सैनिक जवान सम्पर्कविहीन भएका छन् पूर्वी लिबियामा आइतवार आँधीले जबल अल–अख्दारको भेगमा व्यापक क्षति गरेको छ ।

केही दिनअघि डेनियल आँधीका कारण ग्रीस, टर्की र बुल्गेरियाका केही भागमा मुसलधारे वर्षा हुँदा २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्