Logo
Logo

म त्यो संस्थाको जगमा रहेको अदृश्य ढुंगा हुँ



बिहेको ११ वर्षपछि हामी दोस्रो सन्तानका आमाबुवा बन्यौँ । अस्पतालका सिस्टरहरूले सुन्दर बच्चीलाई काखमा राखिदिएपछि म भावविह्वल भएकी थिएँ । आमा हुन सजिलो छैन, तर नवजात शिशुको अनुहार देख्नेबित्तिकै विगतका सारा दुःख बिर्सिने रहेछ । म नयाँ सन्तानसँग रमाउन थालेँ । बच्चा जन्मेकै बिहान सबेरै सासु आमाले ज्वानोको तातो झोलसँगै तातो घिउ–भात देवर तारकको साथ पठाइदिनुभयो अस्पतालमा ।

सुत्केरीपछि सबै आमाहरूलाई भोक लाग्दोरहेछ, मलाई पनि बेस्सरी भोक लागेको थियो । घरबाट बिहानै आइपुगेको भात मेरो निम्ति अमृत बराबर थियो । यो एक छाक भातको निम्ति म जीवनभर नै ऋणी छु–सासु आमासँग ।

भोलिपल्ट नै अस्पतालबाट डिस्चार्ज भएँ । म आफैले सानो बच्चीलाई बोकेँ । हामी घर फक्र्यौँ, दिदीको घरमा सघाउने बहिनी सपनालाई पनि साथै लिएर । घर पस्नासाथ सासु आमाले बच्चा जन्मिएको रात ज्यादै राम्रो सपना देख्नु भएको कुरा सुनाउँदै भन्नुभयो– ‘यसमा भगवतीको अंश छ ।’

‘सुत्केरी स्याहार्न’ घर या माइती दुवैतिरका आमाहरूलाई दुःख दिने पटक्कै मन थिएन । त्यसैले फेक्टकै अफिसको एउटा कोठामा दुईतीन महिना बसेर आफैले खाना पकाएर खाने इच्छा गरेकी थिएँ । तर, यो कुरा व्यावहारिक थिएन । पद्मा दिदीले मेरो मनको कुरा बुझ्नुभयो । न्वारानको केही दिनपछि नै उहाँ मलाई लिन आउनुभयो । भिनाजु पनि उदार विचारको हुँदा सजिलो भयो । झण्डै तीन महिना नै दिदीकहाँ बसेँ, घर फर्किन मनै नलागेर ।

१० वर्षकी ठूली छोरी कहिले दिदीकहाँ मसँगै र कहिले घरैमा बस्ने गर्थी । तर, दिदीको घरमा सधैँभरी बसेर दुःख दिने कुरा आएन । सरोजमा अलि व्यावहारिक ज्ञान आइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । उनी भने अझै ‘अस्पताल, अस्पताल…’ भनेर नै लागिरहेका थिए । आफूलाई समस्या पर्दा आफैले कमाउन नसक्दा त्यो बेलाको निम्ति भनेर केही सञ्चित गर्न सकेको पनि थिइनँ । तनाव त अझै हुने नै भयो ।

तर, छोरी जन्मेको चार दिनपछि नै जापानबाट राम्रो समाचार आयो– अस्पतालको निम्ति प्रारम्भिक सहयोग आउने भएछ । सुमनको सम्पर्कका उनै कुराउचीको मेहनतले यो सम्भव भएको थियो । यो कुराले खुसी थपियो । सरोज बेला बेलामा केही प्राइभेट अस्पतालमा अपरेशन गर्न थालेका थिए । खासगरी त्यो बेला पुतली सडकमा भएको ‘दान्स केयर नर्सिङ होम’ मा ।

डा. अर्जुनदेव भट्टले उनलाई त्यहाँ लगेका थिए । संयोगले मैले जापानमा भेटेको सन्तजस्ता डा. इवामुराकै धर्मपुत्री पूर्णिमा गुरुङको स्वामित्वमा रहेछ त्यो ‘नर्सिङ् होम’ । यसले गर्दा आर्थिक रुपमा केही सजिलो हुन थाल्यो । छोरी र काठमाण्डू मोडेल अस्पताल जुम्ल्याहा दिदी बहिनी जस्तै भए । दुवैलाई उत्तिक्कै हेरविचार पुर्याउनुपर्ने भयो ।

दिदीकहाँबाट घर फर्किनु अघि बुढालाई भनेकी थिएँ– ‘आफै खाना पकाएर खानेभए मात्र घर फर्कन्छु ।’ नयाँ घरमा तलैपिच्छे किचेन पनि बनेको थियो पहिले नै । तीन दाजु भाइलाई अलग भान्छा गर्नुपरेछ भने पनि सजिलो होस् भनेरै बुवाले बनाउनुभएको होला । माथिल्लो तल्लामा हामी बस्ने र किचेनमा पनि आफैले पकाउन पाउने भएपछि बल्ल घर फर्किने निधो गरेँ । नयाँ भान्साको बन्दोबस्त गर्नुपर्ने भयो । जीवन हरेक दिन नयाँ नै हो, नयाँ तरिकाले जिउने प्रयत्न गरिरह्यौँ । दुईजना बच्चाहरूको साथमा जीवन अगाडि बढिरह्यो ।

उता अस्पताल शुरु गर्न भनेर एउटा थोत्रो घर भाडामा लिएको थियो– उहिल्यै डा. जीतसिंह मल्लले बागबजारमा बनाएको घर । त्यही पुरानो घरमा नयाँ अस्पतालको सुरुवात भयो । मेरो निम्ति यो सबैभन्दा खुसीको कुरा थियो । धेरैलाई थाहा छैन, अस्पतालसँग जोडिएको मेरो कथा र भावनात्मक सम्बन्ध बारे । कसैलाई थाहा छ भने आफ्नै बुढालाई मात्र थाहा छ । सुमन कहिले–कहिले भन्ने गर्थे– ‘तिम्रो कारणले त हो मैले अस्पतालको निम्ति सहयोग जुटाएको । नत्र न सरोजलाई प्रत्यक्ष चिनेको थिएँ, न त भरत दाइलाई नै ।’

जे होस्, सबैको सहयोग र संयोगले अस्पताल बन्यो । राम्रो भयो । धेरैलाई अस्पतालले काम दियो, नाम र दाम पनि दियो । त्यहीँबाट आफ्नो पेशागत जीवन शुरु गरेका कतिपय डाक्टरहरूले अहिले त आ–आफ्नै छुट्टै अस्पताल पनि बनाइसकेका छन् । त्यहीँ काम गर्दागर्दै धेरै प्रोफेसर पनि भइसकेका छन् । अस्पताल बन्नु भनेको अस्पतालको भवन र त्यसमा काम गर्ने मानिस मात्रै हुँदैन । त्योसँग धेरै कुरा जोडिएर आएको हुन्छ ।

अस्पताल त बन्यो, तर सुरुसुरुमा काम गर्ने कर्मचारीहरूलाई तलब दिनसम्म पनि पैसा पुग्दैनथियो । एकपटक त यति आपत परेको थियो कि, मेरो सानो भिनाजुले समेत एकलाख रुपैयाँ खोजखाज गरेर दिनुपरेको थियो । त्यो बेला एकलाख पनि ठूलै हुन्थ्यो । हाम्रा एक पुराना मित्रले अस्पतालको पहिलो रूप देख्दा भनेका थिए – ‘तपाईँहरूले त भूत बंगलालाई अस्पताल बनाउनु भएछ !’ मैले भनेकी थिएँ– ‘हेरिराख्नुस् न, यसले इतिहास बनाउने छ ।’ उनै मित्र पछि त्यही अस्पतालमा काम गर्न थाले र पछि उनका सन्तानहरूले समेत काम गरे ।

जनस्वास्थ्य सरोकार ट्रष्ट र मोडेल अस्पताल शुरु भएको तीन दशक भन्दा बढि भइसक्यो । भावनात्मक रूपमा जोडिएको मात्रै थिइन म । बच्चा जन्मिनुअघि ठूलो पेट लिएर, अनि बच्चा जन्मिसकेपछि सानो बच्चा बोकेर पनि त्यो अस्पतालको निम्ति समय, शक्ति, तन, मन र थोरै नै सही परेको बेला धन पनि दिएकी छु ।

जीवनका महत्वपूर्ण क्षण दिएकी छु । सरोजले गरेको कामको के मूल्यांकन गरौं ? घर परिवारलाई भन्दा बढि नै अस्पताल भनेर कुदेका कुरा म बिर्सिनै सक्दिनँ र मेरो निम्ति अति आवश्यक परेको बेला पनि ! मैले त जे जे सकिन्छ त्यही गरेकी छु ।

तर, पछि मेरो आवश्यकता रहेन । त्यहाँ कहिल्यै मेरो कुनै औपचारिक स्थान पनि भएन । अहिले त्यहाँ काम गर्नेहरूमा त अधिकांशले चिन्दा पनि चिन्दैनन् । अझै संस्था नछोडिसकेका केही पुराना डाक्टर, नर्स र कर्मचारीलाई मात्र थाहा छ केही कथा । र, ती कथाहरू पनि विस्मृतिको कुहिरोमा हराउँदैछन् । तर, त्यो अस्पतालको प्रगतिले, त्यसको माउ संस्था फेक्टको प्रगतिले मलाई जहिले पनि गर्व लाग्छ ।

त्यसको बारे नराम्रो सुन्नुपर्दा मलाई दुख्छ । किन कि, म त्यो संस्थाको जगमा रहेको अदृश्य ढुंगा हुँ । आधारशीलाले चोट सहेको अरूले देख्दैनन् । मैजस्ता अरू पनि शीलाहरू छन् त्यो संस्थाको जगमा । ती सबै नै मजस्तै अदृश्य छन्, देखिँदैनन् । देखिने त जमिन माथिको साइनबोर्ड पो हुन्छ !

प्रतिक्रिया दिनुहोस्