विराटनगर । कोशी प्रदेशको नामकरणविरुद्ध पहिचान पक्षधरले मंगलबारदेखि पुनः विराटनगरमा आन्दोलन सुरु गरेका छन् । मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल ¥यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा समेत माग गरेका छन् । कार्कीकै नेतृत्वको सरकारले गत १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण गरेको थियो ।
पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन् । उनीहरुले मंगलबारदेखि प्रदर्शन गर्ने जानकारी पाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशासनिक क्षेत्र आसपास प्रदर्शनमा रोक लगाउन दुई महिनासम्म निषेधाज्ञा जारी गरेको छ ।











