
काठमाडौं । दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले कोशी प्रदेशमा जारी पहिचान पक्षधरको आन्दोलनका कारण अत्यधिक सुरक्षा चुनौती रहेको रिपोर्टिङ गरेका छन् । उनीहरूले देशमा धार्मिक अतिवाद समेत बढेको बताएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत उपस्थित संसद्को राज्यव्यवस्था समितिको बैठकमा दुवै सुरक्षा निकायका प्रमुखले शान्ति सुरक्षाको समग्र अवस्था सामान्य नै रहेता पनि कोशीमा जारी पहिचान पक्षधरको आन्दोलनका कारण अत्यधिक सुरूक्षा चुनौती रहेको भन्दै यसको राजनीतिक रूपमा समाधान खोज्नु नै उत्तम हुने बताएका छन् ।
बिहीबार सम्पन्न बैठकमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले देशमा सुरक्षा अवस्था सामान्य नै रहेता पनि कोशीमा जारी पहिचान पक्षधरको आन्दोलनका कारण ठूलो समस्या निम्तनसक्ने खतरा रहेको बताएका छन् ।
महानिरीक्षक कुँवरले भने– ‘तत्कालीन अवस्थामा पहिचानको समस्या छ । पहिचानसँग जोडिएर धेरै कुराहरू आएका छन् । कोशी प्रदेशमा पहिचानको विषयलाई लिएर जारी आन्दोलन सबैलाई थाहा छ । अहिले धेरै कुराहरू छन् । ताप्लेजुङको घटना पनि करिब करिब त्यसैसँग जोडिएको छ । पटक पटक यो र त्यो नाममा पहिचानले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा समस्या ल्याएको छ । यो समस्यालाई राज्यले दूरगामी रूपमा सोचेर समाधान गर्नुपर्ने अवस्था देख्छु ।’
अर्का सुरक्षा प्रमुख सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाको अवस्था सामान्य नै रहेता पनि पहिचान पक्षधरको आन्दोलनका कारण देश दुर्घटनातर्फ जान सक्ने खतरा रहेको बताएका छन् ।
समितिको बैठकमा महानिरीक्षक अर्यालले भने– ‘सुरक्षाको अवस्था सामान्य नै छ । तर, केही कारण अवस्था असामान्यतर्फ जाने हो भन्ने लक्षण देखिएको छ । मुख्य गरी कोशी प्रदेशको कुरा छ । यो अहिले त यहाँसम्म छ । तर, कहाँसम्म पुग्न छन्ने एनालाइसिस गर्न अत्यन्तै जरुरी छ । यसको उपाय राजनीतिक रूपमा गर्ने हो वा प्रशासनिक रूपमा ? जुन रूपमा गर्ने भए पनि तत्काल सुरु गरिएन भने यसको असर दीर्घकालसम्म पर्न सक्छ ।’
प्रदेश १ को नामकरणको सन्दर्भमा उत्पन्न राजनीतिक समस्या अझै समाधान हुन सकेको छैन । विशेष गरेर पहिचान पक्षधरले कोशी नाम अस्वीकार गरेपछि सुरु भएको आन्दोलन झन् झन् बढ्दै गएको छ । यसै विषयलाई मध्यनजर गर्दै दुवै सुरक्षा निकायका प्रमुखले पहिचान पक्षधरको आन्दोलनका कारणका कोशीमा सुरक्षा चुनौती रहेको रिपोर्टिङ गरेका हुन् ।
दुई सुरक्षा प्रमुखले पछिल्लो समय धर्मका नाममा भइरहेका गतिविधिहरूलाई अहिले नै समाधान नगरे नियन्त्रणबाहिर जानसक्नेसमेत रिपोर्टिङ गरेका छन् ।
बैठकमा बोल्दै प्रहरी प्रमुख कुँवरले भने– ‘अहिलेको सन्दर्भमा सामुदायिक कुराहरू धेरै आएका छन् । धरानको गाई काटेको कुरादेखि लिएर अहिले हिन्दु–मुस्लिमका कुराहरू होलान्, पहिचानवादी र अरू कुराहरू होलान् । यी कुराहरूले मुख्य त तराई क्षेत्रहरू प्रभावित भएका छन् । मुख्य त, धनुषा, महोत्तरी, सर्लाही र पर्साका कुराहरू एकदमै फ्लेरअप भएको अवस्था छ । यसलाई युनिफाइट रूपमा हेर्नुपर्ने अवस्था आएको छ ।’
अर्का सुरक्षा प्रमुख सशस्त्रका महानिरीक्षक अर्यालले धार्मिक रूपमा गाउँ गाउँमा समितिहरू बन्दै गरेको र ती समितिहरूले संगठको रूप धारणा गरिसक्दा देश अप्ठ्यारो अवस्थामा पुग्ने रिपोर्टिङ गरेका छन् । उनले धार्मिक अतिवाद बढेको समेत बताएका छन् ।
प्रमुख अर्यालले भने– ‘धार्मिक अतिवाहरू बढेका छन् । विभिन्न संघ संस्थाको नाममा वडा वडासम्म समितिहरू गठन गर्दै जाने, किन त्यसरी गरेको भनेर प्रहरीले भन्दा पूजा गर्नका लागि हो भन्ने । तर, वडा वडासम्मको समिति भोलि चाहिँ धार्मिक संगठनको रूपमा विकास भएर गयो भने त्यसले हाम्रो जस्तो देशमा ठूलो प्रभाव पार्न सक्ने अवस्था देखिन्छ ।’
देशमा पछिल्लो समय धार्मिक गतिविधिहरू बढेका छन् । गतिविधिहरू बढ्दै जाँदा धार्मिक समुदायबिच कतिपय अवस्थामा असामान्य अवस्थाहरू बन्दै आएका छन् । यसै, विषयलाई लिएर दुई सुरक्षा प्रमुखले देशमा धार्मिक अतिवाद बढेको बताएका हुन् ।