Logo
Logo

किरात-लिम्बुवानको कसम


नगेन्द्र ईङनाम ‘आठराईली’


भिजेको आँखाको परेली
अनि गह्रुँगो मन बनाएर
सुकसुकाउँदै रुन्चे बोलिले
मलाई नरोक्नु आमा
तिमीले नै पालेको चरीले
तिम्रो आँखा ठुङ्न थालेको छ
तिमीले शरण दिएको छिमेकीले
सुकुम्वासी बनाउन खोज्दै छ
पहिचानविहीन बनाउन खोज्दै छ

बरु तिम्रो बहादुर छोरालाई
रण–भूमिलाई सम्म्याएर
रण–वीर बनेर आउने
आशीर्वाद दिएर पठाउनु
यहीँ आशीर्वादको अटल शक्तिले
नवप्रवेशीहरुको चक्रब्युह बाट
किरात–लिम्बुवानलाई मुक्त गर्न सकोस्
आफ्नो पुर्खाले आर्जेको इतिहास
मान, सम्मान र पहिचान बचाउन सकोस्

एकात्मक ब्राम्हणवादी चिन्तनलाई
जरैबाट निर्मूल पार्ने शंखघोष गर्दै
मुक्कुम्लुङ माङलाई पुजेर
हलेसी महादेवलाई ढोगेर
साल्पा सिलिचुङमा प्रार्थना गरेर
फक्ताङलुङको शिर उठाउनलाई
यूमा र थेबा माङको मुक्कुम थापेर
सुम्निमा र पारुहाङलाई भाकेर
हामीले मानी, पुजी ल्याएको
सबै सबै देवी देवतासँग वरदान मागेर
एक अँजुली गोरखनाथको शक्ति सँगै
स्वतन्त्रताको ध्वजा फरफराउँदै
युद्ध सङ्ग्राममा लड्न जाँदै छु
दुस्मनका हरेक अवरोध तोडेर
स्वतन्त्रताको सङ्ग्राम जित्ने कसम खाँदै छु
सगरमाथा उँचाइमा पहिचान पु¥याउनलाई

हाम्रा महान् योद्धा कङ्सोरे
विजयपुरका बुद्धि कर्ण राय
हिलिहाङ र श्रीजङ राय जस्ता
पुर्खाहरूको वीरताको कसम आमा
तिमीले जन्म लिएको जन्मभूमि
तिमीले आज टेकी रहेको माटो
वल्लो किरात र माझ किरात सँगै
पल्लो किरात तिम्रो लिम्बुवानलाई
आफ्नै पहिचानहरूमा फर्काउनेछु
आफ्नैहरूको पहरामा बनाउनेछु
प्रतिगमनको दम्भलाई ठहरै बनाएर
किरात लिम्बुवानका जनताहरूलाई
आफ्नै भूमिको मालिक बनौँला
हर युद्धहरू जित्दै बाँचेर नै आउँला
कहिल्यै पनि सोचेको छुइन आमा
किरात–लिम्बुवानमा सालिक बनौँला

शहीद माङ्तोक र मनिल तमाङ
अनि सहिद लाजेहाङको कसम
किरात–लिम्बुवानी माटोको कसम आमा
पुर्खाहरूको बलिदानको तागतले
एकात्मक मानसिकतालाई पक्कै जित्नेछु
अन्यायको अँध्यारोलाई हटाएर
अनन्त त्यो पहिचानको युद्ध जितेर
किरात–लिम्बुवानी विजयोत्सव मनाउन
सुनौलो बिहानीसँगै आसिक थाप्न आई पुग्नेछु
तिम्रो त्यो पवित्र पाउमा छोएर
आत्मसम्मानको नयाँ युग ज्युनलाई
एउटा युद्धवीर छोराको संज्ञा लिएर

कोशी नाम चाहिँदैन !
मान्छे मार्न पाइँदैन !!

टेक्सस, युएसए

प्रतिक्रिया दिनुहोस्