Logo
Logo

‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण



काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गरेका छन् ।

सो अवसरमा उनले धातु मूर्तिकलाका कलाकार कुमालेको जीवनमा आधारित पुस्तकबाट उनका आरोह, अवरोह, सङ्घर्ष र सफलताका पक्षबारे पाठकले जानकारी पाउने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युट फर सोसियो कल्चर रिसर्च एण्ड एनासिस संस्थाले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले भने, ‘कुनै पनि संस्कृति भनेको संस्कार र बुझाइ हो । मूर्तिकलामार्फत सहरी आभिजात्य संस्कृति होइन लोक संस्कृतिलाई समृद्ध बनाउने कुमालेको सिर्जनात्मक कार्य प्रशंसनीय छ ।’

उनले कुमालेले धातु मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सिर्जना प्रस्तुत गर्नुभएकोमा खुसी व्यक्त गरे । साथै उनले कुमालेद्वारा सिर्जित मूर्ति मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको बताउँदै यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिङ्गो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय भएको पनि बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले समाज र देशका लागि योगदान गर्ने विशिष्ट व्यक्तिलाई मरणोपरान्तभन्दा पनि जिउँदैमा सम्मान गर्ने नीति अवलम्बन गरी कार्यान्वयन गरेको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले कुमालेले आफ्नो परम्परागत पेसाको पहिचानलाई कलासँग जोडेर नामसमेत कमाएका भन्दै प्रशंसा गरे ।

लेखक तथा साहित्यकार कुमारी लामाले पुस्तकबारे समीक्षा गरेका थिए । संस्थाका अध्यक्ष नवराज लामाले कुमालेले कला क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै नयाँ पुस्तालाई उहाँको जीवनी एक प्रेरणाको स्रोत हुने भन्ने ठानी उहाँको जीवनी प्रकाशित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्