Logo
Logo

एकीकृत समाजवादीका केन्द्रीय नेताहरु झापामा


1.5k
Shares

झापा । नेकपा एकीकृत समाजबादीका केन्द्रीय नेताहरु झापा आइपुगेका छन् । पार्टीले भोलि सुरु गर्ने मेची–महाकाली जागरण अभियानमा सहभागी हुन केन्द्रीय नेताहरु शनिबार यहाँ आइपुगेका हुन् ।

एकीकृत समाजवादीले भोलि आइतबार झापाको काँकरभिट्टामा विषेश कार्यक्रम गरी अभियान सुरु गर्दैछ । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको जम्बो टोली शनिबार काँकरभिट्टा आइपुगेको हो ।

अभियानको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आइतबार आइपुग्ने बताइएको छ ।

अभियान उद्घाटनको पूर्वसन्ध्यामा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न अभियान सुरुवात गरिएको बताए । उनले पार्टीको नीति बुझाउन जनतासँगै हातेमालो गरेर अघि बढ्ने पनि जानकारी दिए ।

कार्यक्रममा एकीकृत समाजबादीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विजय पौडेलले १ हजार किलोमिटर लामो जागरण अभियानले खास सन्देश दिन लागेको बताए ।

उनले अभियानभर जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको रायसुझाव लिने तथा ठाउँठाउँमा कोणसभा र आमसभा आयोजना गरिने जानकारी दिए । असोज १४ गते काँकरभिट्टाबाट सुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्