Logo
Logo

चर्चित सिरियाली लेखक खलिफाको निधन


एजेन्सी


दमास्कस । सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ ।

उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अखबारका स्तम्भहरूका विश्व जगतले चिन्ने गर्छ । उनलाई अरब विश्वका धेरै शीर्ष साहित्यिक पुरस्कारहरूबाट सम्मानित गरिएको थियो ।

दमास्कसस्थित आफ्नै घरमा शनिबार उनको मृत्यु भएको पत्रकार यारुब अलिसाले पुष्टि गरे । ‘शनिबार हामीले उहाँलाई पटक–पटक फोन गर्दा कुनै प्रतिक्रिया नआएको र त्यसपछि हामी उहाँको घरमा गयौं, हामीले उहाँलाई भेट्दा सोफामा मृत अवस्थामा भेट्टाएका थियौँ ।’

दमास्कसस्थित अब्बासियन अस्पतालका चिकित्सकले उनकाे मृत्युको कारण हृदयाघात भएको बताएका छन् । खलिफाले सन् १९९० को दशकको सुरुमा धेरै लोकप्रिय सिरियाली टिभी शृङ्खलाहरूको लेखकको रूपमा ख्याति प्राप्त गरेका थिए ।

उनी सत्ताधारी बाथ पार्टी र अधिकारीहरूको आलोचना गर्ने कट्टर विरोधी स्तम्भकारको रूपमा चिनिन्थे । तर, उनको प्रसिद्ध अडानको बावजुद, उनले सन् २०११ को गृहयुद्ध शुरू भएपछि सरकारविरोधी प्रदर्शनको दमनको साथ देशमा नै रहन रोजेका थिए । सन् २०१९ मा एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘म बसिरहेको छु किनभने यो मेरो देश हो । म यहाँ जन्मेको हुँ, म यहीं बस्छु र म यहीँ मर्न चाहन्छु ।’

सन् २००६ मा प्रकाशित उनको ‘इन प्राइज अफ हेट’ नामक अरबी कथामा आधारित उपन्यास अन्तर्राष्ट्रिय पुरस्कारका लागि छानिएको थियो र यसलाई छ वटा भाषामा अनुवाद गरिएको छ । उपन्यासमा अलेप्पोकी एक सिरियाली युवतीको कथा छ । उनीे जिहादी सङ्गठनमा सामेल भएर आफ्नो पृथक जीवनभन्दा फरक जिम्मेवारी लिन्छिन् ।

सन् २०१३ मा उहाँको उपन्यास ‘यो शहरको भान्छामा कुनै चक्कु छैन’ (नो नाइभ्स इन द किचन अफ दिस सिटी) ले नागुइब महफुज साहित्य पुरस्कार जितेको थियो । यो राष्ट्रपति बशर अल असदको नेतृत्वमा रहेको बाथ पार्टीको शासनमा सिरियालीहरूको जीवनमा केन्द्रित छ ।

लेखकको निधनपछि सिरियाका निर्वासित विपक्षी दलका सदस्य र सहकर्मी लेखकहरूबाट सामाजिक सञ्जालमा शोकको लहर छाएको छ ।

सिरियाली लेखक तथा प्राज्ञ सलाम कावाकिबीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अलविदा, तिमी दयालु मानिसलाई !’ खलिफालाई आइतबार दमास्कसमा अन्त्येष्टि गरिने अपेक्षा गरिएको थियो तर अन्त्येष्टिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्