Logo
Logo

‘युवा पुस्तालाई कृषिमा जोड्न सके बेरोजगारी कम हुन्छ’


डा. विजय पौडेल, उपमहासचिव, एकीकृत समाजवादी


मुलुक रूपान्तरणका एजेन्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन नेकपा (एकीकृत समाजवादी)ले मेची–महाकाली समाजवादी जागरण अभियान सुरू गरेको छ । रोजगारी, समृद्धि र सुशासनको नाराका साथ झापाको काँकडभिट्टाबाट आइतबार अभियान सुरू भएको छ । यही असोज २८ गतेसम्म चल्ने अभियानको मुख्य लक्ष्य १० वर्षमा बेरोजगारी उन्मूलन गर्ने रहेको छ । आगामी १० वर्षमा श्रम गर्नसक्ने सबै नेपालीलाई कसरी रोजगारी दिएर समृद्धि र समाजवादको पहिलो आधार तयार पार्न सकिन्छ भन्ने एजेन्डा अभियानको क्रममा सुनाउने लक्ष्य छ ।

कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनका अन्य क्षेत्रहरू र विदेश नीतिसमेतको आधारमा बेरोजगारी उन्मूलन गर्ने दृष्टिकोण एकीकृत समाजवादीको छ । मुख्य जोड कृषिमार्फत रोजगारी सिर्जनामा छ । बाँझो र वन नभएको वन क्षेत्रमा फलफूल र जडिबुटीको खेतीलाई योजनाबद्ध रूपले विकास गर्दा कृषिमा आश्रित ५१ प्रतिशत जनताको बेरोजगारी, अर्ध/अल्पबेरोजगारी समाधान हुने दृष्टिकोण एकीकृत समाजवादीको छ ।

राजनीतिक र नीतिगत स्थिरताका साथ विकास गर्ने वातावरणमा आगामी १० वर्षमा बर्सेनि कम्तीमा ४० लाख पर्यटक ल्याउन सकिने र करिब तीन लाख रोजगारी भएको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी पुर्याउन सकिने एकीकृत समाजवादीको निष्कर्ष छ  । योजनाबद्ध पूर्वाधार विकासले लामो समयसम्म रोजगारी सिर्जना गरिरहने एकीकृत समाजवादीले औल्याएको छ ।

समाजवादी जागरण अभियानको सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं समाजवादी जागरण अभियान मूल व्यवस्थापन कमिटीका संयोजक डा. विजय पौडेलसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

समाजवादी जागरण अभियानको आवश्यकता किन पर्याे ?
हामीले एमालेबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएपछि हाम्रो एजेन्डा जनताबीच पुर्याउन सकेका थिएनौँ । पार्टी गठनलगत्तै राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । गठबन्धनका कारण जनतासामु हाम्रो एजेन्डा पुर्याउन सकिएन । अहिले हामी समाज परिवर्तनका रूपान्तरणकारी एजेण्डा तय गरेर जागरण अभियानमा निस्केका छौँ । मूलतः बेजोरगारी उन्मूलन गर्ने कार्यक्रम अघि सारेका छौँ । कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनका अन्य क्षेत्रहरू र विदेश नीतिसमेत बेरोजगारी र गरिबी उन्मुलन गर्ने हुनुपर्छ । रोजगारी, समृद्धि र सुशासन कायम गर्ने गरी मेचीदेखि महाकालीसम्म समाजवादी जागरण अभियान प्रारम्भ गरेका छौँ ।

रोजगारी, समृद्धि र सुशासनको नारा व्यवहारमा उतार्न सहज छ त ?
इमानदार प्रयास गर्दा सम्भव छ । पक्कै पनि ‘इन्ड्रस्टी’ बनाउन समय लाग्छ । कृषि यस्तो क्षेत्र हो, तीन महिनामै आलु फल्छ । दुई महिनामै गोलभेडा, मकै फल्छ । न्यूनतम मुनाफासहित कृषि उत्पादन बिक्रीको ग्यारेन्टी सरकारले गर्ने हो भने युवा कृषिप्रति आकर्षित हुन्छन् । अहिले कृषि उत्पादन नबिक्ने अवस्थाले ठूलो मात्रामा बेरोजगारी समस्या छ । कृषिको समस्या भनेकै उत्पादन नबिक्ने हो । कृषिमा युवालाई आकर्षित गर्ने हो भने युवा पलायन रोकिन्छ । त्यसबाहेक राष्ट्रिय उद्योगको संरक्षण, संस्कृतिमाथि भएको अतिक्रमणको विरोध, सीमा सुुरक्षा, राष्ट्रिय एकताको पैरवी, खर्चिलो निर्वाचन प्रणालीको विकल्प, भ्रष्टाचार निवारण, सुशासनलगायत एजेन्डा जनतासामु पुर्याउँदै छौँ । हामीले नारामा केन्द्रित भन्दा पनि व्यवहारिक पक्ष हेरेर जनतामा जागरण ल्याउन खोजेका हौँ ।

सत्तारूढ दलले आफ्ना एजेण्डा जनतालाई बुझाउन सडकमा जानुपर्छ र ?
सरकारमै बसेर पनि हामीले संघर्ष गर्दैछौँ । किनभने, देशमा दलाल पुँजीवाद व्याप्त छ । सरकारमा जाँदैमा दलाल पुँजीवादलाई नियन्त्रण गर्न सम्भव छैन । दलाल पुँजीवादले अत्याधिक मूल्यवृद्धि गर्छ । जनतालाई अनेक ढंगले ठग्छ । त्यसको काउन्टरमा जाने योजना नबनाउने हो भने सरकारमा बसेर मात्रै केही गर्न सक्ने अवस्था रहँदैन । गठबन्धन सरकारमा त कतिपय कुरा मिल्दैनन् । वर्तमान संकट समाधान गर्न हाम्रो पार्टीको प्रधानमन्त्री हुनुहुन्न । व्यवसायीहरू निराश छन् । कतिपयले त आत्महत्या गरेका छन् । उनीहरूलाई राहत दिनका लागि कर र ब्याजमा लगाएको जरिबाना छुट गर भनेर संघर्ष गरेको गर्यै छौँ । हामीले वर्ग संघर्षको तीनवटा ठाउँ भनेका छौँ–सडक, संसद र सरकार । एकीकृत समाजवादीको अत्याधिक बहुमत आएछ भने पनि सरकारमा बसेर सजिल्यै राम्रो नियम बनाउन दलाल पुँजीवादले दिँदैन । बनाएको नियम लागू गर्न दिँदैन । दलाल पुँजीवादले जहिले पनि कृषिलाई उद्योगसँग जोड्न दिँदैन । कृषिलाई जहिले पनि थिचोमिचोमा राखेर नै बैदेशिक सामानको आपूर्ति गर्न सकिन्छ । कृषिबाट मानिसलाई बेरोजगार बनाएपछि विकसित देशमा सस्तो श्रमिक लान सकिन्छ । तिनै श्रमिकले कमाएको पैसाले आफ्नै सामान बेच्न सकिन्छ । यस्तो खेलोफड्को दलाल पुँजीवादले गर्छ । यसलाई रोक्नका लागि हामीले किसानहरूलाई जगाउनुपर्छ । कृषि उत्पादनको बिक्रीबाट मात्रै रोजगारी हुन्छ । रोजगारी भएर मात्रै युवा पलायन रोक्न सकिन्छ ।

पढ्ने नाममा पनि युवा पलायन भइरहेको छ नि ?
युवा पलायन दुई किसिमबाट भइरहेको छ । एउटा रोजगारीको नाममा र अर्को पढ्ने निहुँमा । हाम्रा कलेजहरू खाली गराएर पढ्ने निहुँमा युवालाई विदेश पठाउन सकिदैन । त्यसलाई रोक्नुपर्छ । हामीकहाँ पढ्ने विषयहरू छदाछदै ती विषयमा नो अब्जेक्सन लेटर दिन हुँदैन भन्ने कुरा जनतामा पुर्याउन आवश्यक छ ।

छोटो अवधिमा यति धेरै विषय जनतालाई बुझाउन सकिन्छ त ?
हामीले ठाउँठाउँमा सभा राखेका छौँ, कोणसभा राखेका छौँ । यिनै विषयमा बोल्ने हो । यिनै विषयमा पर्चा बाँढ्ने हो । यति मात्रै होइन, हामी जहाँ बस्छौ, त्यहाँ साँझ र बिहान विभिन्न लाइन मिटिङहरू गछौँ । उद्योगी÷व्यवसायीहरू, किसान, मजदूर, विद्यार्थी, पार्टी कार्याकर्ता, स्वतन्त्र बुद्धिजीवी, आमजनतासँग अलग अलग नेताहरूले भेट्नुहुन्छ । उहाँहरूको राय, सुझाव, आलोचना लिनुहुन्छ । अभियानका क्रममा सभाबाहेक अनौपचारिक धेरै बैठक गर्छौँ ।

जागरण अभियान आगामी चुनावको तयारी हो ?
यो चुनावको तयारी होइन, जनताको बीचमा आफ्नो एजेण्डा लैजाने अभियान हो । स्वाभाविक हिसाबले २०८३ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्तरमा गठबन्धन नगरी हामी एक्लै लड्छौँ । त्यसो नगरी हाम्रो क्रान्तिकारी एजेण्डा जनतामाझ पुर्याउन सकिएन । गत निर्वाचनमा गठबन्धन गर्दा हाम्रो पार्टीलाई थोरै सिट प्राप्त भयो । चुनाव लडेको ठाउँमा मात्रै हाम्रो प्रचार भयो । त्यसकारण हाम्रा कुरा जनतासँग पुर्याउनका लागि २०८३ को स्थानीय तह निर्वाचनमा एक्लै लड्छौँ । हाम्रा एजेन्डा, जो अरू पार्टीकाभन्दा पृथक छन्, ती एजेण्डा जनतासम्म पुर्याउन अभियान सञ्चालन गरेका हौँ ।

अरू पार्टीकाभन्दा फरक एजेण्डा के–के छन् ?
अरू पार्टीले किसानलाई अनुदान दिने कुरा गरेका छन् । हामी नगद अनुदानमा विश्वास गर्दैनौँ । नगद अनुदान दिँदा एक त ब्युरोक्रेसीले खान्छ, तल लानै दिँदैन । अर्कोतर्फ किसानले पनि सित्तैमा पाएको महसुस गर्छ । त्यसकारण नगद अनुदान दिने होइन, मल, बीऊ सस्तो दिने, सिंचाइमा सुविधा दिने, सस्तो व्याजदरमा ऋण दिने र कृषि उत्पादन उचित किनिदिने व्यवस्था गर्नुपर्छ । उचित मूल्यमा किसानका उत्पादन किनिदिनु नै किसानका लागि राहत र अनुदान हुन्छ ।

अरूले रेमिट्यान्सको सदुपयोगको कुरा गर्छन । हामी बढीभन्दा बढी युवालाई स्वदेशमै रोजगारीको अवसर दिएर रोक्नुपर्छ भन्नेमा छौँ । विद्यार्थी पलायन रोक्ने कुरा गरेका छौँ । कतिपयलाई यो अप्रिय पनि लाग्छ । तर, हामीले विद्यार्थी पलायन रोक्नैपर्छ । नत्र देश बन्दैन । रोजगारीको ग्यारेन्टी गर्दै राष्ट्रिय भावना जगाएर विद्यार्थीलाई रोक्नु पनि पर्छ ।

समाजवादको खाका पनि प्रस्तुत हुन्छ कि ?
हामीले कुन क्षेत्रमा के गर्ने भन्ने दृष्टिकोण अगाडि सारेका छौँ । समाजवादीको जग बसाल्ने भनेको सबैभन्दा पहिला बेरोजगारीको आधारभूत रूपमा समाप्ति हो । त्यसपछि सम्मानजनक रोजगारी, समान ज्यालाको कुरा आउँछ । तर, प्राथमिक चरणमा बेरोजगारी हटाउनुपर्छ । अहिले कृषि जमिन बाँझो राख्न नपाइने कानुन छ । तर, बिक्री नभएपछि मान्छेले उत्पादन गर्दैन । राज्यले किसानको उत्पादन मुनाफासहित किनिदिने हो भने कृषि गर्न थालिहाल्छ नि । १० वर्षभित्रमा नेपालबाट बेरोजगारी उन्मूलन गर्ने दृष्टिकोण हामीले अघि सारेका छौँ । राष्ट्रिय उद्योगलाई संरक्षण गर्ने कुरा, खर्चिलो निर्वाचन नियन्त्रण गर्ने कुरा, युवा पलायन रोक्ने, राष्ट्रिय एकता जोगाउने कुरा हाम्रा प्रमुख एजेण्डा हुन् ।

कार्यकर्ता र शुभचिन्तकलाई सामूहिक खेतीप्रणालीमा लगाएर सामूहित प्रतिफलको व्यवस्था गर्न सकिन्न ?
त्यो क्रमशः हुन्छ । अहिले कृषि उत्पादन नै बिकेको छैन । हालसम्म सामूहिक खेती कृषि अर्थतन्त्रको मूलधार बन्न सकेको छैन । कृषिबाट बाँच्न सकिन्छ, कमाइ र ज्याला हुन्छ भन्ने नै बनाउन सकिएको छैन । अहिले त कृषि बाध्यताको उपज बनेको छ ।

शैक्षिक बेरोजगार बढेको अवस्थामा देशभित्रै शिक्षा दिन्छु भनेर युवा पलायन रोक्न सम्भव छ ?
नेपालमा राम्रा कलेजहरू छन् । एसियामै टप इन्जिनियरिङमा कलेजहरू छन्, मेडिकल कलेजहरू छन् । यी कलेज खाली राखेर विद्यार्थी पलायन हुने अवस्थालाई हामीले रोक्नैपर्छ । एकैपटक सबैतिर हात हाल्न सकिँदैन । सबैभन्दा पहिला कृषि उत्पादनको बिक्रीको ग्यारेन्टी गरेपछि शिक्षित युवाहरू पनि त्यहाँ लाग्छन । राष्ट्रिय उद्योगको संरक्षण गरेपछि शिक्षित युवाहरू पनि त्यहाँ लाग्छन । रोजगारी प्रमुख कुरा हो । यहाँ सिभिल इन्जिनियरिङ पास गरेको मान्छे अमेरिकामा आइटीमा काम गर्छ । कलाकार गएर अमेरिकामा होटलको काम गर्छ । पढेकै विषयमा काम पाउने गरी राष्ट्रले प्लानिङ गर्न त अझै समय लाग्छ । कुन क्षेत्रमा कति जनशक्ति चाहिने हो भनेर त यहाँ कामै भएको छैन ।

भ्रम फैलाएर विदेश पठाउनेहरू पनि सक्रिय देखिन्छन्, त्यसलाई कसरी रोक्न सकिन्छ ?
विद्यार्थी लैजानका लागि राम्रो पढाइ हुँदैन भनेर विद्यार्थीको मन भड्काइदिने, यहाँ राम्रै काम गरेका मानिसलाई पनि विभिन्न प्रलोभनमा विदेश लाने गरेको देखिन्छ । रोजगारीको सिर्जना गर्दै राष्ट्रियताको भावना जोगाएर त्यस्ता गतिविधिलाई रोक्न सकिन्छ । युवाहरू विदेश पलायन हुने अनि, नेताले देश बनाएनन् भनेर गाली गर्दैमा केही हुँदैन । देश बन्नका लागि युवाहरू देशमै बसेर संघर्ष गर्नुपर्छ । मानिसलाई विदेशमा लगेर कमरा, कमारी बनाएर, बुढेसकालमा बाआमा विरामी हुँदा समयमा आएर उपचार पनि गर्न नसक्ने, मृत्यु हुँदा समयमा आएर लास पनि उठाउन नसक्ने स्थितिप्रति सचेत नेपालीहरू चनासो हुनैपर्छ ।

समाजवादी मोर्चाकै एक घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । खास बुझाइमा कहाँ भिन्नता हो ?
किताबी बुझाइले मात्र केही हुँदैन । योजनाहरू बजेटमा अनुवादित भएर आउनुपर्छ । हामीले सबैभन्दा पहिला विकासको मानक नै परिवर्तन गर्नुपर्छ । विकास भनेको डोजर लगाउने, गिट्टी छर्ने, पिच गर्ने, पुल बनाउने मात्रै होइन । योभन्दा बाहिर मानिसले खानुपर्याे, बाँच्नुपर्याे । गुणस्तरीय शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्यो । देशभित्रै टिक्नका लागि रोजगारी चाहियो । रोजगारीका लागि बनाएका सामान बिक्री हुनुपर्याे । विकास भनेको मुलतः मानिस आफ्नो देशमा बस्न पाउने वातावरण हो । त्यसका लागि रोजगारी चाहियो । अनि, तिनीहरूले गर्ने उत्पादन बिक्रीका लागि बाटो चाहियो । हामीले न्यूनतम साझा कार्यक्रम बनाएर कृषिलाई फोकस गर्ने भन्यौँ । तर, त्यसअनुसारको बजेट आएन ।

समाजवादी जागरण अभियानमा तपाईंको आह्वान के छ ?
आम जनसमुदाय समाजवाद निर्माणको बाटोमा लागौँ । त्यो बाटो भनेको हामीले बनाएको एजेण्डामा छ । रोजगारीको ज्ञारेन्टीका लागि आवाज उठाऔँ । कृषि उत्पादन बिक्रीको ज्ञारेन्टी गरौँ । राष्ट्रिय उद्योगको संरक्षण गरौँ । खर्चिलो निर्वाचन नियन्त्रण गरौँ । भ्रष्टाचार नियन्त्रण गरौँ, सुशासन कायम गरौँ । भएका सरकारी सेवा सुविधालाई सजिलो गरी जनतामा पुर्याऔँ । सरकारी अड्डाहरूलाई काम गर्ने बनाऔँ भन्ने कुरा लिएर जनतामा गएका छौँ । आदरणीय जनताले हाम्रो कुरा सुनिदिनुस्, बुझिदिनुस भन्ने आह्वान गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्