Logo
Logo

अम्बिका योङहाङको स्मृतिमा अक्षयकोष स्थापना गरिने


अतित योङहाङ


इलाम । इलाम देउमाई–२ पुङफुङका साहित्यकार स्व. अम्बिका योङहाङ लिम्बू (नाजम) कृत ‘मैनाम’ गजल तथा रुवाईसंग्रह सार्वजनिक भएको छ । योङहाङ समाज इलामले शनिबार एक समारोहबीच उक्त कृति सार्वजनिक गरेको हो ।

स्व.अम्बिकाको गत भदौ २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचारको क्रममा निधन भएको थियो । उनी ढेड वर्षयता मुखको क्यान्सरबाट पीडित थिइन् । कार्यक्रममा स्व. अम्बिका र उनको कृतिको चर्चा गरिएको थियो । पुस्तकका समीक्षक एवं प्रकाशचन्द्र खनालले अम्बिका बाल्यकालदेखि नै स्पष्टवक्ता रहेके स्मरण गरे । खनालले अम्बिका विद्यार्थी र बाल्यकालदेखि नै निर्भिक र हिम्मती रहेको भन्दै जिज्ञासु, उत्साही, आँटी र सकारात्मक स्वभावकी रहेको चर्चा गरे ।

स्व. अम्बिका विभिन्न संघसंस्थामा आवद्ध थिए । कुनै संस्थाको अध्यक्ष, सम्पादक, सचिव, पदाधिकारी र सदस्यका साथै सल्लाहकारको रुपमा रहँदा उनले सक्रिय भूमिका निर्वाह गर्दथे । कार्यक्रमका प्रमुख अतिथि एवं प्राध्यापक÷साहित्यकार मधुराज केरुङले योङहाङको कृतिमाथि भूमिका बाँधेका छन् । कार्यक्रममा केरुङले उनै अम्बिकाको कृति र जनजीवनबारे चर्चा गरे ।

‘मानिसको जीवन जन्म र मृत्युको शर्तमा हुने, कोही मानिस बाँचेर मर्छन् त कोही मरेर बाँच्छन्’, उनले भने, ‘अम्बिकाका कृति अजर, अमर रहनेछ किनभने श्रष्टाहरु शेष भएर गएपनि कृतिकार र कृतिहरु सधैँ जीवन्त रहन्छन् ।’ उनले अम्बिकाको भौतिक शरीर धर्तीमा नरहेपनि उनका कृति सदाबहार अमर रहने बताए । स्व. अम्बिका क्यान्सरसँग जुधिरहँदा जीन्दगीदेखि नै निराश भएर कविता लेखेको पाइन्छ ।

एक दृष्टान्तः
ढलिसकेँ, थाकिसकेँ, गलिसकेँ, हारिसकेँ
जिन्दगीलाई आफँैदेखि पूरै माया मारिसकेँ
(बाँकी अंश– मैनाम कृतिः पृष्ठ–२७)
जिन्दगीलाई चोट लाग्दा, दुःख पोख्ने ठाउँ छैन
एकान्तमा बसी रुन, कहिँकतै सुनसान ठाउँ छैन
(बाँकी अंश– मैनाम कृतिः पृष्ठ–१०)
अरुजस्तै निरोगी भई, मैले बाँच्न पाइन
इश्वरसँग मेरो पनि, यहीँ एउटा गुनासो छ
(बाँकी अंश– मैनाम कृतिः पृष्ठ–१४)

माथिका दृष्टान्तका गजल र रुवाइहरु सष्टाका केही प्रतिनिधि रचनाहरु हुन् । स्व. अम्बिकाको कृतिभित्र थुप्रै रसिला र चोटिला गजल र रुवाइहरु समाहित छन् । हरेक गजलले बेग्लाबेग्लै रसस्वादन गराउँछ । फरक फरक प्रकारका भावहरु सम्प्रेषण गरेका छन् । उनको लेखनको केन्द्रमा अस्तित्वबोधप्रतिको गहन चेतना र चिन्तन पाइन्छ । एकात्मक राज्य सत्ताबाट प्रताडित भएर आफ्नो समुदायले भोग्नु परेका कठिन संघर्षका आयामहरु पनि कृतिमा अभिव्यक्त छन् ।

सामाजिक कार्यमासक्रिय योङहाङ समाजले कृति सार्वजनिक कार्यक्रममा स्व.अम्बिका योङहाङको स्मृतिमा अक्षय कोषसमेत स्थापना गरिने उद्घोष गरेको छ । स्व. अम्बिका योङहाङ समाज इलामका कार्यसमिति सदस्यसमेत रहेको र उनको देहसानले समाजलाई अतुलनीय क्षति पुगेको अध्यक्ष पञ्चबहादुर योङहाङ बताए ।

स्व. अम्बिकाले समाजमा पुर्याएको योगदान र उनका सपनालाई जीवन्त राख्न अक्षय कोष स्थापना गरि साहित्य र शिक्षा क्षेत्रका नवप्रतिभालाई पुरस्कार प्रदान गरिने समाजको उद्देश्य छ । अक्षय कोषका निम्ति कृति विक्री र सहयोगीबाट सहयोग संकलन गरिने समाजले जनाएको छ ।

समाजले अन्य सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । समाजको नेतृत्वमा विरामी र पीडितहरुका लागि सहयोगार्थ रकम संकलन अभियान र हस्तान्तरण गर्दै आएको छ । लिम्बु समुदायको योङहाङ वंशावली, आर्थिक, सामाजिक एवं धार्मिक क्षेत्रको उत्थानका निमित्त सक्रिय समाजको स्थापना २०७६ सालमा भएको हो । स्थापनादेखि नै समाजले सामाजिक कार्य गर्दै आएको हो ।

समाजले क्यान्सरपीडित स्व. अम्बिकाका लागि ‘अम्बिका योङहाङ बचाउँ अभियान’समेत सञ्चालन गरेको थियो । त्यसबाट करिब दुई लाख रकम संकलन गरी सहयोग प्रदान गरेको समाजका सचिव दीपककुमार योङहाङले स्मरण गरे ।

कृति सार्वजनिक कार्यक्रममा साहित्यकार तथा प्राध्यापक मधुराज केरुङ, समाजका कानुनी सल्लाहकार अधिवक्ता यामप्रसाद लिम्बू, देउमाई नगरपालिका वडा नं. २ का वडाअध्यक्ष नरबहादुर मगर, योङहाङ समाजका सल्लाहका राजेन्द्र योङहाङ, साहित्यकार एवं भानुभक्त माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनाल, किरात याक्थुङ चुम्लुङ देउमाई नगर अध्यक्ष पूर्णचन्द्र फियाक लगायतले स्व. अम्बिकाको कृति र सामाजिक जीवनबारे चर्चा गरेक थिए ।

अम्बिकाबारे संक्षिप्त जानकारी
अम्बिकाको जन्म वि.सं. २०३८ साल मंसिर १५ गते इलामको देउमाई नगरपालिका वडा नं. २ साविक मंगलबारे गाउँ विकास समिति वडा नं. ८ पुङफुङमा बुवा चन्द्रबहादुर योङहाङ लिम्बु र आमा मैयाँदेवी लिम्बु÷गंगा माया सम्बाहाङफेको कोखबाट भएको थियो । २०८० साल भदौ २९ गते क्यान्सरका कारण भरतपुर क्यान्सर अस्पतालमा ४२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

प्रविणता तहसम्म औपचारिक अध्ययन पूरा गरेका अम्बिका जीवनको अनितम घडीसम्म आधा दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध हुँदै थिइन् । ‘देउमाईका छालहरु’ साहित्यिक द्वैमासिक पत्रिका (२०५८–२०६२) सम्पादक, फक्ताङलुङ युवा समाज देउमाई–२ का अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला कार्यसमिति इलामको सचिव, किरात याक्थुङ चुम्लुङ नगर शाखा देउमाईको सचिव, लेकबेँसी युवा साहित्य समाज पुङफुङको सचिव, मंगलबारे साहित्य मञ्च देउमाका सहसचिव, योङहाङ समाज इलामका सदस्य तथा आहाले युवा क्लव देउमाईका बरिष्ठ सल्लाहकारलगायत विभिन्न सामाजिक एवं राजनीतिक संघसंगठनमा आबद्ध रहँदै आएकी थिइन् ।

इलाम नगरपालिका–१२ साङरुम्बाकी मनिता राईसँग बैवाहिकमा बाँधिएकी अम्बिकाका ३ छोरी र एक छोरा छन् । छोरा मिराम, छोरीहरु स्मारिका, स्नेहा र मिसुम छन् । छोरी स्मारिकाको विवाहसमेत भइसकेको छ ।

त्यस्तै, स्वर्गीय अम्बिकाका दाजु÷भाउजु जीतबहादुर र माया लिम्बु छन् । बहिनी ज्वाँई तारादेवी र शरन तुम्रोक, उनका भतिज÷बुहारी इश्वर र सबिना, भतिजी÷ज्वाँई स्मृति र सुमन मुखिया, भाञ्जा मिङसो र मिराक साथै एक नाति र नातिनी छन् ।

प्रतिक्रिया दिनुहोस्