विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी गरेका छन् । दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
गठबन्धनको बिहीबार काठमाडौंमा भएको बैठकले माओवादी प्रदेश संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

कांग्रेसको डा. शेखर कोइराला पक्षधर कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् । उनलाई कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले साथ दिएका छन् ।
गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपनि आङ्बोलाई कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यले साथ नदिएको र उनीहरूले केदार कार्कीलाई समर्थन जनाएको बताइएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले धारा १६८ को उपधारा ५ बमोजिम भोलि अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
त्यही व्यवस्थाका आधारमा कांग्रेसको इतर समूह तथा एमालेका प्रदेशसभा सदस्यको साथ लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
उनले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन ।











