काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तीका लागि दावी पेस गर्दा समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । कोशीको मुख्यमन्त्रीका लागि नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार नै दाबी पेश गरेका छन् ।
माओवादीका नेता आङ्बाले कांग्रेससहित चार दलका नेताको समर्थन पेश गरेका छन् । यस्तै, कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय शुक्रबार ५ बजे सकिएको छ । समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद आज साँझ प्रदेश प्रमुख परशुराम खापुङलाई भेट्न पुगेका थिए । उनीहरुले आजै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए ।
तर, प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेका दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि शिनबार हस्ताक्षर सनाखत गर्ने बताएका छन् । जसमा दुवै जना सकारात्मक भएका छन् । हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्ति भोलि शनिबार हुने भएको हो ।











