Logo
Logo

बेइजिङमा इजरायली दूतावासका कर्मचारीमाथि आक्रमण


एजेन्सी


बेइजिङ । शुक्रबार बेइजिङस्थित इजरायली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ । ‘आज बेइजिङमा इजरायली दूतावासका एक इजरायली कर्मचारीमाथि आक्रमण भएको छ’, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’

गत शनिबार आश्चर्यजनक हमलामा हमासका बन्दुकधारीहरूले इजरायलमा एक हजार दुई सयभन्दा बढीको हत्या र करिब एक सय ५० जनालाई बन्धक बनाएपछि दूतावासका कर्मचारीमाथि आक्रमणको घटना भएको छ । इजरायलले बदलास्वरूप गाजापट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमणसँगै तोप वर्षाएर एक हजार तीन सय ५० भन्दा बढीलाई मारेको छ ।

हमासले इजरायली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थकहरूसँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजराइली विदेश मन्त्रालयले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ ।

‘विभिन्न देशमा विरोधका घटनाहरू हिंसात्मक बन्न सक्छन् भन्ने अनुमान गर्नु उचित छ’, विज्ञप्तिमा भनिएको छ । शुक्रबार अपराह्न उत्तरपूर्वी बेइजिङको एक कूटनीतिक छिमेकमा रहेको इजराइली दूतावास सामान्यरूपमा सञ्चालन भएको देखिएको एएफपीका एक पत्रकारले बताए ।

सुरक्षाकर्मीहरूले उक्त क्षेत्र नखिच्न एएफपीलाई आग्रह गरेका थिए । बाहिरबाट त्यहाँ कुने निगरानी भइरहेको देखिएको थिएन । उक्त घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्