Logo
Logo

बीमा प्राधिकरणद्धारा प्रदेश, शाखा र उपशाखा कार्यालयसँग अन्तरक्रिया



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट बुधबार जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न बीमकहरूलाई निर्देशन दिएका हुन् ।

बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाललाई तालिम संचालन गर्न लगाउने जानकारी दिँदै उनले स्थानीय आवश्यकता अनुरूपको नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह गर्न, बैंक र बीमा फरक हुन् भन्ने बारेमा सबैलाई बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिनुहुँदै बीमाका सिद्धान्त विपरित बीमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बीमा गर्न समेत निर्देशन दिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूले सुशासन कायम गर्दै गुनासो नआउने गरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्