Logo
Logo

पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि



दमौली । तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो ।

तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।

फाइल फोटो

मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिए । उनले भने, ‘दसैँका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाको उत्साह छ, प्रत्येक वर्ष संस्थाले दसैँको अवसर पारेर मेला आयोजना भइरहेको छ ।’

मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यु टावरबाट दृश्यावलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रको रुपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । उनले भने, ‘प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै मगर भिलेज रिसोर्ट सञ्चालनमा छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।’ सञ्चालक रानाका अनुसार प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।

रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको उनले बताए ।

यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ । मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिको थियो ।

प्रतिक्रिया दिनुहोस्