विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार गठनका लागि राखेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ । मुख्यमन्त्री कार्कीले सोमबार एमालेसँग सत्ता गठबन्धन दललाई पनि समेटेर सरकार गठन गर्न प्रस्ताव राखेका थिए । तर, एमालेले एमाले र कांग्रेसको मात्र सरकार बनाउनुपर्ने अडान लिएको हो ।

माओवादीलाई समर्थन गर्ने पार्टीको निर्णयविरुद्ध विद्रोह गरेका नेपाली कांग्रेसका कार्की एमालेका समर्थनमा मुख्यमन्त्री बनेका थिए । कात्तिक १ गते विश्वासको मत लिएका मुख्यमन्त्री कार्कीलाई एमालेले दशैंअगाडि नै मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएको थियो ।
मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तारका साथै बजेटबारे एमालेसँग छलफल गरेको हो । तर, छलफल कुनै निष्कर्षमा पुग्न नसकेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । खासगरी एमाले माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराउने पक्षमा रहेको छ । माओवादीले भने एमालेलाई जतिसक्दो चाडो सरकारबाट बाहिर पठाउन चाहन्छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि कांग्रेस प्रदेश सांसद कार्की पार्टीमा विद्रोह गरेका ७ सांसदसहित एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसयता मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
सोमबारको छलफलमा एमालेले मन्त्रालय बाडँफाटको विषय पनि उठाएको थियो । ठूलो दल भएका कारण एमालेको दाबी पाँच टा मन्त्रालय रहेको प्रमुख सचेतक भण्डारीले बताए ।











