Logo
Logo

राप्ती बगरको मालपोत तिर्नुपर्ने बाध्यता


- दृष्टि न्युज/संवाददाता


बाँके, २२ माघ । नदीले कटान गरेर डुडुवा गाउँपालिका–१ होलियाका बलिराम लोनियाको जमीन बगर बनायो । विसं २०४६ सम्म नदीले लगातार जमीन कटान गरेर सखाप बनाएपछि उहाँ सुकुम्वासी बन्नुभयो । “जमीन छैन भन्ने हो भने लालपुर्जा छ, तर जमीनले दिनेभन्दा लिने मात्र गरिरहेको छ”, उहाँले भन्नुभयो ।

नदीका कारण दुःख पाइरहेका उहाँलाई स्थानीय सरकारले पीडा थपिदिएको छ । उहाँले प्रतिकठ्ठा रु पाँचका दरले जमीनको मालपोत तिर्दै आउनुभएको छ । “जनप्रतिनिधि आउनुभन्दा पहिले प्रतिकठ्ठा रु एक थियो । आम्दानी नै नहुने जमीनको मालपोत बढेर प्रतिकट्ठा रु पाँच पुगेको छ”, लोनियाले भन्नुभयो, “नदीले दिएको पीडामाथि स्थानीय सरकारले थप पीडा थपेको छ ।”

विसं २०४६ देखि उहाँले जमीनबाट कुनै लाभ लिन सक्नुभएको छैन । नदीको बहाव जमीनमा नभए पनि बालुवामात्र भएकाले कुनै बालीनाली लगाउन मिल्दैन । अहिले उहाँको जमीन भएको ठाउँमा खरले भरिएको छ । तैपनि उहाँलाई कर (मालपोत) तिर्नैपर्ने बाध्यता छ । नदीले जमीन कटान गरेदेखि उहाँलाई जीविका चलाउनै मुस्किल छ ।

डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाको तीन बिघा जमीन नदीले बगर बनाएको छ । उहाँको १० कठ्ठा जमीन मात्र बाँकी छ । उहाँले २० वर्षदेखि तीन बिघा जमीनमा कुनै बाली लगाउन पाउनुभएको छैन । प्रतिबिघा रु १०० का दरले वार्षिक रु ३०० जमीनको कर बुझाउँदै आएको उहाँले बताउनुभयो । “आम्दानी शून्य छ, जमीनको रु ३०० कर तिर्न हम्मेहम्मे परेको छ”, शुक्लाले भन्नुभयो । बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षौँदेखि राप्ती नदीले कटान गरेर बगर बनेको जमीनको मालपोत तिर्न बाध्य छन् । डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका स्थानीयवासी २० वर्षदेखि बगरको पनि मालपोत तिर्न बाध्य भएका हुन् ।

राप्ती नदी आसपासका स्थानीय दोहोरो मारमा परेका छन् । खेतीयोग्य जमीन बगरमा परिणत भएपछि डुडुवा गाउँपालिका–१ पिप्रहवाका रामखेलावन खटिकको तीन बिघा जमीनमा कति पनि अन्न फल्दैन । तैपनि उहाँ वार्षिक प्रतिकठ्ठा रु पाँचका दरले मालपोत तिर्न बाध्य हुनुहुन्छ । जनप्रतिनिधि आएपछि राहत मिल्ने आशामा बसेका उहाँ निराश बन्नुभयो ।

जनप्रतिनिधि आउनुअघि पाँच वर्षसम्म सरकारले मिनाहा गरेको मालपोत स्थानीय सरकारले लिन थालेको छ । त्यो पनि तीन गुणा बढी भएको राप्तीपीडितको गुनासो छ । “धेरै दबाब दिएर मालपोत मिनाहा भएको थियो, जनप्रतिनिधि आउनेबित्तिकै लिन शुरु भयो । त्यो पनि तीन गुणा धेरै छ”, खटिकले भन्नुभयो ।

उनीहरूले कुनै आम्दानी गर्न नसके पनि खेतीयोग्य भूमिसरह बगरको मातपोत तिर्न बाध्य भएको स्थानीयवासीको गुनासो छ । नदीले खेतीयोग्य जमीन बगरमा परिणत भएपछि राप्ती नदी आसपासका बासिन्दालाई खान, लगाउन समस्या भएको छ । कुनैबेला जमीनको मालिक भएर बसेका किसान अहिले भारतीय चामलमा निर्भर हुनुपरेको छ ।

डुडुवा गाउँपालिका–२ उत्तरवाणीका राधेश्याम चमारले जमीन बगर भएपछि मजदुरी गरेर खानुपर्ने अवस्था सिर्जना भएको बताउँदै मालपोत तिर्नुपर्दा झनै समस्या भएको बताउनुभयो । “साँझ–बिहानको छाकका लागि मजदुरी नगरी सुख छैन”, चमारले भन्नुभयोे, “मालपोत तिर्नु नपर्ने भएको भए केही राहत मिल्ने थियो ।” डुडुवा गाउँपालिका–२ कैरातीपूर्वाका रामफेरन भुजुवालाई पनि मालपोत तिर्न मुस्किल परेको छ । प्रतिकठ्ठा रु पाँच मालपोत लिने स्थानीय सरकारले व्यवस्था गरेपछि समस्या परेको उहाँले बताउनुभयो । “स्थानीय सरकारले पीडामा मलम लगाउला भनेको मालपोत बढाएर झनै पीडा थप्यो”, भुजुवाले भन्नुभयो, “नदीमा भएको जमीनको मालपोत मिनाहा भए राहत मिल्ने थियो ।”

सर्वसाधारणले माग गरेअनुसार नदीले कटान गरेको जमीनको मालपोत मिनाहा गर्न सक्ने अवस्था नरहेको डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताउनुभयो । कसको जमीन कति बगरमा परिणत भएको छ भन्ने यकिन भइनसकेकाले मिनाहा गर्न सक्ने अवस्था नरहेको अध्यक्ष चौधरीको भनाइ छ । उहाँले सरकारले साविक होलिया गाविसका नदीपीडितलाई मालपोत मिनाहा गरेको भए पनि अहिले स्थानीय सरकारले लिन थालेको बताउनुभयो । “कति जमीन खेती गर्न नमिल्ने छ भन्ने यकिन विवरण आएको भए केही सोच्न सकिन्थ्यो । अहिलेलाई मिनाहा गर्ने कुनै योजना छैन”, प्रमुख चौधरीले भन्नुभयो ।

राप्ती नदीले राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा असर पु¥याउँदै आएको छ । अहिलेसम्म नदीले खेतीयोग्य जमीन कटान र पटान गर्न छाडेको छैन । अहिलेसम्म हजारौँ बिघा जमीन बगरमा परिणत भएको भनिए पनि कुनै निकायसँग आधिकारिक तथ्याङ्क पनि छैन । त्यहाँका स्थानीयवासीले बगरमा परिणत भएको जमीन नाप, नक्सा बनाउन माग गरेका छन् ।

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नदी तटीय क्षेत्रको जमीनमा क्षति पुगेको लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताउनुभयो । उहाँले सयौँ बिघा जमीन बगर भए पनि यकिन तथ्याङ्क नभएको बताउनुभयो । “दश हजार बिघा जमीन नदीले बगाएको हुनसक्ने हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो । नाप, नक्सा भएको भए आ–आफ्नो जमीनको सम्भार गर्न र मिल्ने ठाउँमा खेती गर्न सकिने उहाँको भनाइ थियो । “कसको जमीन कहाँ पर्छ भन्ने नै थाहा छैन । नाप, नक्सा भएको भए खेती गर्न सजिलो हुन्थ्यो”, सचिव शुक्लाले भन्नुभयो । उहाँले नाप, नक्साका लागि स्थानीय तहले पहल गरिदिनुपर्ने पनि बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्