Logo
Logo
टिप्पणी

यस कारण हुनसक्छ कम्बोडियाको टेलिकममा ओलीको लगानी



काठमाडौं । दुर्गा प्रसाईँले कम्बोडियाको एउटा टेलिकम कम्पनीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेता–कार्यकर्ताले उनका बिरुद्ध सामाजिक संजालमा गालीको वर्षा गरिरहेका छन् ।

पार्टी कब्जा गरिसकेपछि भएको एमालेको १०औं महाधिवेशनमा ‘सोह्र सत्र थाहा छ, बन्दसत्र थाहा छैन’ भन्ने प्रसाईँलाई ओलीले केन्द्रीय सदस्य बनाएका थिए ।

पार्टीमा दुःख गरेका र जेलनेल भोगेकालाई बेवास्ता गरी प्रसाईँलाई केन्द्रीय सदस्य बनाउनुको कारण के थियो ? यो पनि एमालेजनले खोज्न ढिला भइसकेको छ ।

हावा नचली पात हल्लिदैन भन्ने नेपाली उखान छ । कम्बोडियाको टेलिकममा ओलीको लगानी भएको बिषय प्रसाईँले हचुवाका भरमा त पक्कै भनेका होइनन् होला ।

माओवादी भएकर ससुराली गिरी खलकको हदबन्दीको जग्गा कब्जा गरी मेडिकल कलेज खोलेका प्रसाईँलाई ओलीले त्यतिकै केन्द्रीय सदस्य बनाएका थिएनन् होला । ओलीसँग अन्तरंग सम्बन्ध भएका प्रसाईँ झापाबाट सांसदमा टिकट पाउने आशामा थिए । तर, नपाएपछि ओलीसँग रुष्ट भएर राजावादी भए ।

राजावादी भएपछि पार्टीका नेता र मारवाडी व्यापारीबिरुद्ध अभिब्यक्ति दिँदै हिँडेका उनलाई महेश बस्नेतको निर्देशनमा युवा संघका कार्यकर्ताले कालोमोसो दलेपछि उनले ओलीको पोल खोल्न थालेका छन् ।

त्यही पोल खोलाखोलको क्रममा ओलीले नीतिगत भ्रष्टाचार गरेको अरबौं रुपैयाँ कम्बोडियाको टेलिकममा लगानी गरेको अभिव्यक्ति दिएका छन् ।

कम्बोडियाको टेलिकममा ओलीले एनसेलका नेपाली लगानीकर्ता सतिशलाल आचार्यमार्फत् लगानी गरेको उच्च स्रोत बताउँछ । सतिशलाल र सचिनलालले अफ्रिकादेखि एशियाका कम विकसित देशमा टेलिकममा लगानी गरेका छन् ।

नेता र कर्मचारीहरुको भ्रष्टाचारबाट आर्जित कालोधनसमेत उनीहरूले टेलिकम सेक्टरमा लगानी गरेका छन् । २०७२ मा प्रधानमन्त्री हुँदा ओलीले एनसेलको ७२ अर्ब पूँजीगत लाभकर छलीमा आचार्यलाई सहयोग गरेका थिए । त्यहीबेलादेखि आचार्यको ओलीसँग घनिष्ठता रहँदैआएको छ ।

त्यही घनिष्ठताको लाभ उठाउँदै ओलीले उनीमार्फत् कम्बोडियाको टेलिकममा लगानी गरेको बिषय दुर्गा प्रसाईँलाई थाहा भएकाले उनले त्यो रहस्य खोलिदिएका त होइनन् ? गम्भीर प्रश्न उठेको छ ।

यदि, ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेका होइनन् भने दुर्गा प्रसाईँलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन वा पुष्टि गर्न कानुनी चुनौती दिन सक्नुपर्छ । ओलीले त्यसो पनि गरेका छैनन् ।

एमालेका महासचिव, अखिल, युवासंघका अध्यक्षदेखि नेता कार्यकर्ताहरू ओलीको बचाउ र दुर्गा प्रसार्इँविरुद्ध खनिएका छन् । तर, उनको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिन भने सकिरहेका छैनन् ।

कम्बोडियाको टेलिकममा ओलीको लगानी भएको विषयमा सांसद एकनाथ ढकाल पनि जानकार भएकाले ओलीले उनलाई समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा सांसद बनाएका हुन् भन्ने तर्क पनि आउन थालेका छन् ।

एमालेमा त्याग गरेका र पुराना नेता कार्यकर्ताको बलि दिएर परिवार दलका ढकाललाई सांसद बनाउने बाध्यता ओलीलाई किन परेको थियो, दुर्गा प्रसाईँले अहिले कम्बोडियाको टेलिकममा भएको लगानीबारे बोलेपछि खुल्न थालेको छ ।

कम्बोडियामा गएको साउन ७ मा सम्पन्न भएको सातौँ राष्ट्रिय व्यवस्थापिकाको निर्वाचनमा ओली पर्यवेक्षणका लागि गएका थिए । विश्वका अधिकांश देशले मान्यता नदिएको कम्बोडियाको उक्त निर्वाचन पर्यवेक्षणमा नेपालका पूर्वप्रधानमन्त्री तथा दोस्रो ठूलो दलका अध्यक्ष ओली गए । उनलाई परिवार दलको अध्यक्ष भएर पहिलो नम्बरमा एमालेको समानुपातिक सांसद भएका एकनाथ ढकालले कम्बोडिया लगेका थिए ।

ओली करिब ४ वर्ष प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी नीतिगत भ्रष्टाचार भएका छन् । नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउने थालनी ओली प्रधानमन्त्री हुँदैदेखि भएको हो ।

ओली प्रधानमन्त्री हुँदा गिरीबन्धु टी स्टेट ३४४ बिगाहा जग्गाको हदबन्दीे फुकुवामा अरबौंको चलखेल भएको बिषयले संसददेखि सडकसम्म अहिले पनि चर्चा पाइरहेको छ ।

नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्कामा ८ अर्ब भ्रष्टाचार भएको बिषय सार्वजनिक भएको थियो । एनसेलले ६ अर्बमा देशभर विस्तार गरेको फोरजी नेपाल टेलिकमले १८ अर्बमा ठेक्का दिएको थियो । टेलिकमले त्यही सेवा १८ अर्ब रुपैयाँमा हुवावेलाई ठेक्का दिएको थियो । एनसेलको फोरजी सेवाको ठेक्का पनि हुवावेले नै पाएको थियो ।

हयात रिजेन्सी होटलले गैरकानुनी रुपमा तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हडपेको र थप १४८ रोपनी जग्गाको सेयर ३९ प्रतिशतबाट घटाएर ९ प्रतिशतमा ल्याएको बारेमा संसदको अन्तर्राष्ट्रिय समितिले उपसमिति गठन गर्यो । तत्काल १५० रोपनी जग्गा सरकारकै नाममा फिर्ता गर्न र होटलको डीडीए गरी नाफाघाटा के हो एकीन गरी सरकारको सेयर विवाद समाधान गर्न निर्देशन दियो ।

त्यो निर्देशन पनि तत्कालीन प्रधानमन्त्री ओलीले कार्यान्वयन गरेनन् । त्यसका अलावा वाइडबडी विमान खरिद प्रकरण, गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण, नेपाल ट्रष्टका दरबारमार्ग लगायतका स्थानका जग्गा कौडीका मूल्यमा दिएको बिषय, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुटजस्ता भ्रष्टाचार पनि ओलीकै पालामा भएका थिए ।

स्वास्थ्य सामग्री खरिद प्रकरण, निकुञ्जभित्र जलविद्युत आयोजना बनाउन अनुमति, ढुंगा, गिट्टी, बालुवा निकासी, स्मार्ट टेलिकमको म्यादथप लगायतका प्रकरण पनि ओलीकै शासनकालमा भएका हुन् ।

जग्गा नै अधिग्रहण नगरी काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का सेटिङमा दिने तयारी ओलीले गरेका थिए । तर, मिडियाले यो बिषयलाई ब्यापक रुपमा उठाएपछि १० अर्बभन्दा बढी भ्रष्टाचार गर्ने योजना तुहिएको थियो ।

रेल विभागका अधिकारीहरू ललिता निवासमा जस्तै २२ वर्षपछि जेल जाने डरले उक्त ठेक्का रद्द गर्न बाध्य भएका थिए । त्यसबाहेक पशुपतिको जलहरी काण्ड त छदैछ । उक्त काण्डमा १० किलो सुन पचाउने निगत गरिएको कुरा उदांगो भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्