Logo
Logo

दृश्य-अदृश्य घेरा नाघेपछि



संसारमा हरेक कुरा अनित्य छ, परिवर्तनशील छ । हरेक गतिले मान्छेलाई नयाँ परिस्थितिमा लिएर जान्छ । जुनसुकै परिस्थितिमा पनि कुनै न कुनै किसिमको संघर्षको सामना त गर्नैपर्छ । संघर्षको रूप मात्र परिवर्तन हुँदै जाने हो ।

देश फर्केपछि पहिलो पटक हामी ‘डेरा’मा नबसी ससुरा बुवाले बनाइदिएको ‘घर’मा बस्ने स्थिति आयो । विवाहको दश वर्षपछि बल्ल औपचारिक रूपमै बुहारीको रूपमा घर भित्रिएकी थिएँ म । बुवा हामीलाई आफैँसँग राख्न चाहनुहुन्थ्यो । तर, त्यो बेला अन्तरजातीय बुहारीको जीवन भोग्न भने सजिलो थिएन ।

आज भन्दा तीन दशक अगाडिको कुरा हो यो । आफैले जीवनलाई भोग्नु भनेको देख्नुसुन्नु वा ‘बुझ्नु’भन्दा बिल्कुलै फरक कुरा हो । घरका दोस्रा पुस्ताका सबै नै पढालेखा र ‘आधुनिक’ भए पनि अन्तरजातीय बुहारीको जीवनलाई साँच्चै नै भोग्ने त म न थिएँ ! चाडपर्वमा होस् या घरमा श्राद्ध पूजा आदि हुँदा मलाई सधैँ नै कहाँ भागुँ कहाँ भागुँ हुन्थ्यो । त्यसैले पनि दशैँ आयो कि पाएसम्म कतै घुम्न जान खोज्थेँ ।

हुँदाहुँदा पछि त दशैँमा बाहिर जाने चलनै बसेजस्तो भयो । अझैसम्म पनि दशैँ आयो कि कहिले कुनै विहार वा ध्यान शिविरमा गएर ध्यानमा बस्न र कहिले भने अन्यत्रै कतै नयाँ ठाउँमा घुम्न जाने मन हुन्छ ।

हामी बुढाबुढी दुवै नै आ–आफ्नो क्षेत्रमा संघर्षरत थियौँ । हाम्रो संघर्षको रूप भने एउटै थिएन । सरोज अस्पतालको विकास र विस्तारको निम्ति संघर्षरत थिए भने म मेरै परिवर्तित परिस्थितिमा बाहिरको उज्यालो खोज्दै थिएँ ।

घरमा बन्दीजस्तो भएर बस्ने कुरा मेरो स्वभावको विपरित थियो । आफुले पढेर आएको चिनियाँ भाषालाई प्रयोगमा ल्याउनु पनि थियो ।

सुरु सुरुमा साथी सुमन श्रेष्ठकै प्राइभेट भाषा विद्यालय ‘निलि’ मा चिनियाँ भाषाको एउटा कक्षा लिन थालेँ । आफूसँग भएको ज्ञानलाई अलिकति भए पनि प्रयोगमा ल्याउन पाएँ ।

काखे छोरी सानै थिई । ऊ अलिकति ठूलो हुन थालेपछि भने विश्वभाषा क्याम्पसमा चिनियाँ भाषा पढाउन थालेँ । मलाई त्यहाँसम्म पुर्याउन मञ्जुल दाइ पुल बनिदिनु भयो । उहाँ विदेशीलाई नेपाली पढाउनु हुन्थ्यो ।

कक्याम्पसमा त्यो बेला चिनियाँ भाषाको शिक्षक कोही नभएर कक्षा नै सञ्चालन नभइरहेको स्थिति रहेछ । मञ्जुल दाइको सल्लाह र सहयोगमा त्यहाँ पुगेपछि ‘जागिर खान’ थालेको अनुभूति भयो । ‘आफ्नै कमाई’ भन्न पाउँदा जति थोरै भए पनि सन्तोष हुँदोरहेछ । विस्तारै बाहिरको बाटो खुल्दै गए जस्तो पनि लाग्न थाल्यो । त्यसका निम्ति म मञ्जुल दाइ र त्यस बेलाका क्याम्पस प्रमुखप्रति अझैसम्म कृतज्ञ छु ।

पुराना साथीहरू सँगको भेटघाट विस्तारै बढ्दै थियो । लेखन क्षेत्रमा पनि हात हाल्दै थिएँ । त्यो बेला निस्किने गरेको ‘प्रकाश’ साप्ताहिकमा एकजना साथीले लेख्न भने । मैले लेखेँ । त्यो बेलासम्म महिला लेखेक अहिले जति धेरै थिएनन् ।

प्रकाशमा एउटा लेख निस्केपछि, ‘दृष्टि’का त्यो बेलाका सम्पादक रघुजीले ‘सम्पूर्ण आकाश’ भन्ने स्तम्भमा लेख्न आग्रह गर्नुभयो । मैले त्यो प्रस्ताव स्विकारेँ र ‘सम्पूर्ण आकाश’ स्तम्भमा नियमित लेख्न थालेँ । अगाडिबाट नै त्यही स्तम्भमा लेख्दै आएकी विन्दिया प्रधान र म एक हप्ता बिराएर पालैपालो लेख्थ्यौँ ।

२०५२ सालदेखि ‘बुधवार’ साप्ताहिक निस्क्यो । त्यसको ‘सम्पूर्ण आकाश’ स्तम्भ लामैसमयसम्म मेरो भयो । त्यहीँ पुरानो नाताले अहिले फेरि दृष्टिको उही ‘सम्पूर्ण आकाश’ स्तम्भमा लेख्दैछु । त्यसपछि अरु पत्रपत्रिकामा पनि लेख्न थालें–‘हिमाल’, ‘अन्नपूर्ण पोष्ट’, ‘कान्तिपुर’ ‘समय’ आदिमा ।

साहित्यमा पनि कलम चलाउन थालें । उहिल्यै २०४० सालदेखि नै लेखेर राखेका नेपालभाषाका कथाहरूको संग्रह ‘झ्यारखाना’ पनि बहिनी श्रीलक्ष्मी श्रेष्ठले २०५४ मा निकालिदिनु भयो ।

त्यहीबेला देशमा पहिलो पटक कम्युनिष्ट पार्टीको सरकार बन्यो । कम्युनिष्ट नेता मनमोहन अधिकारीको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुँदा खुसी लागेको थियो । तर, त्यो मन्त्रिमण्डलमा एकजना महिला पनि मन्त्री बनेको देख्न पाइएन । कम्युनिष्ट पार्टी जस्तो महिला समानताको आवाज उठाउने पार्टी यस्तो कुरामा चुकेको देख्दा दिक्क लाग्थ्यो ।

देशका निम्ति महिलाहरूबाट भएको योगदानलाई कदर गर्न नसकेको यो कञ्जुस्याईँ दूरदर्शीताको अभाव नै थियो । राजनीतिले लिँदै गरेको मोड र आफ्नो पुरानो पार्टीले लिएको बाटो ठिक थियो थिएन– त्यो आफ्नै ठाउँमा छ । तर, ‘पार्टीले मेरो वास्तै गरेन’ भनेर मैले भन्नु चाहिँ गलत हुन्छ । नेताहरूले अझै सम्झिरहेकै थिए ।

त्यो बेलाका केही रमाइला सन्दर्भहरू पनि सम्झनामा आउँछन्– विवाह भएको १५ वर्ष पुगिसकेको थियो । विवाह भएका बेला कसैलाई निम्तो दिनसक्ने कुरै थिएन– ‘भूमिगत विवाह’ भएको थियो । अब १५ वर्ष पुगिसकेको बेला केही पुराना मित्रहरूलाई बोलाउन मन लाग्यो र बागबजारको एउटा सानो होटलमा भेटघाटको कार्यक्रम बनायौं ।

त्यो बेलासम्म धेरै पुराना साथीहरू महत्वपूर्ण पदमा पुगिसकेका थिए । प्रायः सबै नै आइदिए । त्यो दिन बजेट भाषण नै परेको भए पनि सांसदहरू समेत बेलैमा आइदिनुभयो । पद्मरत्न दाइ त बैठक नसिद्धिदै नै उठेर आइदिनुभएको थियो– हामीप्रतिको स्नेह प्रकट गर्न ।

उबेलाका भूमिगतकालका साथीहरू र नयाँ साथीहरूसँगको भेटघाटले साँच्चै रमाइलो लाग्यो । पन्ध्र वर्षमा पहिलोचोटी विवाहको उपलक्षमा खुल्ला रुपमा साथीहरूलाई बोलाउन सकेका थियौँ ।

पुराना मित्रहरूको सदाशयताको अर्को सन्दर्भ पनि सम्झन्छु । झलनाथ खनाल सञ्चारमन्त्री भएका बेला एकदिन आफ्नी जीवनसाथी रवि चित्रकारका साथमा घरसम्मै आउनुभएको थियो । साथमा अन्य मित्रहरू पनि आउनु भएको थियो । मलाई सञ्चार क्षेत्रको एउटा महत्वपूर्ण जिम्मा नै दिन चाहनु भएको थियो । त्यसरी बोलाउँदा पनि म आफैँ जान मानिन– बच्चा सानै भएकोले ।

घरमै बसेर लेखनमै लागेकी थिएँ र एउटा किताबकै तयारी पनि गरिरहेकी थिएँ । एकान्त चाहिएको बेला जापानी साथी कियोको ओगुरा र स्पेनिस साथी एलिथियाको कोठामा बसेर पनि लेख्थें । त्यसबेलाको लेखनको सानो अंश अंग्रेजीमा उल्था भएर छापियो पनि– साथी मेरी डेशेनको सहयोगले । ती सबै साथीहरूप्रति पनि कृतज्ञ छु ।

मेरीसँग हाम्रो अत्यन्त नजिकको न्यानो सम्बन्ध थियो । कतिसम्म भने ५२–५३ सालतिर हामीले आफू बसेको फ्ल्याट नै साटासाट गर्यौँ । आफ्नो घरको सानो फ्ल्याट मेरीलाई छोडेर हामी भने उनको डेरामा सर्यौँ । देश फर्केको ६ वर्षपछि यसरी घर छोडेर अर्को ठाउँमा डेरा सर्नु मेरो जीवनमा आएको अर्को एउटा महत्वपूर्ण मोड बनिदियो ।

प्रतिक्रिया दिनुहोस्