Logo
Logo

सभापति र प्रधानमन्त्री बन्ने सम्भावना समाप्त




नेपाली कांग्रेसमा डा. शेखर कोइरालालाई इतर धारको नेतृत्व मानिन्थ्यो । तर, त्यो परिस्थितिमा बदलाव देखिन्छ । शेखरको पकड बिस्तारै गुम्दै गएको छ । मुख्य त उनले आफ्नै समूहमा विश्वास गुमाएका छन् । र, कांग्रेसको भावी नेतृत्वको अवसर पनि गुमाउँदै गएका छन् । सम्भवतः कोइराला परिवारको विरासत थाम्ने उनको चाहना अब पूरा हुँदैन ।

पछिल्लो पटक शेखर समूहले कोशीमा असफल विद्रोह गर्यो । जुन विद्रोहले कांग्रेसलाई विभाजनसम्म पुर्याउन सक्थ्यो । कोशीबाट कांग्रेस विभाजनको बीजारोपण भयो, केदार कार्कीलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय थिएन । त्यो गठबन्धनको निर्णयविरुद्ध थियो । जसले कांग्रेसभित्र ठूलो हलचल ल्यायो ।

कोशी विद्रोहको पक्षमा शेखर र उनको सानो समूहबाहेक अरू थिएनन् । शेखर समूहको सबैभन्दा बलियो मानिएका महामन्त्री गगन थापा र अरू नेतृत्व नै यसको विपक्षमा थिए । संस्थापन मानिए पनि संस्थापन इतर शक्तिसँग नजिक अर्का महामन्त्री विश्वप्रकाश शर्मा त शेखर समूहको विद्रोहको विपक्षमा रहे ।

कांग्रेसमा शेखर समूहले गरेको विद्रोहका कारण कांग्रेस अति अप्ठ्यारो अवस्थामा पुग्दा विश्वप्रकाशले सार्वजनिक रूपमै विद्रोहीहरूलाई कारबाही गर्नुपर्ने धारणा राखेका थिए । आन्तरिक छलफलहरूमा गगनले उक्त विद्रोहलाई पार्टी विभाजनको बीजारोपणका रूपमा विश्लेषण सुनाएका थिए । एउटा छलफलमा गगनले भनेका थिए– ‘शेखर दाइले रोज्नु भएको बाटो कांग्रेस विभाजनको बाटो हो । ८४ को निर्वाचन वा पार्टी महाधिवेशनसम्म पुग्दा उहाँ विभाजनसम्म पुग्नु हुन्छ ।’

पाका नेतृत्वको रूपमा देउवापछि शेखरलाई पार्टी सभापतिको रूपमा हेरिएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति भइसकेपछि शेखरका लागि सभापतिको दौड थप सहज भएको थियो । यदि, आगामी महाधिवेशनबाट शेखर सभापति निर्वाचित भएको भए प्रधानमन्त्री बन्ने सम्भावना पनि बलियो भएर जान्थ्यो । तर, अब भने शेखरले पार्टी सभापति र प्रधानमन्त्री बन्ने सम्भावनाहरू गुमाएका छन् ।

पछिल्लो महाधिवेशनमा देउवापछि शेखर सभापति पदका बलियो दाबेदार थिए । कांग्रेस भित्रका विभिन्न समूहहरूको तुलनामा शेखर समूह बलियो पनि थियो । तर, महाधिवेशनपछि उनले खेल्दै आएका भूमिकाहरू उनकै लागि घातक बन्दै गएका छन् । इतर समूहको नेतृत्वको रूपमा उनले पार्टीभित्र रचनात्मकभन्दा पनि घातक कदमहरू चाल्दै आएका छन् ।

वर्तमान सत्ता गठबन्धन असामान्य अवस्थामा बनेको हो । जुन गठबन्धनको पहिलो कर्तव्य व्यवस्थाको रक्षा हो । सँगै, सुशासन कायम गर्दै देशलाई विकास र समृद्धिको बाटोमा डोर्याउन गठबन्धनले भूमिका निर्वाह गर्नुपर्ने छ । सुशासनको सन्दर्भमा वर्तमान गठबन्धन सरकारले सकारात्मक काम गरिरहेको छ । तर, शेखरका हरेक कदम गठबन्धन भत्काउनेतर्फ उन्मुख छ ।

सरकारले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । तर, सोही सरकार ढाल्न शेखर अनेक खेल खेलिरहेका छन् । त्यसको एक मात्र कारण प्रधानमन्त्री बन्ने हतारो हो । तर, आजकै परिस्थितिमा शेखर प्रधानमन्त्री बन्ने सम्भावना छैन । किनकि, आन्तरिक र बाह्य शक्ति सन्तुलन शेखरको चाहना अनुकूल छैन । यस्तो अवस्थामा उने तत्कालै प्रधानमन्त्री बन्न आफ्नै सरकार ढाल्न खोज्नु उनकै लागि घातक खेल हो ।

शेखरले चाहेजस्तो कांग्रेसमा अहिले नै विशेष महाधिवेशन हुने सम्भावना पनि छैन । कथङ्कदाचित विशेष महाधिवेशन भए पनि शेखर सभापति हुने र दलको नेता हुँदै प्रधानमन्त्री बन्ने सम्भावना त झनै छैन । यस कारण शेखर बेमौसमी खेलमा लागेका छन् । र, यस्तै बेमौसमी खेलले शेखरको बाँकी राजनीतिक भविष्य अन्धकारमा धकेलिँदै गएको छ ।

कांग्रेसमा ‘गगन–विश्व युग’ सुरु हुँदै छ । सम्भवतः आगामी महाधिवेशनबाट विश्व र गगनले पार्टी र सरकारको नेतृत्व गर्ने वातावरण बन्दै छ । गगन प्रधानमन्त्री बन्ने लाइनमा छन् । विश्व सुषुप्त रूपमा सभापति बन्ने चाहनामा अघि बढेका छन् । दुवैले आन्तरिक पकड बलियो बनाउँदै गएका छन् । यसरी नै यी दुई युवा नेतृत्व मिलेर अघि बढ्ने हो भने कांग्रेमा शेखर, शशांक कोराला, कृष्ण सिटौला र प्रकाशमान सिंहहरूले अबको महाधिवेशनपछि विश्राम लिनुको विकल्प हुँदैन ।

कांग्रेस सभापतिमा पराजित भएपछि शेखरले आफ्नो समूहलाई झनै बलियो बनाउँदै लैजानुको विकल्प थिएन । त्यसका लागि पार्टीले गरेका हरेक निर्णयहरू कार्यान्वयन गर्दै रचनात्मक र आलोचनात्मक रूपमा नेतृत्वलाई सहयोग गर्दै जानुपर्ने थियो । शेखरले भुल्न नहुने कुरा के थियो भने, उनी पराजित नेतृत्व हुन् । लोकतान्त्रिक पद्धतिमा पराजितले विजयी नेतृत्वलाई स्विकार्नुको विकल्प हुँदैन । तर, शेखरले आफ्नो पराजय स्वीकार गर्न सकेका छैनन् ।

आफ्नो पराजय अस्वीकार गरेकै कारण शेखर बेला–कुबेलामा प्रधानमन्त्री बन्ने अतृप्त चाहनामा दौडेका छन् । र, अनैतिक रूपमा विपक्षी दल एमालेको फेरो समातेका छन् । पार्टी सम्मिलित गठबन्धन सरकार ढाल्न प्रतिपक्षी एमालेको सहारा लिनु गैर राजनीतिक कदम हो । उनी यतिखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथमा प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् ।

विपक्षी दलको उक्साहटमा शेखर पार्टी नै विभाजन गर्ने खेलमा जुटे । तर, पार्टी विभाजन गर्न शेखरसँग संवैधानिक सुविधा छैन । अर्थात्, राजनीतिक दलसम्बन्धी व्यवस्था अनुसार दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ३३ प्रतिशत मत आवश्यक हुन्छ । जुन मत कुनै पनि हालतमा शेखरसँग पुग्दैन । विगतका अभ्यासहरू झैँ अध्यादेशमार्फत दलसम्बन्धी व्यवस्था सहज बनाउने सुविधा पनि छैन । यस कारण, अहिलेकै अवस्थामा शेखरले पार्टी विभाजन गर्न पनि सक्दैनन् ।

शेखरले आन्तरिक र बाह्य शक्ति सन्तुलन नबुझेका होइनन् । तर पनि, उनी किन घातक खेलमा अग्रसर हुँदै आएका छन् ? पार्टीमा आफ्नो उपस्थिति देखाउन शेखरले खेल्दै आएका हरेक कदमहरू उनकै लागि घातक हुँदै गएका छन् । त्यसको पछिल्लो उदाहरण कोशी विद्रोह हो । शेखरले अराजनीतिक तरिकाले एमालेको साथ लिएर कोशी सरकार बनाए । तर, सोही कदमले शेखरलाई अप्ठ्यारोमा परेको छ ।

गठबन्धन भत्काउने एमालेको चाहनामा शेखर कोशीमा प्रयोग भए । तर, सिंगो कांग्रेस र गठबन्धनका नेतृत्वको कुशल खेलमा गठबन्धन भत्काउने एमाले र शेखर समूहको खेल असफल भयो । जुन असफल विद्रोहले यतिखेर शेखरलाई लपेटेको छ । जहाँ, एमालेले हात झिकिसक्यो, गठबन्धन दल सरकारमा सहभागी भए । एमालेले कोशी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ । यसै कारण कोशी सरकार अप्ठ्यारोमा पर्ने छ ।

त्यसो त, शेखरले कोशी विद्रोहको भोलिपल्टै पार्टी र गठबन्धनसँग आत्मसमर्पण गरिसकेका छन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासँग आत्मसमर्पण गरेको खेस्रो आफैले कोरेका थिए । जहाँ उनले, गठबन्धनलाई बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । पार्टी सभापतिलाई साक्षी राखेर शेखरले प्रधानमन्त्रीसँग भनेका थिए– ‘कोशीमा गल्ती भयो । यसलाई पार लगाउन सहयोग गर्नुस् । बाँकी दिनमा प्रधानमन्त्रीले भनेकै बेला मुख्यमन्त्रीलाई राजीनामा गराउँछु ।’

तात्कालिक परिस्थिति सम्हाल्न गठबन्धनले शेखरको कोशी विद्रोह अनुमोदन गरेका थियो । त्यो अनुमोदनको परिणाम देखिन थालेको छ । जुन परिणाम शेखरका लागि आत्मघाती साबित हुँदै गएको छ । एमालेले विश्वासको मत फिर्ता लिँदा आइलाग्ने सबै किसिमका संकटहरूको दोष शेखरले बोक्नुपर्ने छ । कोशीका आगामी परिणामहरू राजनीतिक रूपमा शेखर समूहका लागि घाटाको व्यापार साबित हुनेछन् ।

यसरी हेर्दा, राजनीतिक बेइमानीहरूका कारण कांग्रेसमा मात्रै नभएर शेखर समूहले नेपाली राजनीतिमै अस्तित्व गुमाउने परिस्थिति बन्दै गएको छ । शेखरसँग भएका अन्य नेतृत्वले आफूलाई बदल्दै गए उनीहरूको परिस्थिति बदलिन सक्छ । तर, शेखरका लागि अब त्यो सम्भावना छैन । किनकि, राजनीति र भौतिक जीवनकै दृष्टिले उत्तरार्द्धमा रहेका शेखरका लागि सबै परिस्थिति प्रतिकुल बन्दै गएको छ । अर्थात्, आफ्नै घातक कदमहरूका कारण पार्टी सभापति बन्दै प्रधानमन्त्री बन्ने र कोइराला खानदानको विरासत धान्ने शेखरको चाहनामा ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्