Logo

अब अनुशासन आयोगले नेताको सम्पत्ति छानबिन गर्नुपर्छ-ठाकुर गैरे


Published On : 11 February, 2020

लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक तपाईंको अनुभवमा कस्तो रह्यो ?

नेपाल कम्युनिष्ट पार्टीको एकीकरण प्रक्रियामा पुरानो पार्टी विघटन भएर नयाँ पार्टी निर्माण भएपछि त्यो पार्टी एकीकरणलाई अनुमोदन गर्न तथा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताका लागि हस्ताक्षर संकलन गर्न केही मिनेटका लागि हामी पहिलो बैठक बसेका थियौँ । तर, विषयवस्तुका हिसावले एजेन्डाका हिसावले एकीकरणको महत्व, यसको लक्ष्य, उद्देश्यप्रतिको स्पष्टताका हिसावले एजेन्डाका रूपमा भने यो नै पहिलो बैठक हो । हाम्रो पार्टीको विधानमा हरेक ६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्ने भनेर लेखिएको छ । तर, हामी २१ महिनापछि हामी औपचारिकरुपमा पहिलो बैठक बस्यौँ । यो बीचमा हामीले बैठक माग गर्ने अभियान नै चलायौँ । लिखित रूपमा हामीले ज्ञापनपत्र नै बुझायौँ । ढिलै भए पनि बैठक आयोजना भयो । र, यो बैठक आयोजना हुनु आफैँमा एउटा ठूलो खुसीको कुरा थियो । हिजो तत्कालीक नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग सम्बन्धित केन्दीय कमिटीका सदस्यका बीचमा हामी एकीकरण भएर एउटै पार्टी बनेको २१ महिनापछि पहिलोपटक भेटौँ । २१ महिनापछि हामीले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट पहिलोपटक परिचयपत्र प्राप्त ग¥यौँ । यो एउटा पक्ष हो । यसर्थ हामीले यसलाई खुसी भनेका छौँ । अर्को हिसावले केन्द्रीय कमिटीको नयाँ कमिटी निर्वाचन गर्ने त्यो एजेन्डालाई छोडेर हेर्दाखेरी यो एकप्रकारको महाधिवेशनजस्तै भयो । अर्को महत्वपूर्ण पक्ष के छ भने, बैठकमा अत्यन्त व्यवस्थित रूपमा लिखित राजनीतिक, सांगठनिक तथा विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत भयो । ती प्रतिवेदनमाथि १५ वटै समूह छलफलमा ज्यादै मसिनो छलफल भयो । हरेक समूहमा ३० जनाको प्रतिनिधित्व रहेकोमा एक, दुईबाहेक अरु सबै केन्द्रीय समिति सदस्यहरू छलफलमा सहभागी हुनुभयो । सचिवालयबाहेक स्थायी कमिटीका नेताहरू समेत त्यो बहस र छलफलमा सहभागी बन्नुभयो । त्यो छलफलपछि केन्द्रीय सचिवालयले बैठक बसेर त्यहाँ उठेका सबै विषय सम्बोधन गर्ने कुरा ग¥यो । आगामी दिनमा नियमित बैठक गर्ने सन्दर्भमा, संस्थागत निर्णय गर्ने सन्दर्भमा र सामूहिक नेतृत्वको स्पिरिटमा अगाडि बढ्ने विषयमा लिडरसिपले प्रतिबद्धता व्यक्त ग¥यो । यस्ता कारणले मैले यो बैठकलाई उपलब्धिमूलक मानेको छु ।

ठाकुर गैरे, केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

हामीले २०७७ को चैत्रमा महाधिवेशन तोकेका छौँ । महाधिवेशनका लागि केही पूर्वतयारीका काम छन् । त्यो सम्पन्न नगरी महाधिवेशन सम्भव छैन ।

एउटै बैठकबाट हामी सबै घुलित भयौँ भन्ने त कसरी सम्भव होला ? तर, यसले एक हदसम्म हामी एउटै पार्टीका सदस्य हौँ भन्ने चैँ यसले बनाएको छ ।

राष्ट्रिय राजनीतिको समग्र चर्चा गर्दै नेपालमा आज खास गरी दलाल पुँजीसँग हाम्रो प्रधान अन्तरविरोध रहेको छ । दलाल नोकरशाही पुँजीवाद आजको नेपाली समाजको परिवर्तनका निम्ति मुख्य बाधा हो भन्ने कुरालाई स्पष्ट गरिएको छ ।

जनताको जनवादका विशेषताहरू के हुन् र सरकारबाट त्यसको कार्यान्वयन कसरी हुन्छ ? जनताको जनवादलाई कार्यान्वयन गर्ने पार्टी जनताको जनवादी विशेषतामा आधारित बनाउन कसरी सकिन्छ ?

निर्णयहरू हेर्दा महाधिवेशनको मितिसमेत यो बैठकले तय गरेको छ । तर, विगत हेर्दा समयतालिकाअनुसार कुनै पनि काम भइरहेको देखिँदैन । महाधिवेशन समयमै हुनेलगायत अन्य निर्णय तोकिएकै समयभित्रै कार्यान्वयन हुन्छन् भन्ने कुरा कसरी विश्वास गर्ने ?

पहिलो कुरा त, केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरूले उठाएका विषयहरूलाई नेतृत्वले राम्रो रेस्पोन्स ग¥यो । कतिपय महत्वपूर्ण निर्णयहरू नै भए । जस्तो, १५ दिनभित्र एकीकरणका सबै बाँकी काम सकिनेछ भनिएको छ । त्यसको सदस्यता नवीकरण गर्ने, अभिलेखीकरण गर्ने, हिजो दुईवटा फरक–फरक पार्टीका नाममा रहेको सम्पत्ति अभिलेखीकरण गर्ने, तीन महिने अभियान सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् । हामीले ज्यादै राम्रा निर्णय भयो भनिरहँदा तपार्इंले जस्तै सबैले प्रश्न गरिरहेका छन्, कि यी निर्णय कार्यान्वयन हुन्छन् ? केन्द्रीय कमिटीको बैठकमा नेतृत्व जसरी प्रस्तुत भयो, त्यसहिसावले म नेतृत्वप्रति विश्वास गरिरहेको छु । तर, यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा प्रश्न यथावत छ । कतै पुरानै निरन्तरता त हुने होइन ? भन्ने प्रश्न यथावत रहेका छन् । अर्कोतर्फ, हामीले २०७७ को चैत्रमा महाधिवेशन तोकेका छौँ । महाधिवेशनका लागि केही पूर्वतयारीका काम छन् । त्यो सम्पन्न नगरी महाधिवेशन सम्भव छैन । दुवै पार्टीका सदस्यहरूको अभिलेखीकरण र नवीकरण गर्ने, त्यसपछि गाउँपालिका, नगरपालिका, जिल्ला कमिटी र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्ने काम सम्पन्न नभई महाधिवेशनको आधार तयार हुँदैन । तीन महिने अभियान सकेर आगामी कात्तिक मंसिरसम्म मातहतका कमिटीको अधिवेशन सकियो भने मात्रै त्यसले महाधिवेशनको आधार तयार गर्छ । त्यसैले गर्दा यो आफैँमा चुनौतिपूर्ण काम छ । यसमा नेतृत्वले विगतमा जस्तो ढिलाढालो गरेर हुँदैन । केन्द्रीय कमिटी बैठकको प्रतिबद्धताअनुसारकै स्पिरिट कायम राखेर मात्रै सम्भव हुनेछ ।

पार्टी एकताको २१ महिनापछि भएको बैठक अन्तरघुलनका हिसावले कत्तिको उपयोगी बन्यो ?

केन्द्रीय कमिटीका सदस्यहरूबीच पहिलोपटक सामूहिक भेट भयो । समूहगत छलफलले एक–अर्काको दृष्टिकोण, बुझाइ, स्तरलाई नजिकबाट चिन्ने बुझ्ने मौका दियो । एकहदसम्म सैद्धान्तिक वैचारिक हिसावले नजिकबाट नियाल्ने अवसर प्राप्त भयो । तर, एउटै बैठकबाट हामी सबै घुलित भयौँ भन्ने त कसरी सम्भव होला ? तर, यसले एक हदसम्म हामी एउटै पार्टीका सदस्य हौँ भन्ने चैँ यसले बनाएको छ ।

अध्यक्षद्वयको प्रतिवेदनले वैचारिक पक्षको छलफलका लागि कत्तिको ढोका उघा¥यो ?

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन यो कमिटीमा प्रस्तुत भएको पहिलोपटक हो । त्यो पनि पहिले स्थायी कमिटीमा पेश भएर, छलफलपछि त्यसका सुझाबसमेतलाई समेटेर आएको थियो । त्यस अर्थ, यो बैठकमा पूर्व एमाले, पूर्व माओवादीको आआफ्नै नीति, कार्यक्रम, विचार, सोच्ने तरिका, दृष्टिकोण भएर एकीकृत भएपछिको पहिलो प्रतिवेदनमा त्यसका लिमिटेशनहरूका बीचमा प्रतिवेदन सारसंक्षेपमा अत्यन्त सरल हिसावले विषयवस्तुहरू समेटिएर नै आएको छ । प्रतिवेदनले हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुनेछ भनेर स्पष्ट गरेको छ । अहिले नेपाल कम्युनिष्ट पार्टीले कार्यान्वयन गर्ने कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो भन्ने कुरालाई स्पष्ट गरेको छ । नेपाली समाजको चरित्रको त्यसमा वस्तुनिष्ठ चर्चा भएको छ । आजको अन्तर्राष्ट्रिय परिस्थिति, त्यसमा पनि विश्वकै उदयमान ठूला अर्थतन्त्र भएका हाम्रा उत्तर र दक्षिणका छिमेकी देशका बीचमा हाम्रो अवस्था र आजको अन्तर्राष्ट्रिय स्तरमा संसारमा कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेका बेला हामीले प्राप्त गरेको सफलतालाई कसरी रक्षा गर्ने, कसरी बलियो बनाउने, कसरी सदृढ गर्ने भन्ने मूल्यांकन गरिएको छ । राष्ट्रिय राजनीतिको समग्र चर्चा गर्दै नेपालमा आज खास गरी दलाल पुँजीसँग हाम्रो प्रधान अन्तरविरोध रहेको छ । दलाल नोकरशाही पुँजीवाद आजको नेपाली समाजको परिवर्तनका निम्ति मुख्य बाधा हो भन्ने कुरालाई स्पष्ट गरिएको छ । नेपालका राजनीतिक दलहरू नेपाली कांग्रेस, राप्रपालगायत अरु दलका आजका भूमिकाबारे चर्चा गरिएको छ । आगामी दिनमा हामी सामाजिक न्यायसहितको समाजवादतर्फ जाने हो भन्ने कुरालाई स्पष्ट गरिएको छ । सैद्धान्तिक, दार्शनिक हिसावले हिजोको माओवादी केन्द्रले अघि सारेको २१औँ शताब्दीको जनवाद वा पूर्वएमालेले अघि सारेको जनताको बहुदलीय जनवादसहित समग्रतामा वैचारिक हिसावले महाधिवेशनबाट निखार ल्याउने, समृद्ध बनाउने छौँ भन्ने कुरा गरिएको छ । छलफलका दौरान यी कुरा सही हुँदा हुँदै पनि आजको नेपाली समाजको वर्ग विश्लेषण के हो ? भन्ने कुरामा स्पष्ट हुनुपर्ने, आजको सन्दर्भमा समाजवादउन्मुख जनवादको कार्यान्वयन सरकारले कसरी सफलता प्राप्त गर्न सक्छ ? जनताको जनवादका विशेषताहरू के हुन् र सरकारबाट त्यसको कार्यान्वयन कसरी हुन्छ ? जनताको जनवादलाई कार्यान्वयन गर्ने पार्टी जनताको जनवादी विशेषतामा आधारित बनाउन कसरी सकिन्छ ? आजको पार्टी, आजको पार्टी सञ्चालनको तरिका, आजको कार्यकर्ता, त्यसको मनोविज्ञान, आज दलाल पुँजीवादको नेपाली समाजमा भइरहेको हस्तक्षेप र त्यसविरुद्धको लडाइँ लड्न सक्ने पार्टीका चुनौति के–के हुन् ? हामीले भनेको समाजवादका विशेषता के–के हुन्छन् ? त्यहाँ पुग्ने सन्दर्भमा आज सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक आधार कसरी अघि बढाउँछौँ भन्ने कुरामा थप छलफल आवश्यक छ र त्यो महाधिवेशनमा गर्नेछौँ भन्ने स्पष्ट पारिएको छ ।

बैठकमा अधिकांश समूहबाट नेताहरूका बदलिँदो–भड्किलो जीवनशैली, बढ्दो भ्रष्टाचारविरुद्ध पार्टीभित्र महान् अभियान आवश्यक छ भन्ने माग भएको सुनियो । त्यसलाई नेतृत्वले कसरी लिएको छ ?

आजको नेपाली समाजमा हामीले अपेक्षा गरेको खासगरी नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचारलाई उन्मुलन गर्छाैं भन्ने हाम्रो प्रतिबद्धता हो । सँगसँगै म भ्रष्टाचार गदिनँ, कसैलाई भष्टाचार गर्न दिन्नौँ भन्ने सरकारको नाराको कार्यान्वयन र आज समाजमा विद्यमान भ्रष्टाचारको व्याप्तता, यसभित्र हामी नेपाल कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली, आज पार्टीभित्रै एउटा धनीवर्ग र गरिबहरूको वर्ग छुट्टिनेखालको स्थिति, एउटा व्यक्तिको उद्योग छैन, कलकारखाना छैन, नियमित आम्दानीको स्रोत छैन, तर दिनानुदिन समृद्धि कसरी आइरहेको छ ? यसका बारेमा बैठकमा निकै चिन्ता र चासोका साथ छलफल भयो । हिजो २०४६ सालको राजनीतिकपछि बनेको जनताबाट निर्वाचित सरकार विगतमा पञ्चहरूले गरेको ब्रह्मलुटविरुद्ध निर्मम कारबाहीमा उत्रन सकेन । ०४६ सालपछि जनताबाट निर्वाचित जनप्रतिनिधिले शासक गरिरहेका छन् । यसबीचमा जनप्रतिनिधिहरू भ्रष्टाचारी भए, पार्टीहरू भ्रष्टाचारको संरक्षणकर्ता भए भन्ने आरोप लागिरहेको छ । मैले त व्यक्तिगत रूपमा भन्नुहुन्छ भने, पञ्चायतीकालको कुरा छोड्दिऊँ, लोकतान्त्रिक व्यवस्था सुरु भएको कम्तीमा २०४६ सालदेखि अहिलेसम्मका राजनीतिक क्षेत्रका, कर्मचारी क्षेत्रका, सुरक्षा निकाय क्षेत्रका, उद्योग–व्यापार क्षेत्रका उच्चपदस्थहरूको सम्पत्ति छानबिन र कारबाही हुनुपर्ने कुरा उठाउँदै आएको छु । यो केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरू, सरकारका रहेकाहरू, जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज व्यापक रूपले उठ्यो । त्यो स्पिरिटलाई पक्रेर लिडरसिपले यो सबै काम गर्ने अधिकार अनुशासन आयोगलाई दिएको छ । म चाहन्छु कि, हामी पार्टीभित्रको अनुशासन कायम गर्नका लागि पार्टीले अनुशासनमार्फत् सम्पत्ति विवरण माग्ने, छानबिन गर्ने तथा कारबाही गर्ने प्रक्रिया हुन्छ । यो आफ्नो पार्टीको शुद्धीकरणका लागि महत्वपूर्ण कुरा हो । तर, देशबाटै भ्रष्टाचार न्युनिकरण गर्न, भ्रष्टाचारविरुद्ध सरकारको सून्य सहनशीलताको नीति स्थापित गर्न र नेपाल कम्युनिष्ट पाटी नेतृत्वको सरकार बनिसकेपछि नेपालमा भ्रष्टाचार समाप्त भयो भन्ने आम जनताले अनुभूति गर्ने परिस्थिति निर्माण गर्न सरकार नै अघि बढ्नुपर्दछ । सरकारसँग सम्बन्धित रहेका सम्पत्ति छानबिन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थालाई अझ प्रभावकारी भूमिकामा प्रस्तुत गर्ने गरी सरकार अघि बढ्नुपर्छ भन्ने बैठकको स्पष्ट सन्देश हो ।

म भ्रष्टाचार गदिनँ, कसैलाई भष्टाचार गर्न दिन्नौँ भन्ने सरकारको नाराको कार्यान्वयन र आज समाजमा विद्यमान भ्रष्टाचारको व्याप्तता, यसभित्र हामी नेपाल कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली, आज पार्टीभित्रै एउटा धनीवर्ग र गरिबहरूको वर्ग छुट्टिनेखालको स्थिति, एउटा व्यक्तिको उद्योग छैन, कलकारखाना छैन, नियमित आम्दानीको स्रोत छैन, तर दिनानुदिन समृद्धि कसरी आइरहेको छ ?

२०४६ सालदेखि अहिलेसम्मका राजनीतिक क्षेत्रका, कर्मचारी क्षेत्रका, सुरक्षा निकाय क्षेत्रका, उद्योग–व्यापार क्षेत्रका उच्चपदस्थहरूको सम्पत्ति छानबिन र कारबाही हुनुपर्ने कुरा उठाउँदै आएको छु । यो केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरू, सरकारका रहेकाहरू, जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज व्यापक रूपले उठ्यो । त्यो स्पिरिटलाई पक्रेर लिडरसिपले यो सबै काम गर्ने अधिकार अनुशासन आयोगलाई दिएको छ ।

हामीले भन्दै पनि आएका छौँ, नेपाल कम्युनिष्ट पार्टी विचार प्रधान पार्टी हो, त्यसकारण यो आफ्नो नीतिअनुसार चल्नुपर्छ । दोस्रो, यसले आफ्नो विधि, विधान, पद्धति, कमिटी सञ्चालनको प्रणाली जुन बनाएको छ, त्योअनुसार चल्नुपर्छ ।

एक हिसावले भन्दा अहिलेको जनअपेक्षा उर्लंदो तहमा छ । ठीक उल्टो सरकारको डेलिभरी कमजोर भइरहेको छ ।

तपाईंले यसो भनिरहँदा अनुशासन आयोग आफैँले पूर्णता पाइरहेको छैन । प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिनँ, अरुलाई गर्न पनि दिन्नँ भने पनि वा सून्य सहनशीलताको कुरा गरिरहँदा सरकारले नै केही समूहलाई संरक्षण गरिरहेको आम गुनासो बढेको छ । राष्ट्रको ढुकुटी एउटा समूहलाई पोसिरहेको गुनासो बढेको छ । कम्युनिष्ट पार्टीको यत्रो बलियो सरकार हुँदा भ्रष्टाचारीहरू थुरथुर हुने अवस्था नआउने बिडम्बनाको कुरा होइन ?

पक्कै पनि यो बिडम्बनाकै कुरा हो । वास्तवमा हिजो नेपाली कांग्रेसको नेतृत्वमा देश भ्रष्टाचारको दलदलमा फसेको थियो । आज कम्युनिष्ट पार्टीको सरकार बनेपछि पनि हिजोकै निरन्तरता त भइरहेको छैन भन्ने चिन्ता, चासो बढिरहेको छ । प्रश्न उठिरहेको छ । त्यसैले हामीले पार्टीभित्र सरल जीवनशैली, जनपक्षीय जनशैलीको कुरालाई प्रभावकारी बनाउन आवाज उठाएका छौँ र निर्णयको दौरान त्यो स्पिरिट कायम गर्ने गरी निर्णय भएको छ । अर्कोतर्फ, तपाईंले भन्नुभएजस्तै अख्तियारजस्ता भ्रष्टाचारविरुद्ध क्रियाशील संवैधानिक आयोग वा सरकारका निकायले पारदर्शी रूपमा निष्पक्ष छानबिन अघि बढाउनुपर्छ ।

यो बैठकपछि लाखौँको संख्यामा रहेका नेकपाका आम कार्यकर्ताको मनोबल बढेको आभाष यहाँहरूलाई भएको छ कि छैन ?

यो बैठकले उत्साहित बनाएको छ । तर, यो उत्साह हामीले तोकेको समयभित्र तोकिएका काम सम्पन्न हुन्छन् कि हुँदैनन कुरामा निर्भर हुन्छ । तपाईंले अनुशासन आयोगले पूर्णता पाउन सकेको छैन भन्ने प्रसंग निकाल्नुभयो । १५ दिनभित्रै यी आयोगहरूलाई पूर्णता दिने, पोलिट्ब्युरो गठन गर्ने, हिजोका कमी कमजोरी सच्याउँदै कार्यविभाजन गर्ने निर्णय गरिएका छन् । यसको कार्यान्वयनले आज उत्पन्न उत्साहलाई बढाउँदै लैजान्छ । तर, बैठकमा प्रतिबद्धता गर्ने अनि निर्णय कार्यान्वयनतिर नजाने हो भने उत्साह निराशामा बदलिन्छ । तर, तपाईंसँग कुरा गरिरहँदासम्म आगामी दिनमा नेतृत्वले भूमिकाले र कार्यान्वयनको अग्रसरताले यो उत्साहलाई निराशातर्फ लैजानेभन्दा थप उत्साह पैदा गर्ने कुरामै विश्वस्त छु ।

पार्टीमा वर्षौंसम्म काम गरेका, जो आर्थिक रूपले कमजोर छन्, जो असल छन्, इमान्दार छन्, त्यस्ताले टिकट पाउँदैनन् । आजको लिडरसिपप्रतिको यो गम्भीर आरोप हो । एउटा व्यक्तिले २०, ३० करोड खर्च गरेर चुनाव जित्छ । चुनाव जितेपछि उसको काम के हुन्छ ? आफूले चुनावका बेला खर्च गरेको पैसा उठाउने कुरा हुन्छ । जनताप्रति गरेका प्रतिबद्धता कमजोर हुन्छन् ।

आजको परम्परागत शासकीय प्रणालीबाट हामीले बोकेको एजेन्डा कार्यान्वयन गर्न सक्दैनौँ भन्नेमा आम सहमति छ ।

पार्टी एकताको क्रममा दुई पाइलटको कुरा गरियो । तर, लामो समय पार्टीले ‘टेकअप’ गर्न सकेन । तर, अध्यक्षद्वयको कार्यविभाजनपछि पार्टी सक्रिय भएको हो ?

यसमा दुई–तीनवटा कुरा ख्याल गर्नुपर्छ । पार्टी एकतापछि आम पार्टी कार्यकर्ता पंक्तिमा, आम जनसमुदायमा जुन उत्साह पैदा गरेको थियो, पछिल्लो २१ महिनाको हाम्रो भूमिकाले ज्यादै ठूलो निराशामा त्यो परिणत भयो । यो केन्द्रीय कमिटीले त्यसमा थप सकारात्मक दिशा निर्देशित गरेको छ । दुई अध्यक्षको कार्यविभाजनले अब पार्टीको काममा गति आउँछ भन्ने आशा सिर्जना गरेको थियो । र, त्यसमा केही सकारात्मक परिणाम पनि देखिँदै गएका छन् । तर, दुई अध्यक्षका बीचमा सरकारको काम अघि बढाइरहँदा वा पार्टीको काम अघि बढाइरहँदा त्यसमा दुवैबीच राम्रो समझदारी, एकअर्कामा अझ विश्वास बलियो हुँदै जाने परिस्थितिको निर्माण हुन जरुरी छ, एउटा पक्ष । अर्को, यी सबै पक्ष तपाईंले संकेत गर्नुभएको वा आज समाजले देशले शंका गरिरहेका जति पनि विषय छन्, त्यसका समाधानको एक मात्र समाधान भनेको पार्टीका सबै कमिटीको नियमित बैठक हो । संस्थागत निर्णय गर्ने प्रक्रियालाई स्थापित गर्ने कुरा हो र सामूहिक रूपले हामी मुलुकको समस्या समाधान गर्ने, पार्टी निर्माण गर्ने कुरा हाम्रो साझा दायित्व हो भन्ने कुरालाई बोकेर जाने कुरा हो । त्यसैले यो बैठकले पनि त्यो कुरालाई निर्देशक गरेको छ । हामीले भन्दै पनि आएका छौँ, नेपाल कम्युनिष्ट पार्टी विचार प्रधान पार्टी हो, त्यसकारण यो आफ्नो नीतिअनुसार चल्नुपर्छ । दोस्रो, यसले आफ्नो विधि, विधान, पद्धति, कमिटी सञ्चालनको प्रणाली जुन बनाएको छ, त्योअनुसार चल्नुपर्छ । पार्टी नीति र विधिअनुसार चल्यो भने ती सबै समस्या समाधान हुन्छन् भन्ने स्पिरिट बैठकले बोकेको छ ।

यति ठूलो जनसमर्थन प्राप्त गर्दा पनि सरकारले अपेक्षाअनुसार काम गर्न सकिरहेको छैन । के नेकपा आन्दोलनको नेतृत्व गर्न मात्र सक्ने पार्टी हो ? विकासको नेतृत्व गर्ने कुशलता यो पार्टीमा छैन ?

यसपटक यो बीचमा सरकारकाले गरेका कामको निर्मम समीक्षा भएको छ । एउटा त, हामीले आन्दोलन र चुनावको क्रममा जनताको तहमा धेरै ठूलो अपेक्षा निर्माण गर्ने तहमा पु¥यायौँ । एक हिसावले भन्दा अहिलेको जनअपेक्षा उर्लंदो तहमा छ । ठीक उल्टो सरकारको डेलिभरी कमजोर भइरहेको छ । त्यसैले बैठकमा यो विषयमा पनि निकै कुरा उठ्यो । बैठकले आगामी दिनमा सरकारको कामलाई त्यो जनअपेक्षा बमोजिम, हामीले जनतासँग गरेको प्रतिबद्धताबमोजिम अगाडि बढाउनुपर्छ भनेर निर्देशित गरेको छ । अर्कोतर्फ, तपाईंले संकेत गर्नुभएजस्तै, संसारले माक्र्सवाद म¥यो, माक्र्सवादको औचित्य सकियो । अब दुनियाँमा कम्युनिष्ट पार्टीको नाममा टाउको उठाउने स्थिति छैन भनेर विश्वपुँजीवाद भोजभतेर गर्दै हिँिडरहेको बेला नेपालमा चुनावको माध्यमबाट कम्युनिष्ट पार्टीले दुईतिहाइको जनमत प्राप्त गरेको छ । यो सफलतालाई विश्व पुँजीवाद र विश्व साम्राज्यवादले ठूलो चुनौति ठानिरहेको छ, र यो सफलतालाई कसरी ढाल्न सकिन्छ भनेर धावा बोलिरहेको छ । त्यसकारण हामीले हस्तक्षेपकारी कार्यशैलीलाई असफल तुल्याउने सामथ्र्य भएको पार्टी निर्माण गर्नुपर्नेछ । र, यसका लागि हामीले सिद्धान्त, विचार, संगठन, जनपरिचालनका हिसावले श्रेष्ठतम् पार्टी निर्माण गर्नुपर्नेछ । त्यस्तो पार्टी निर्माण गर्न सक्यौँ भने मात्रै हामी यी सबै बाधाहरू चिर्न सक्छौँ र हामी सफल हुन्छौँ । यदि पार्टीभित्र नै त्यस प्रकारका वैदेशिक हस्तक्षेप निम्त्याउँदै गयौँ, पुँजीवादी हस्तक्षेपलाई हामीले नै भित्र्याउँदै गयौँ, हामी त्यही दिशामा बदलिँदै गयौँ भने हामी असफल हुने निश्चित छ ।

पार्टी कमजोर बनाएर नेता बलियो हुने आजको तरिकाबाट पार्टी बलियो बन्दैन । कतिपय ठाउँमा हामीले सुनेका छौँ, यो सब मेरा कारण भएको हो, मेरा प्रतापले भएको हो भन्नेजस्तो कुरा गरेर पार्टीप्रति त्यो आकर्षण पैदा गर्न सक्दैनौँ । म केन्द्रीय कमिटीको सदस्य अनुशासनमा बस्न नपर्ने, तर तलको कार्यकर्ता अनुशासित हुनुपर्छ भनेर मैले भन्नुको के अर्थ हुन्छ ? कस्तो मान्छेले मात्रै नेकपाको सदस्यता पाउँछ भन्ने कुरा स्पष्ट गर्नुपर्ने र सिंगो पार्टीलाई त्यसअनुसार ढाल्नुपर्ने आवश्यकता छ ।

पार्टी बैठकमा निर्वाचन प्रणाली खर्चिलो भयो भन्ने ब्यापक गुनासो सुनियो । शासकीय स्वरूपबारेसमेत छलफल भयो । अहिले सहज ढंगले संविधान संशोधन गर्ने संख्या हामीसँगै छ । के त्यतातिर अब जान खोजिएको हो ?

सबैभन्दा पहिले, परम्परागत संसदीय प्रणालीबाट समाजको परिवर्तन सम्भव छैन । एउटा भनाइ छ नि, बोकाको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो । हामी त्यही दिशामा जाने अथवा अहिले हामीले अवलम्बन गरेको शासकीय प्रणालीका खराबी छन्, त्यसलाई रुपान्तरण गर्नेतिर जाने भन्ने चुनौति हाम्रो सामु छ । मेरो विचारमा यसमा रुपान्तरण अनिवार्य आवश्यकता छ । परम्परागत तरिकाले, संसारमा चलिराखेको संसदीय प्रणालीबाट हामीले भनिराखेको आमूल परिवर्तन सम्भव छैन । यो शासकीय स्वरूप अवलम्बन गर्दा केही सुधारका, केही नियन्त्रणका प्रयत्न गरिएका हुन् । तर, त्यसको प्रत्यक्ष प्रभाव चुनावका बेला देखिएन । आजको चुनाव जुन खर्चिलो छ, भड्किलो छ । आज बजारमा व्यापक चर्चा छ, संसद्को टिकट पाउन करोडौं खर्च गर्नुपर्छ । अथवा, नेताको खास मान्छे हुनुपर्छ । गुटको कोर टिमको मान्छे हुनुपर्छ वा नेताको नातागोताको हुनुपर्दछ । पार्टीमा वर्षौंसम्म काम गरेका, जो आर्थिक रूपले कमजोर छन्, जो असल छन्, इमान्दार छन्, त्यस्ताले टिकट पाउँदैनन् । आजको लिडरसिपप्रतिको यो गम्भीर आरोप हो । एउटा व्यक्तिले २०, ३० करोड खर्च गरेर चुनाव जित्छ । चुनाव जितेपछि उसको काम के हुन्छ ? आफूले चुनावका बेला खर्च गरेको पैसा उठाउने कुरा हुन्छ । जनताप्रति गरेका प्रतिबद्धता कमजोर हुन्छन् । त्यतातिर उसले ध्यान दिन सक्दैन । बैठकमै एकजना नेताले भन्नुभयो, मैले चुनावमा जति खर्च गरेको थिएँ, त्यति पैसा आज मैले पाउने हो भने मेरो सांसद पद बेच्न तयार छु । त्यो भनेको सानो डरलाग्दो कुरा होइन । त्यो ज्यादै गम्भीर कुरा हो । त्यसैले गर्दा यो शासकीय प्रणालीलाई हामीले फेर्नैपर्दछ । पार्टीभित्र पनि कार्यकर्ताको मूल्यांकनको मापदण्ड हुनुप¥यो । आज पद पैसाबाट प्राप्त गरिने, धनी भएका कारणले पद प्राप्त गरिने, नेताको नजिक भएका कारणले पद प्राप्त गरिने, यो कुरालाई हामीले तोड्न सक्ने गरी पार्टीभित्रको मूल्यांकनको प्रणाली बनाउनुप¥यो । अर्कोतर्फ, आजको खर्चिलो, भड्किलो परम्परागत जुन चुनावी तरिका छ, यसलाई करी सरल बनाउन सकिन्छ भन्ने चिन्ता गम्भीरतापूर्वक केन्द्रीय कमिटीमा उठेको छ । यी लगायत, अहिले हामीले अवलम्बन गरेको शासकीय प्रणालीको प्रतिस्थापन गर्ने, अर्को वास्वतमा जनपक्षीय शासक प्रणाली छ कि छैन ? प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीले त्यो दिन सक्छ कि सक्दैन भन्ने विषय बैठकमा प्रवेश भएका छन् । यी सबै विषयमा महाधिवेशनबाट एउटा निष्कर्षमा पुग्नुपर्छ र आजको परम्परागत शासकीय प्रणालीबाट हामीले बोकेको एजेन्डा कार्यान्वयन गर्न सक्दैनौँ भन्नेमा आम सहमति छ ।

कम्युनिष्ट पार्टीले वर्गीय मुद्दालाई प्रधान मानेको हुन्छ । र, सबैको समान अवसरको सिर्जना गर्ने कुरा गर्छ । तर, नेकपामा त्यो अभाव भयो भन्ने गुनासो बैठकमै उठ्यो । महाधिवेशनसम्म पुग्दा पार्टीले यस कुरामा ध्यान देलाजस्तो लाग्छ ?

हो, वास्तवमा लामो संघर्ष पछि यो परिवर्तन प्राप्त गरेका हौँ । यो परिवर्तनका लागि हाम्रो नेतृत्वले, नेपाली जनताले ठूलो त्याग गरेको छ, समर्पण गरेको छ । यो सफलता प्राप्त हुनुमा हिजोको पार्टीको ठूलो भूमिका छ । किनभने, हिजोको पार्टी पूर्ण रूपले बलिदान गर्न तयार थियो । त्यसैगरी अब हामीले सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि, समाजवाद उन्मुख जनताको जनवाद कार्यान्वयन गर्नका लागि, दलाल नोकरशाही पुँजीवादसँग लड्ने लडाइँमा सफलता प्राप्त गर्न त्यसअनुकुलको पार्टी निर्माण गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा नै आजको मूल विषय हो । यदि, हामीले त्यस्तो पार्टी बनाउन सक्यौँ भने जनताको जनवाद पनि कार्यान्वयन गर्न सक्छौँ, पुँजीवादसँगको लडाइँमा दलाल पुँजीलाई विस्थापित गरेर राष्ट्रिय पुँजी निर्माण गर्न पनि सक्छौँ, जसले समाजवादका आधार पनि तयार हुन्छ र नेपाली विशेषतामा आधारित समाजवाद हासिल गर्न पनि सफलता हासिल गर्न सक्छौँ । तर, पार्टी नै त्यसअनुकुलको बनाउन सकेनौँ भने यी उद्देश्य सफल हुन सक्दैनन् । तर, म के भन्न चाहन्छु भने, आज हामीले गरेनौँ, हामी त्यो दिशामा अगाडि बढ्न सकेनौँ भने पनि समाजवाद आउँला । त्यसका लागि अरु कसैले नेतृत्व गर्छ । तर, म अरु कोही जन्मिएर नेतृत्व गरेर समाजवाद आउने दिशामा होइन कि हामीले हाम्रो नेतृत्वमा हाम्रै आजको कम्युनिष्ट पार्टीलाई त्यसका निम्ति योग्यतम, त्यसका निम्ति सफल, त्यसको नेतृत्व गर्न सक्ने सवल पार्टी बनाउन सक्छौँ भन्ने नै म विश्वास गर्न सक्छौँ ।

कम्युनिष्ट पार्टीको सदस्य हुन पाउँदाको गर्वानुभूति हुन्छ, त्यो हिजो आज महुसुस हुँदैन । हिजोआज पार्टीका साधारण सदस्य मात्र होइन, पैसाको बलमा माथिल्लै पद पनि पाइन्छ भन्ने असन्तुष्टि बढ्दो छ । यसलाई बदल्न के गर्न सकिन्छ ?

त्यसका लागि सबैभन्दा पहिला पार्टी नै मुख्य साधन हो भन्ने यथार्थ पुनस्र्थापित गर्नुप¥यो । पार्टी कमजोर बनाएर नेता बलियो हुने आजको तरिकाबाट पार्टी बलियो बन्दैन । कतिपय ठाउँमा हामीले सुनेका छौँ, यो सब मेरा कारण भएको हो, मेरा प्रतापले भएको हो भन्नेजस्तो कुरा गरेर पार्टीप्रति त्यो आकर्षण पैदा गर्न सक्दैनौँ । पार्टीमा सदस्यता प्रवेश गर्दा नै उसलाई पार्टी बुझाइएको छ कि छैन ? म के का लागि यो पार्टीमा संलग्न हुने हो ? यो पार्टीमा संलग्न भएपछि मैले के गर्न हुन्छ, के गर्न हुँदैन ? भन्ने कुरा उसले थाहा पाउनुप¥यो । तर, त्यो कुरा उसले थाहा पाएर त्यसअनुसारको आचरणसहित पार्टीमा आउन त सबैभन्दा पहिला हामी नेतृत्वमा रहेका मान्छेहरू त्यसअनुरूपको हुनुप¥यो । हामी अनुशासनमा बस्नु नपर्ने, म केन्द्रीय कमिटीको सदस्य अनुशासनमा बस्न नपर्ने, तर तलको कार्यकर्ता अनुशासित हुनुपर्छ भनेर मैले भन्नुको के अर्थ हुन्छ ? जस्तो आज हामीले सुनिरहेका छौँ नि, पार्टी एकीकरणको प्रक्रियामा पार्टीको सदस्य नै नभएको मान्छे जिल्ला कमिटीमा आयो । अर्को बुर्जुवा पार्टीबाट नेकपामा आएको मान्छे सदस्यता लिने प्रक्रियामा प्रवेश नै नगरी पार्टीको नेतृत्वमा आयो भनेपछि यसले कस्तो अवस्था ल्याउला ? पार्टी सदस्यता प्राप्त गर्ने विधि प्रक्रिया, मापदण्ड के हो ? कस्तो मान्छेले मात्रै नेकपाको सदस्यता पाउँछ भन्ने कुरा स्पष्ट गर्नुपर्ने र सिंगो पार्टीलाई त्यसअनुसार ढाल्नुपर्ने आवश्यकता छ । यो आफैँमा चुनौतिपूर्ण कुरा त हो, तर गर्न सकिन्छ ।

प्रस्तुतिः छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्