Logo
Logo

‘गोल्डेनगेट’ घोषणा जारी गर्दै एपेक आर्थिक नेताहरुको बैठक सम्पन्न


एजेन्सी


सान फ्रान्सिस्को । सबैका लागि लचिलो र दिगो भविष्य सृजना गर्नेबारे गोल्डेन गेट घोषणा गर्दै सान फ्रान्सिस्कोमा आयोजित ३०औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार सम्पन्न भएको छ ।

‘हामीले हाम्रो क्षेत्रमा रहेको प्रचुर सम्भावना र गतिशीलतालाई जारी राख्न, आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न र जलवायु परिवर्तन लगायत सबै वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न प्राविधिक र आर्थिक प्रगतिको उपयोग गर्नुपर्छ’ घोषणामा भनिएको छ । दुईदिने बैठकमा गहन छलफलपछि उक्त घोषणापत्र पारित गरिएको थियो ।

नेताहरूले दिगोपन, जलवायु, न्यायोचित ऊर्जा सङ्क्रमण, अन्तरसम्बन्ध र समावेशी तथा लचिलो अर्थतन्त्रको निर्माण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए। सो अवसरमा नेताहरूले स्वतन्त्र, खुला, निष्पक्ष, गैर–भेदभावपूर्ण, पारदर्शी, समावेशी, र पूर्वानुमानयोग्य व्यापार र लगानी प्रवर्धनको उपयुक्त वातावरण निर्माण गर्ने आफ्नो संकल्पलाई पुनः पुष्टि गरेका छन् ।

सहभागी नेताहरूले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको महत्त्वलाई आत्मसात् गर्दै बहुपक्षीय व्यापार प्रणालीको महत्त्वलाई पुनः पुष्टि गरेका छन् । विश्व व्यापार सङ्गठन यसको केन्द्रमा रहेको छ जसले एपेक क्षेत्रको असाधारण वृद्धिलाई उत्प्रेरित गर्न जारी राख्ने विश्वास व्यक्त गरिएको छ ।

साथै, एपेक अर्थव्यवस्थाहरू उच्च गुणस्तर र व्यापक क्षेत्रीय उपक्रमहरूमा जोडिनका लागि अर्थतन्त्रको प्रवर्धनमा आफ्नो क्षमता निर्माण र प्राविधिक सहयोग विकास एवं विस्तारका विभिन्न प्रयासहरू बढाउन प्रतिबद्ध रहेको घोषणा पत्रमा जनाइएको छ । ‘हामी एक समान खेल मैदान सुनिश्चित गर्न काम जारी राख्नेछौं विश्वले जलवायु परिवर्तनको प्रभावबाट उत्पन्न गहिरो चुनौतीहरूको सामना गरिराखेको छ’ घोषणापत्रमा भनिएको छ ।

यस क्षेत्रको अर्थतन्त्रले आफ्नो स्वच्छ, दिगो, न्यायोचित, किफायती र समावेशी ऊर्जा सङ्क्रमणलाई विभिन्न बाटो मार्फत गति दिन थप गहन प्रयासहरू जारी राख्न आवश्यक रहेको पनि सहभागी नेताहरूले स्वीकार गरेका छन् ।

विश्वव्यापी शून्य हरितगृह ग्यास उत्सर्जन तथा कार्बन तटस्थतासँग सुसङ्गत मध्य शताब्दी भित्रै वा यसको आसपास नवीनतम वैज्ञानिक विकास र विभिन्न घरेलु परिस्थितिहरूलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता औँल्याइएको छ ।
‘एपेक अर्थतन्त्रले कम र शून्य कार्बन उत्सर्जन हुने सवारीसाधनहरूतर्फ सङ्क्रमणलाई गति दिने वाचा गर्छन्; दिगो उड्डयन इन्धन; र कम र शून्य उत्सर्जन सामुद्रिक ढुवानी मा जोड दिन्छन्’, घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसैगरी नेताहरूले व्यवसाय र उपभोक्ताहरूका लागि सक्षम, समावेशी, खुला, निष्पक्ष र गैर–भेदभावरहित डिजिटल इकोसिस्टम सृजना गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । बिहीबार र शुक्रबार डाउनटाउन सान फ्रान्सिस्कोको मोस्कोन सेन्टरमा आयोजित बैठकमा नेताहरूले राजनीतिक र व्यापारिक विषयमा विशेष ध्यान केन्द्रित गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा एपेकको आयोजकको रूपमा पेरुलाई एपेक आयोजक वर्षको जिम्मेवारी प्रदान गर्दैछ ।
यस वर्ष सन् १९९३ मा आयोजना भएको पहिलो नेताहरूको बैठकको ३० औं वार्षिकोत्सव हो । सम्मेलन आयोजक अमेरिकाले एपेक बैठक संयन्त्रलाई मन्त्री स्तरबाट अनौपचारिक नेताहरूको बैठकको स्तरमा स्तरोन्नति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्