काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन सुरु भएको छ ।
केहि बेरअघिबाट काठमाडौंको विभिन्न क्षेत्रबाट कडा सुरक्षाबीच दुबै पक्षका र्याली सुरु भएको हो । युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ । युवा संघले तीन कुने र प्रसाईँ संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्न गर्दैछन् ।
बल्खुमा हुने कार्यक्रममा अभियान्ता प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्नेछन् । उनीहरूले संघीयता नै खारेज गरी राजतन्त्र फर्काउने सम्मको वकालत गर्दै व्यवस्थाकै विरोधमा खरो रूपमा उत्रिनेछन् ।
यसैबीच, दुवै पक्षको प्रदर्शन अनियन्त्रित हुनसक्ने आंकलन गर्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। संभावित जोखिमलाई मध्यनजगर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना नै लागू गरेको छ । नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ भने उपत्यकामा १० हजार प्रहरी परिचालन गरिएको छ ।