Logo
Logo

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारत निर्यात गरेको छ ।

प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आम्दानी गरेको छ । ​

विद्युत निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रूपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रूपैयाँ आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रूपैयाँ आर्जन भएको छ ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रूपैयाँको विद्युत निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत बिक्री दर प्रतियुनिट ९ रूपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट ७ रूपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रूपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्