Logo
Logo

जिम्मेवार व्यवसायी सम्मेलन मंसिर २१ र २२ गते हुने



काठमाडौं । राष्ट्रिय व्यावसासिक पहलले चौथो ‘जिम्मेवार व्यवसायी सम्मेलन, २०२३’ आयोजना गर्ने भएको छ । काठमाडौंको हायात होटलमा मंसिर २१ र २२ गते आयोजना हुने सम्मेलनमा नेपालसहित अन्तर्राष्ट्रिय स्रोत व्यक्तिहरूको उपस्थिति रहने आयोनकले जनाएको छ ।

सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्षमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण र अर्थतन्त्र गरी तीन विधाको ११ वटा विषयहरूमा प्रस्तुतिहरूमार्फत छलफल गर्ने छन् ।

समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहने छन् ।

वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहने छन् ।

त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्धन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहने छन् ।

कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने छ । ३० भन्दा बढी वक्ताहरू रहने कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने बताइएको छ ।

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानव अधिकारको संरक्षणलगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको ठहर छ ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहने छ ।

प्रतिक्रिया दिनुहोस्