Logo
Logo

दुर्गाको ‘म्याउँ’ र ज्ञानेन्द्रको ‘मुख-मिठ्याई’



नेपालमा दुर्गा प्रसाईंको चर्चा अझै सेलाएको छैन । यो वा त्यो कोणबाट उनको चर्चा जारी छ । मंसिर ७ अघि उनी बाघ हुन् कि जस्तो लाग्नेलाई अहिले स्यालजस्तो लाग्न थालेको छ, अझ केहीलाई त बिरालो जस्तै लाग्न थाल्यो । ढिलोचाँडो उनको आकार घट्दै अन्तमा पुनः मुसिक भवः भनेजस्तै मुसा नै हुने हो ।

दुर्गा प्रसाईं यो देशका ठूला दल र तिनीहरूका मूल नेताको नालायकीपन र ‘तातै खाउँ तातै जलिमरू’ भन्ने सोचका जनताको अधैर्यका सहउत्पादन हुन् । उनको यो आकार बनाउन माओवादी र एमालेका मुलीले केही समय टाट्नामा बाँधे । त्यसपछि फुत्केका उनलाई मूलधारका मिडियादेखि सामाजिक सञ्जाल अझ खासगरी युट्युवेहरूले पूर्वराजाको तबेलामा राखेर घाँस हाले । उनलाई आभाष भयो कि अब म वायुपंखी घोडा भएँ । उड्न खोजेका थिए, पहिलो दिन नै उत्तानो फ्याङ भए ।

केही दिन त टिक्थे होला । तर, राजेन्द्र लिङ्देनले पूर्वराजालाई नै झापातिर लगेर उनलाई बबुरो बनाइदिए । आयाराम गयाराम ज्ञानेन्द्रलाई के थियो र ? उनलाई दुर्गा प्रसाईंको त्यान्द्रोभन्दा राजेन्द्र लिङ्देनको त्यान्द्रो दह्रो लाग्यो । अहिले उनी यस्तै त्यान्द्रो चढेर नारायणहिटी फर्कने श्वास रहुञ्जेलको आशमा बाँचिरहेका छन् । राजाका नाममा लुटेका वा कांग्रेस–कम्युनिष्टका नाममा लुट्न नपाएका कतिपयलाई बसिवियालो भएको छ ।

दुर्गा प्रसाईं प्रवृतिका सहउत्पादन उनी पहिलो पनि हैनन् र अन्तिम पनि हुनेवाला छैनन् । रवि लामिछाने, बालेन साह जस्तै सहउत्पादन हुन्, उनी । राजावादी–व्यक्तिवादी फ्लेभर नै भए पनि रवि र बालेनले राजाको नाममा मुख खोलेर अप्सनी हाल्न सकेका थिएनन्, यिनले पिण्ड नै बनाउन भात मुछ्न खोजे । फरक यति हो । दुर्भाग्य, पिण्ड बनाउन चाहिने भात नै कुहिसकेको बासी भात थियो ।

यद्यपि, दुर्गाले एक दिनकै लागि भए पनि जे जति मान्छे उतारे, त्यसलाई कम आँक्न भने हुन्न । किनकि, यो यथास्थितिवरोधी मत हो । संसारमा सबै क्रान्तिको निर्णय अन्ततः त्यस्तै मतले गर्ने हो । दुर्गाले नयाँ ल्याउन हैन, पुरानै ल्याउन त्यो मतको प्रयोग गर्न खोजे । त्यो चाँहि उल्टोबाटो हो । २१औं शताव्दिमा त्यसरी उल्टिएको दृष्टान्त छैन । यसअघिका शताव्दिको भएका परिघटनाको पृष्ठभूमि र सन्दर्भ आज काम लाग्दैनन् । नेपालको राजसंस्था पनि यस मानेमा अछुतो हुन सक्दैन ।

गन्तव्य सही भए बाटोले ढिलोचाँडो पुर्याउने हो । तर, दुर्गाले बाटो पनि अक्करे भिरको रोजे, गन्तव्य पनि भूत रोजे । परिणामतः दुर्गा मुर्गा हुन्थे नै, भए । उनी यसरी पछारिए कि अब उनलाई उठ्न सहज छैन । उनी मुर्गा बने पनि यसरी मुर्गा हुने उनी नै पहिलो र अन्तिम हैनन् । नेपालमा मुर्गाखेती निरन्तर चलिरहन्छ । यो नियमितताको क्रमभङ्ग सहज छैन । यसको एक कारण नेपाली मिडियाको उदेकलाग्दो सामग्री–पाठक चक्र पनि हो ।

आमसञ्चारका चालु सिद्धान्तले सम्बोधन गर्न नसक्ने असामान्य चक्रमा फसेको नेपाली मिडियाको ऐनाको सिसा नै खुइलिएको छ । यो खुइदिएको सिसाले प्रणालीलाई फोहोर देखाइरहेको छ । फोहोर प्रणालीमा हैन, दल र तिनको नेतृत्वमा छ । यसका लागि जनता पनि उत्तिकै जिम्मेवार छन् । यिनै नेतालाई पटकपटक चुनेपछि फरक परिणाम कसरी आउँछ ? एकपटक हैन, दुईपटक हैन, पटकपटक ।

राजनीतिकशास्त्रका पण्डितहरू भन्छन्, लोकतन्त्र भएका राजनीतिक पद्धतिमध्ये उत्कृष्ट हो । अर्को भाषामा भन्दा खराबमध्येको कम खराब हो । हामीसँग त्यही लोकतन्त्र छ । त्यो पनि नेपालको विशिष्ट अवस्थालाई सम्बोधन गर्ने भन्दै संसारभरका राम्रा अभ्यालाई समेटेर संविधानसभामार्फत् संविधान बनाएर सुनिश्चितता दिइएको । यसमा आवधिक निर्वाचनको पूर्ण प्रत्याभूति छ, सकारात्मक विभेदको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली छ ।

राजनीतक व्यवस्थाको मात्र कुरा हैन, त्यो अभ्यास गर्ने नेपाली जनताको राजनीतिक चेतनाको कुरा पनि हो । एक अध्यनयनले त्यो चेतना अमेरिकी जनताको चेतना भन्दा उम्दा छ । यति हुँदा पनि हामी ओली, देउवा, प्रचण्ड र उनीहरूका जोजोम्यानलाई नै पटकपटक छानेर सत्तामा पुर्याउँछौ; विडम्बना त्यहाँनिर छ । अझ, हामी नै भन्छौ ‘लोकतन्त्रले काम गरेन, राजतन्त्र नै ठीक’; त्यो पनि विधिवत रूपमा फालेको १५ वर्ष पनि भएको छैन ।

नेपालका बहुमत जनताले पटक पटक जुन किसिमको म्याण्डेट दिइरहेका छन्, त्यसैको परिणाम हो आजको अवस्था । यो अवस्था ल्याउन मूलतः नेपाली जनता नै जिम्मेवार छन्, अरूको भूमिका भए पनि त्यो पटक्कै निर्णायक छैन । जनताको यही मनस्थितिको फाइदा उठाउँदै अनेक नामका फण्डाबाजहरू नेपालमा देखापरिरहेका छन् । रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ त्यही मनस्थितिले उत्पादन गरेका पछिल्ला फण्डाबाज हुन् । त्यही श्रृङ्खलाका पछिल्लो एपिसोड हुन्, दुर्गा प्रसाई ।

पहिलो कुरा त नेपाली जनताले आफ्नो सीमा बुझ्न जरूरी छ, त्यो सीमा भनेको नेपालको मूलकानून संविधान हो । यसले नेपालमा आवधिक निर्वाचनसहितको बहुदलीय लोकतन्त्रको व्यवस्था गरेको छ । संघीयता शासनको मोडल हो, निर्वाचन प्रणाली मिश्रित छ । अहिलेका लागि जनताले यही सीमामा रहेर आफ्नो मताधिकार प्रयोग गर्ने हो । पार्टीहरूले गलत गरे, आवधिक निर्वाचनमा सजाय दिन पाइहालिन्छ ।

नेपालमा अहिले नै संसारका सबैखाले राजनीतिक सिद्धान्तलाई सम्बोधन गर्ने चाहिनेभन्दा धेरै दल छन्, बिकल्प उनीहरूमध्येबाटै खोज्ने हो । अझ, स्वतन्त्र व्यक्ति त अहिलेको शासन व्यवस्थामा दीर्घकालका लागि कतै फिट नै हुँदैनन् ।

मानौ, हाम्रो शासनको मूल इञ्जिन कारको छ, हामी ड्राइभिङ सिटमा बयलगाढा हाँक्नेलाई राखिरहेका छौं । अहिलेका स्वतन्त्र मेयरहरू त्यस्तै ड्राइभर हुन् । उनीहरूले लोकतन्त्रले तय गरेको गन्तव्यमा पुर्याउँदैनन् । यदि हामीले जबर्जस्ती गर्यौ भने अन्ततः दुर्घटना हुन्छ । त्यसैले यस्ता प्रयोग गर्नु फेरि पनि समयको बर्बादी मात्र हो ।

समयको बर्बाद गरेर न समृद्ध नेपाल सम्भव हुन्छ, न सुखी नेपाली । बाँकी विश्व हिडिसक्छ, नेपाल र नेपाली भने राजनीतिक पद्धतिकै अलमलमा परेर समय फाल्छन् । अनि कसरी नेपालले समय बर्वाद नगरी यात्रामा रहेका विश्वका अरू देशको जस्तो समृद्धि हासिल गर्न सक्छ ? नेपाल समृद्ध नभई नेपाली कसरी सुखी हुन्छन् ?

फेरि एकपटक दुर्गा प्रसाईंले नयाँ आयाम थपेको राजतन्त्रकै कुरा गरेर बिट मारौं । के नेपालमा राजतन्त्र आउला त ? यसको सपाट उत्तर सम्भव छैन, देखिँदैन । अझ त्यसमा पनि राजावादीहरूले भनेजस्तो सक्रिय राजतन्त्र त असम्भव नै छ । कसरी ?

पहिलो त पूर्वराजा डोली चढ्दैमा राजतन्त्र आउने हैन । त्यसका लागि आन्तरिक र बाह्य दुबै शक्तिको जोडबल चाहिन्छ, त्यो पनि उनलाई आउन नदिनेभन्दा तागतदार ।

आन्तरिक शक्तिको कुरा गर्दा, राजनीतिक शक्ति र सैनिक शक्तिको कुरा आउँछ । राजनीति शक्ति भनेको संस्थागत रूपमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा नै हो । यसलाई संघ र प्रदेश संसदमा जुन स्थान मिलेको छ, त्यो पनि केपी ओलीको कृपाले नै हो । र, यो संख्या पूर्वराजालाई डोली चढाएर नारायणहिटी पुर्याउन सक्षम छैन ।

दोस्रो, आन्तरिक शक्ति भनेको सैनिक हो, त्यो शक्ति अहिले राजा ल्याउन तयार पनि छैन र सक्दैन पनि । बाह्य शक्तिको कुरा गर्दा, त्यस्तो हरियो झण्डा देखाउने सम्भावना र शक्ति भएको भारत मात्रै हो । भारतमा पनि दक्षिणपन्थी भारतीय जनता पार्टी त्यसका लागि सम्भावित शक्ति हुन सक्छ । तर, त्यसो गर्न नेपालको आन्तरिक शक्तिको बल अनि बाँकी विश्वको साथ र समर्थन पनि चाहिन्छ । अहिलेको अवस्थामा त्यस्तो सम्भावना टाढा टाढा पनि देखिँदैन ।

अर्को कुरा, राजसंस्था नेपालमा विद्रोहमार्फत् विदा गरिएको हो । राजाका रूपमा प्रक्षेपण गरिएको व्यक्ति ज्ञानेन्द्र अनि उनीमार्फत् प्रयोग भएको राजतन्त्र नेपालमा परीक्षण भएर जनबिद्रोहमार्फत् हटाइएका हुन् । आजको राजनीतिक सिद्धान्तले नयाँ सक्रिय राजतन्त्र स्थापना हुने स्कोप नै दिँदैन ।

यो त सिक्काको अब कहिलै नपल्टिने एउटा पाटो भयो । अर्को पाटो पनि छ, त्यो भने आवधिक निर्वाचन हो । त्यसमार्फत् जनताले व्यक्ति र दलको विकल्प रोज्न सक्छन् । कम्तीमा २०८४ को चुनावमा अहिलेका ठूला दलका ६५ वर्ष नाघेका नेता उठ्नै नसक्ने दबाब सिर्जना भयो वा उठे पनि पराजित हुने वातावरण बन्यो भने त्यसबाट नेतृत्वमा पुस्तान्तरण हुन्छ । पुस्तान्तरणले स्वभाविक रूपमा रूपान्तरण ल्याउँछ । यो बाटो हिड्दा नै अन्ततः लोकतन्त्र सही ट्रयाकमा आउँछ ।

दुर्गा प्रसाईंको राजा ल्याउने हाउगुजी, रवि छामिछानेको नयाँको चटक, बालेन–हर्क साम्पाङको स्वतन्त्रको फण्डाको सकारात्मक पक्ष के मात्र हो भने यसबाट देशको राजनीतिक पद्धति र शासन व्यवस्था सच्याउन र सुल्टो गतिमा लैजान एक किसिमको दबाब सिर्जना भएको छ । बढीमा उनीहरूले गर्न सक्ने पनि त्यति मात्र हो ।

मूलकुरा लोकतन्त्रमार्फत् नेपालको समृद्धि र नेपालीको सुखको प्रत्याभूति हो । यसका लागि पहिलो शर्त भनेको पुराना दल र तिनका नेता सच्चिने नै हो । त्यसो हुँदैन भने आवधिक निर्वाचनमार्फत उनीहरूलाई सक्ने दोस्रो शर्त हो । दुबै शर्त लागु गर्ने अन्ततः जनता जनार्दन भएर नै हो । यही नै सुल्टो बाटो हो । यो वा त्यो नामको उल्टो बाटो हिडेर नेपाल गन्तव्यमा पुग्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्