Logo
Logo

जेनतेन जन्ती भेटिएला, मलामी भेटिन्न !



हाँस्न मन छ, रुन मन छ, बा–आमाको छेउ
यहीँ देशमा गरिखाने माहौल बनाइदेऊ…

स्वदेशमा गरिखाने वातावरण छैन । बुढेसकालमा बा–आमाको सहारा बन्ने सौभाग्य त्यसै खोसियो । रतन देवकोटाले लेखेको प्रस्तुत गीतले वर्तमान नेपाली समाजको वास्तविकता बोल्छ । जहाँ नेपाली युवाको चाहना र बाध्यता समावेश छ ।

रोजगारी समस्या विकराल छ । अर्थतन्त्र सकारात्मक अवस्थामा छैन । युवामा स्वदेशी सपना मरिसक्यो । परदेशी सपनाले हरेक युवाको मनमा बाध्यताको महल बनाइसक्यो । सचेत र योग्य युवा बाध्यताका बन्धक बनेका छन् । युवा सपनाहरू सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिका सिकार भए ।

स्वदेशमा पसिना बगाए सुन्दर संसार सजाउने सपनाहरू मुर्छित भएपछि तय भएको विदेशी यात्राहरू कतै फूलेका छन् त कतै ओइलाए । सपनाहरू सुन्दर नै हुन्छन् तर सबै फक्रन पाउँदैनन्, फुल्न पाउँदैनन् । कयौँ सपनाहरू त बाध्यताका सिकार हुन्छन् ।

स्वदेशी सपना मरेर पलाएका विदेशी सपनाहरू पनि कहाँ सहजै साकार हुन्छन् र ? लाखौँ रकम खर्च गर्नु पर्छ, साहुको ऋण बोक्नै पर्छ, घर–बारी धितो–बन्धक राख्नै पर्छ । परदेशी साहुसँग सपना र पसिनाले साटेको पैसाले सुन्दर सपनामा नयाँ पालुवा पलाउँछ या पलाउँदैन ? स्वदेशी साहुको ऋण चुक्ता हुन्छ हुँदैन ? धितो–बन्धक राखेका घर–बारी उकास्न सकिएला नसकिएला के नै टुङ्गो छ र ?

गाउँमै सानोतिनो व्यवसाय गरेर संसार सजाउने सपना देखेकाहरू असफलताले घेरिएपछि विदेश लाग्छन् । खेल्दा–खेल्दै खेलाडी, लेख्दा–लेख्दै लेखक–पत्रकार, पढाउँदा–पढाउँदै शिक्षक–प्राध्यापक यस्ता धेरै, सबै–सबै विदेश लाग्छन् । सबैको विदेश यात्रा बाध्यतामा तय नभए पनि बहुसङ्ख्यक बाध्यताले घेरिएपछि परदेशी पाइला तय गर्छन् ।

बिदेसिने युवासँग गगन चुम्ने सपना छैन । संसार फेर्ने र हेर्न चरम महत्वकांक्ष पनि छैन । छ त केवल एउटा औसत जिन्दगी जिउने । चुहिने फुसको छानो हटाएर कमसल भए पनि जस्ता हाल्ने, चाउरी परेको बा–आमाको मुहारमा थोरै भए पनि हाँसो छर्ने, बालबच्चालाई लालन पालन गर्दै राम्रो शिक्षादीक्षा दिने । यी, सपना औसत सपना हुन् । जुन सपना लय मिल्दा स्वदेशमै सम्भव हुन्थ्यो ।

पीडा र व्यथाले थिचिएको अनुहार, च्यातिएको झोला, च्यातिएकै कमिज, चुँडिएका चप्पल, छोड्नै नपरे हुन्थ्यो झैँ कसिएका अँगालो, परदेश लाग्दै गरेका बुबा–आमा देखेर अन्योलमा परेका अबोध सन्तान, सात जुनी नछुटिने बाचा गरेको भोलिपल्ट टाढिँदै गरेको जीवनसाथीको अनुहार, बग्दै गरेका आँसुका धाराहरू…. विमानस्थलका कारुणिक दृश्यहरूले मुटु नै छिया–छिया पार्छ ।

दृश्यहरू हेर्दा लाग्छ– हाम्रो देश बेच्नका लागि युवा उत्पादन गर्ने कारखाना हो । जहाँ, बा–आमा उत्पादन गर्ने मेसिन जस्तो !

०००

बालबालिका शिक्षाको नाममा बिदेसिने योग्यता बनाउन सहर पसेका छन् । उमेर पुगेकाहरू सपना सजाउन पृथ्वीका कुनाकाप्चा पुगिसकेका छन् । बाँकी रहेका युवा दलाललाई राहदानी बुझाएर चिलगाडी चढ्ने दिनको प्रतीक्षामा भेटिन्छन् । अधिकांश घरमा भोटे ताल्चा लागेको छ । सुनसान बन्दै गयो गाउँ । माना–मुरी धान फल्ने खेतहरू खण्डहर बनेका छन् । गाउँमा भेटिन्छन् त उहीँ दुःख र पीडाहरूले चाउरिएका पाका बा–आमाहरू मात्र ।

गाउँ रित्तिँदै गर्दा अर्काको मुलुकमा नेपालीको संख्या बढ्दै छ । बिदेसिने युवाको तथ्याङ्क अत्यासलाग्दो छ । दैनिक २–३ हजारको हाराहारीमा नेपाली युवा औसत जिन्दगी बाच्ने सपना सँगालेर विदेश उड्दै छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४–६५ मा २ लाख ४ हजार युवा श्रम स्वीकृति लिएर बिदेसिए । त्यसयताको तथ्याङ्क दोब्बरले बढ्दै गयो । आर्थिक वर्ष २०७१–७२ मा अहिलेसम्मकै धेरै ६ लाख ९३ हजार जना युवा बिदेसिए । तर, त्याे रेकर्ड ब्रेक गर्दै आर्थिक वर्ष ०७९–८० मा ७ लाख ७५ हजार ३२७ जना रोजगारीका लागि बिदेसिए । प्रस्तुत तथ्याङ्क हेर्दा सरदरमा वार्षिक ६ लाख युवा बिदेसिन्छन् ।

०००

दशक अघिसम्म बहुसङ्ख्यक युवा रोजगारीकै लागि मात्र बिदेसिन्थे । जतिखेर स्वदेशमै बाच्ने जीवन उपयोगी शिक्षाको प्रबन्ध थिएन । रोजगारी समस्या त पहिलो कारण थियो नै । तर, आज रोजगारी समस्याले मात्रै युवा बिदेसिइरहेका छैनन् । यहाँको शिक्षा प्रणालीमा पनि गम्भीर समस्या छ ।

पछिल्लो समय रोजगारीसँगै गुणस्तरीय शिक्षाका लागि बिदेसिने युवाको संख्या पनि तीव्र रूपमा बढिरहेको छ । देशको शिक्षा नीति, विश्वविद्यालयहरूको बेहालत, अव्यवहारिक पाठ्यक्रम र व्यवस्थापन शिक्षाका लागि बिदेसिनुपर्ने कारणहरू हुन् ।

अध्ययनको उचित र आवश्यक वातावरण छैन । दुःखले अध्ययन पुरा गर्नेहरूलाई रोजगारीको ग्यारेन्टी छैन । दुःखले नै आर्जेका शैक्षिक प्रमाणपत्रहरूको उपयोगिता छैन । सीप र क्षमताको कदर हुँदैन । त्यसैले त युवामा विदेशी युनिभर्सिटीको सपना पलाउँछ । र त, शैक्षिक योग्यताका प्रमाणपत्रहरू पोको पार्दै विदेशी सपना अङ्गाल्छन्, युवा । यसै मेसोमा गत आर्थिक वर्षमा मात्रै १ लाख १० हजार युवा अध्ययनका लागि बिदेसिए ।

नेपालको शिक्षा नीतिमा समस्या खुटाइएको आज होइन । तर, अझै पनि सुधार आएको छैन । व्यवहारिक शिक्षा आज पनि कल्पनामै सीमित छ । शिक्षामै समस्या भएपछि योग्य जनशक्ति उत्पादनको परिकल्पना गर्नु मूर्खता हुन्छ ।

देशले दक्ष जनशक्ति उत्पादन गर्न त सकेन, छैन नै, रोजगारीको आधारभूत वातावरण बनाउन पनि सकेको छैन । स्वरोजगार र प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रमहरू नबनेका पनि होइनन् । तर, ती कार्यक्रमहरू स्वदेशमा रोजगारीको सुनिश्चितता गर्न र युवालाई रोक्न कामयाबी भएनन् । किनकि, यी कार्यक्रम वस्तुगत समस्याहरूलाई मध्यनजर गरेर तय गरिएका थिएनन् ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमार्फत स्वदेशमा रोजगारीको ग्यारेन्टी गर्ने नीति अघि सार्दै आएको छ । तर, नीति तथा कार्यक्रम संसद्को रोष्टमभन्दा बाहिर जान सकेको छैन । नीति तय गर्ने तर कार्यान्वयनका लागि कार्यक्रम बनाएर लागू गर्ने ल्याकत नै नेतृत्वसँग छैन ।

एक–एक गर्दै युवामा स्वदेशी सपना मर्दै गएको छ । बाध्यता र परिस्थितिले थिचिएका युवा पलायन हुँदै जाँदा यस्तो विदारक परिस्थिति बन्दै गएको छ कि, जिउँदोका जन्ती त जेनतेन भेटिएला, मर्दाको मलामी भेटिन छोड्यो गाउँमा । बाँकी, सपना त तपसिलमै रह्यो ।

०००

समय सधैँ एकनासको रहँदैन । परिस्थिति सधैँ प्रतिकूल मात्रै हुँदैन । परिस्थितिजन्य बाध्यताहरू नियति होइनन् । अर्थात्, हाम्रो अवस्थामा सुधार ल्याउन सकिन्छ । परिस्थितिजन्य बाध्यताहरूलाई सहजतामा रूपान्तरण गर्न सकिन्छ । पसिना बगाउने वातावरण बनाइदिए युवाले निरस बगरमा पनि सपना सजाउन सक्छन् ।

मर्दै गएको स्वदेशी सपना जगाउनु पर्छ । स्वदेशी सपनाका नयाँ पालुवाहरू पलाउने वातावरण बनाइनु पर्छ । स्वदेशमै औसत जिन्दगी बाच्ने वातावरण बनाउनु पहिलो सर्त हो । जसका लागि आधारभूत शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।

देश जनसाङ्ख्यिक लाभ लिने ऐतिहासिक युगमा प्रवेश गरेको छ । सबै युवा बिदेसिएपछि यो सम्भव हुँदैन । त्यसैले, यो अवसर गुम्न नदिन यहाँ अवसरहरू सिर्जना गरिनुपर्छ । युवामा ‘स्वदेशमै गर्छु’ भन्ने मनोबल विकास गर्नु पर्छ । यदि, जनसाङ्ख्यिक लाभ लिने अवसरबाट चुकियो भने विकास र समृद्धिको परिकल्पना धेरै पर धकेलिन्छ ।

देश राजनीतिक अस्थिरतामै रुमलिँदा युवामा निराशा बढ्दो छ । अस्थिरताको जगमा मौलाएको अराजकताले व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको छ। यसको अग्रपङ्क्तिमा युवा नै छन् । पीडा र आक्रोशले सिर्जना गर्ने परिस्थितिले संकट निम्त्याउँछ । त्यसैले, राजनीतिक नेतृत्वले राजनीतिक स्थायित्वका लागि पहल गर्नु पर्छ ।

राजनीति ठीक ठाउँमा हुँदा बेथिति अन्त्य हुन्छ । बेथिति अन्त्य हुँदा देश सिस्टममा चल्छ । देश सिस्टममा चल्ने परिस्थिति बनेसँगै स्वदेशमै गरिखाने वातावरण बन्छ । स्वदेशमै गरिखाने वातावरण बन्यो भने ‘हाँस्न मन छ, रुन मन छ, बा–आमाको छेउ, यही देशमा गरी खाने माहौल बनाइदेऊ…’ भन्दै युवाले वेदना पोख्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्