Logo
Logo

एउटा सानो घरको तृष्णा जाग्न थाल्यो




जीवन यात्रामा उमेर थपिँदै जानु भनेको अनुभव थपिनु पनि हो । चीनबाट फर्केर ६ वर्ष घर बसेपछि चारवर्ष डेरामा बस्यौँ हामी । दुःख र सुखको, बाध्यता र स्वतन्त्रताको अनुभव पनि थपियो ।

डेरा त आखिर डेरै हो, आफ्नो घर होइन । आफ्नै घर भनेको कस्तो हुन्छ, त्यो अनुभव गर्न भ्याएकै थिएन । संसार यति ठूलो भएर पनि आफ्नै भन्न मिल्ने भूमि नहुनुले बेला बेलामा एक किसिमको रिक्तताको अनुभूति हुन्थ्यो ।

बच्चाहरू हुर्कँदै थिए । ठूली छोरीलाई अझै दुःख लाग्थ्यो । बेला बेलामा ऊ भन्थी– ‘म त सुकुम्बासीको सन्तान रैछु । मेरा सबै साथीहरू आफ्नै घरमा बस्छन्, म त डाक्टरकी छोरी भएर पनि डेरामा बस्नु परेको छ…।’

डाक्टर भएका बाबु भने दिनरात व्यस्त, घरमा समय दिन पाउने पनि होइन । अस्पताल–अस्पताल भनेर तन मन सबै उतै लगाइरहेका थिए । म विश्व भाषा क्याम्पसमा काम गर्दै, बच्चाहरु हुर्काउँदै बचेको समयमा साहित्य र सामाजिक काममा लाग्दै थिएँ ।

बिहे भएको झण्डै २० वर्ष पुग्दासम्म पनि हामी डेरामै थियौं । अब भने आफ्नै एउटा सानो घरको तृष्णा जाग्न थाल्यो । सुरुमा त कतै कुनै किसानले छोडेको बल्चा (छाप्रो) जस्तै भएपनि खुट्टा तन्काएर सुत्नेसम्म ठाउँ भए पुग्थ्यो भन्ने लाग्थ्यो ।

अस्पताल विस्तार हुँदैथियो । अहिलेजस्तो धेरै डाक्टर थिएनन् । परिकल्पनासमेत सरोजकै भएका कारण जानी नजानी व्यवस्थापनको जिम्मा उनैले लिनु पर्ने थियो । बेस्सरी काम गरेर फर्कँदा सरोज थकित हुन्थे । बच्चाहरूलाई दिनुपर्ने जति समय दिन सक्दैन थिए ।

डाक्टर हुनु सजिलो थिएन भन्ने कुरा म बुझ्थेँ । बच्चाहरूलाई बुझाउन भने गाह्रो थियो । सर्जनको काम न हो ! कुनैबेला लामो र गाह्रो अपरेशन पथ्र्यो, घर फर्किने बेला बच्चाहरू सुतिसकेका हुन्थे ।

एकपल्ट सरोजको जन्मदिनमा बच्चाहरू बुबालाई जन्मदिनको शुभकामना दिएर रमाउन चाहेका थिए । सँगै खाने भनेर बेलुकाको खानै नखाई बाबुलाई पर्खेर बसेका थिए । तर, त्यही दिन उनलाई भने अस्पतालमा एकजना बिरामीको कारण निकै गाह्रो भइरहेको थियो । ती बिरामी उनका बिरामी मात्र थिएनन् । मेरी अनन्य मित्रका जीवनसाथी पनि थिए । मैले दिउँसै थाहा पाएकी थिएँ– उनको स्थितिमा जटिलता आएको कुरा ।

सधैँ झैं म पनि अस्पताल पुगेकी थिएँ एक पल्ट । मेरो मनमा पनि चिन्ता लागेको थियो । बेलुकी बच्चाहरू भोकै बाबुलाई ‘ह्याप्पी बर्थडे’ भन्न कुरिरहेको दिन बेलुका खाना खाने बेलामा समेत पनि न फर्केकोले मलाई झनै चिन्ता बढ्न थालेको थियो । मोबाइल नआइसकेको त्यो जमानामा बिरामी र डाक्टर दुवैलाई छिनको छिनमा फोन गरेर कुरा बुझ्न अहिले जस्तो सजिलो थिएन ।

पाकिसकेको खाना त्यत्तिकै राखेर भान्छामै ओहोर दोहर गरिरहेँ । मनमनै आफ्नै तालमा प्रार्थना पनि गर्दै थिएँ । अहिले सम्झँदा पनि त्यो क्षण साँच्चै नै गाह्रो थियो । मलाई मेडिकल ज्ञान थिएन । यसो गर्नु त्यसो गर्नु भनेर कुनै सुझाव दिनसक्ने अवस्थामा म थिइनँ । चिन्ता लिनु, प्रार्थना गर्नु बाहेक म के नै गर्न सक्थेँ र अरु !

बेलुका निकै ढिलो भइसकेको थियो । प्रार्थनाले मेरो मन शान्त भयो । त्योबेला बिरामीलाई नदेखेकै भएपनि ‘बिरामीलाई अब केही नराम्रो हुँदैन’ भन्ने आत्म विश्वास जाग्यो ।

यो कुरा सरोजलाई सुनाउन मन लाग्यो र अस्पतालमा फोन गरेँ ‘अब बिरामीलाई राम्रो हुन्छ, घरमा एकपल्ट फर्केर खाना खाएर फेरि फर्कनुस्’ भनेँ । मैले यसो भनिरहँदा मेरो मन ढुक्क भैसकेको थियो । विज्ञान भन्दा बिल्कुल परको कुरा थियो मभित्र आएको त्यो आत्मविश्वास ।

त्यतिबेला सरोजको जन्मदिन पनि भएकोले मेरो आस्था अनुसार एउटा दियो पनि बाली राखेकी थिएँ । पूजा गर्न नजाने पनि शिर्डी बाबाको एउटा तस्बिर राखेकी थिएँ भान्सासँगैको स्टोरमा । उनैसित प्रार्थना गर्दैथिएँ ।

मेरो मन सञ्चो भएपछि फोन गरेर सरोजलाई बोलाएँ । बिहान छिटो छिटो अलिकति ब्रेकफास्ट खाएर गएको मान्छेले दिनभरी केही खाए कि खाएन भन्ने चिन्ता पनि थियो । मैले फोन गरेपछि एकछिन उता अपरेशनको बन्दोबस्त गरेर घर फर्के सरोज । छिटो छिटो अलिकति खाना लिएर बेलुकी फेरि अस्पताल फर्के ।

बिरामीको त्यो स्थितिमा एनेस्थेटिस्टहरू एनेस्थेसिया दिन मानिरहेका थिएनन् । ‘केही परेछ भने सम्पूर्ण जिम्मा म आफै लिन्छु’ भनेर एनेस्थेटिस्टलाई करै गरेर राती नै इमर्जेन्सी अपरेशन गरेछन् । पछि राम्रै भयो सबै कुरा । खुसी लाग्यो । तर, त्यो क्षणलाई बिर्सिन भने सकिनँ ।

हामी डेरामा हुँदाका कुरा सम्झँदा, सरोजले अहिले छिटो रिटायरमेन्टको चाहना गर्नु पनि उचितै हो भन्ने लाग्छ । त्यतिबेला धेरै बिरामीको अपरेशनका कुरा सुन्थेँ । अपरेशन त सर्जनले गर्थे– उनकै काम थियो । तर, डाक्टरको नजिक बसेर अनुभव गर्ने काम भने मेरो थियो । उनको डिपार्टमेन्ट अहिलेजस्तो बलियो भइसकेको थिएन । सक्षम डाक्टरहरूको ठूलो टीम पनि थिएन त्यो बेला । उनैले सबै भ्याउनुपर्ने स्थिति थियो ।

बिहे भएको झण्डै २० वर्ष पुग्दासम्म पनि हामी त्यही डेरामै थियौं– दुई बच्चालाई लिएर । अब भने आफ्नै एउटा सानो घरको तृष्णा जाग्न थाल्यो । धेरै ठूलो घरको सपना त कहिल्यै देखेकी थिइनँ । सुरुमा त कतै कुनै किसानले छोडेको बल्चा (छाप्रो) जस्तै भएपनि खुट्टा तन्काएर सुत्नेसम्म ठाउँ भए पुग्थ्यो भन्ने लाग्थ्यो । सानो छाप्रोमा पनि फूलहरू सजाएर राख्न थाले ‘आफ्नो’ भन्ने एउटा ठाउँ त हुन्छ भन्ने सोच दिनदिनै जस्तो मनमा पलाइरहन्थ्यो ।

पैसा नभएपनि हामी साथीहरूका भने धनी थियौँ । साथीहरूसँग ‘एउटा सानो घर जोड्न पाए हुने’ जस्ता कुरा गर्न थाल्यौँ । साथीहरू पनि अनेक सल्लाह दिन थाले ।

एकपल्ट किर्तिपुरको हाइटमा डोरबहादुर विष्टले छोडेको कटेज पनि देखाउन लगे किर्तिपुरकै साथीहरूले । हामीसँग पैसा नहुँदा किर्तिपुरकै एकजना साथीले आफ्नै घर जग्गाको लालपुर्जा धरौटी राखेर ऋण लिइदिनेसम्म कुरा गर्नुभयो । यो सद्भावलाई कहिल्यै बिर्सन सक्दिनँ । पछि अरु नै कारणले त्यो घर लिन सकिएन । नत्र भने हामी यतिबेला किर्तिपुरवासी हुन्थ्यौँ ।

धेरै साथीको धैरै सहयोग पायौँ । ती मध्ये सरोजको आनिबानी स्वभाव बुझेका अर्का घनिष्ट मित्रले योजनाबद्ध तरिकाले नै सल्लाह र सहयोग गर्न थाल्नुभयो । उहाँकै माध्यमबाट हाम्रो जीवनमा दीर्घकालिन प्रभाव पारेका अरू साथीहरूसँग पनि मित्रता बढिरहेको थियो ।

अनेक घटनाक्रमपछि अन्ततः साथीहरूसँगै ऋण सहयोग लिएर हात्तीगौंडामा एउटा सानो घर लियौँ । जम्मा एक दशक मात्र बसेर छोडेको त्यो घरले हाम्रो जिन्दगीमा धेरै कुरा दिएको छ …।

प्रतिक्रिया दिनुहोस्