Logo
Logo

बल्लबल्ल पाएको ‘आफ्नो घर’को आनन्द लिन सकिएन



सपना जस्तै हो जीवन । र, जीवनको सपना देख्ने ठाउँ यहीँ जगत हो ! मैले आफ्नो परिवार बिसाउनका निम्ति सानो ‘बल्चा’ भएपनि हुने भनेर सपना देखेकी थिएँ ।

घरहरू खोज्दाखोज्दै ‘बल्चा’भन्दा अलिकति ठूलो एक आनामा बनाएको दुई कोठे कटेज भेटियो । ठाउँ त थियो, तर घर भने किन हो एक आना भन्दा पनि कम एरियामा बनाएको रहेछ ।

सानो, पुतलीको घर जस्तो लाग्ने घर देखेपछि मेरी ठूली छोरीले त्यो घर छोड्न चाहिनन् । मलाई पनि मनै पर्याे । साथीहरूको सहयोग जुरेको बेला ऋणमै भएपनि त्यही घर किन्यौं । धन्न त्यो बेला अहिले जस्तो धेरै महङ्गो भैसकेको थिएन जग्गाको भाउ । त्यही घरमा एक दशक बितायौं । अहिले फर्केर हेर्दा त्यो पनि सपनै जस्तो लाग्छ ।

त्यतिबेला हात्तीगौंडामा अहिले जस्तो धेरै घरहरू बनेका पनि थिएनन् । अलि टाढा र एकान्त ठाउँमा थियो । म मध्यसहर भित्रको झोछेँमा जन्मेँ । हात्तीगौँडा टाढा लाग्थ्यो । सुरुमा एकान्त लाग्नु स्वाभाविकै थियो । घर सर्ने बेला सरोज अमेरिका र क्यानाडाको भ्रमणमा थिए । काठमाडौं यूनिभर्सिटी स्कूल अफ मेडिसिन स्थापनाको तयारीका क्रममा डा. अर्जुन कार्की, डा. शरद वन्त र सरोज लगायत डाक्टरहरू अहोरात्र खटिरहेका थिए ।

तत्कालीन उपकुलपति सुरेशराज शर्मा, रजिस्ट्रार सीताराम अधिकारी आदि काठमाडौं विश्वविद्यालयका नेताहरूले उनीहरूलाई एक किसिमले जिम्मा नै दिएका थिए । त्यही तीनजनाको टोली अमेरिकाका विभिन्न मेडिकल कलेज र युनिभर्सिटीमा चिकित्सा शिक्षाविद्, व्यवस्थापक र नेतृत्वसंगको भेटघाट परामर्शका लागि डेढ महिनाको निम्ति गएको थियो । उनीहरू जाने बेलासम्म हामी अझै लाजिम्पाटको डेरामा नै थियौं ।

सरोज नभएकै बेला दुइटी छोरीहरू लिएर म घर सरेँ । सुरु सुरुमा नयाँ ठाउँमा बानी पर्न गाह्रै भयो । वरिपरी छिमेकीहरूलाई चिनिसकेकै थिएन । कहाँ के किन्ने ? मद्दत चाहिए कसलाई बोलाउने ? केही थाहा थिएन ।

सरेको केही दिनमै सिङ्गै देशलाई प्रभावित पार्ने ठूलो घटना घट्ला भन्ने त कल्पनामा पनि थिएन । ५८ साल ज्येष्ठ ५ गते घर सरेको, ठीक दुई हप्तापछि जेठ १९ मा त राजदरवार हत्या काण्ड नै घट्यो । त्यसपछि भने मलाई डर लाग्यो । एक्लै बस्नुको डर मात्र हैन, अब देशै के हुने हो भन्ने डर जन्माउने ठूलो दुर्घटना थियो त्यो ।

त्यस्तो अन्योल मिश्रित डर पहिले कहिल्यै लागेको थिएन । एक्कासी आकाशै खस्यो कि भने जस्तो भएको थियो । टाढाको नयाँ बसाई छ । छिमेकीहरूलाई चिन्न पनि भ्याएको छैन । आफन्त, मित्रहरूबाट टाढा छु । घरमा श्रीमान छैनन् । दुई छोरीहरू र एकजना सहयोगी थिए घरमा ।

शुक्रबार रातीदेखिनै साथीहरूको फोन आउन थाल्यो । घटना त थाहा पाएँ, तर बुझ्नै नसकिने अनेक समस्याले टाउको भारी हुन थाल्यो । भोलीपल्ट बिहानै बाहिर बजारमा खानेकुरा, मट्टीतेल आदि अत्यावश्यक उपभोग्य सामग्री किन्न भीड लागेको देख्दा अनिकाल नै सुरु भइसकेको हो कि जस्तो लाग्यो । आफूसँग धेरै पैसा पनि थिएन । मान्छेहरू हतार हतारमा किनमेल गरिरहेको देख्दा मेरो भागमा केही नपर्ने भयो भन्ने भैसकेको थियो ।

नभन्दै आफ्नै घरमा त त्यहीँ दिनबाटै अनिकाल सुरु भयो । देशै डुब्न लाग्यो कि भन्ने चिन्ता सँगै अब बच्चाहरूलाई कसरी पाल्ने भन्ने चिन्ता सुरु भयो । मन पोल्यो, पोलिरह्यो ।

‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु’ भन्ने भनाइ छ । यसलाई पनि सम्झेँ । तर, हुँदै नभएको ‘बीउ’ कसरी जोगाउने ? मसँग पैसा नै थिएन । नयाँ घरमा सरेकोले अलिअलि भएको पनि खर्च भइसकेको थियो ।

केही दिन अघि सहर पस्दा ठूली दिदीसँग सापटी लिएको चारहजार रुपैयाँमा पनि दुई हजार त खर्च नै भैसकेको थियो । अब बाँकी दुईहजारले के किन्न भ्याउँथें र ? त्यो त्रास र चिन्ताबीच टिभी, रेडियोमा पनि शोक धून मात्र बजिरहँदा मनमा झनै चिन्ता र दुःख थपिन्थ्यो ।

आइतबार गाडीहरू बन्द थिए । तर, म अस्पतालसम्म पुगेँ–सरोजको तलब पाइन्छ कि भनेर । कसरी पुगें, अहिले त सम्झना पनि छैन । घर फर्कन खोज्दा बाटोमा कर्फ्यु लाग्न थालिसकेको थियो । धेरैले कपाल खौरेका थिए । बाटो बाटोमा विद्रोहको आवाज पनि सुनिन्थ्यो । ती सबैको प्रत्यक्षदर्शी हुँदै बाटो काट्दै थिएँ । धन्न सरोजले छोडेको एउटा मोबाइल हातमा थियो । दुइटी छोरीहरूलाई नयाँ घरमा एक्लै छोडेकी थिएँ । अब घर फर्किने त्यहो बाटो पनि बन्द हुँदैथियो ।

बागबजारबाट हिँडेर हात्तीगौंडा पुग्नु सजिलो थिएन । बाटो बन्द भएको खबर ठूली छोरीले टिभीबाट थाहा पाइछ । उसले मलाई फोन गरेर भनी– ‘मामु ! अब तपाईँ घर फर्कन सक्नु हुन्न । हाम्रो चिन्ता नलिई उतै तमाकहाँ बस्नु…’ तर, मेरो मन कसरी मानोस् ! त्यस्तो असामान्य स्थितिमा बच्चाहरूलाई टाढा घरमा एक्लै छोडेर म दिदीकहाँ रात काट्न कसरी सक्थेँ !

बटुवाहरूसँग कुरा गर्दा दरबारमार्गदेखि महाराजगन्ज, चक्रपथसम्मको बाटोमा कर्फ्यु लागेको भन्ने थाहा पाएँ । बालाजुतिर जाने बाटोमा युवाहरू विद्रोहको मनस्थितिमा बसेका देखिए । तर, पनि बाटोनै बन्द भइसकेको भने थिएन ।

कसो कसो गरेर एउटा कालो ट्याम्पो भेटें र जहाँसम्म सक्छौ लगिदेउ भनेँ । अस्पताल पुगेर केही पैसा लिन भ्याकी थिएँ । त्यसले पनि केही आँट दिएको थियो । ‘जतिभन्छौ त्यतिनै दिन्छ, घरसम्म पुर्याइ देउ’ भनेर अनुरोध गरेँ ।

उनले डराइ डराइकन चक्रपथ नजिको बाटोसम्म ल्याईदिए । धेरै धन्यवाद भनें । त्यसपछि घरको निम्ति केही सामान बोकेर हिँडेरै घरसम्म पुगें ।

यस्तो बेला आफ्नो बुढासँग कुरा गर्न मन लाग्नु स्वाभाविक थियो । तर, त्यति नै खेर उनीहरू क्यानाडाको टोरोन्टोबाट बोस्टन, न्युयोर्कतिर जाँदै रहेछन्– त्यो पनि उँडेर हैन, गुडेर । केहीदिनसम्म सरोजको टेलिफोन नै आएन ।

उनको फोन आउने बित्तिकै मैले हतार हतार भनेँ – ‘घर फर्किन हतार नगर्नु, केही समय उतै बसे हुन्छ बरु । देशको हालखबर ज्यादै खराब छ । देश पनि रहने हो कि हैन पीर भइसक्यो !’ साँच्चै नै त्यो समयले धेरै कुरा सोच्न लगाइरहेको थियो– देशबारे, मान्छेबारे, जीवनबारे, घर, समाज, सुरक्षा, स्वतन्त्रता, खुसी … धेरै कुराबारे !

यसरी एकदमै ढिलो गरेर बल्लबल्ल पाएको ‘आफ्नो घर’को आनन्द लिन भने सुरुदेखि नै सकिएन …।

प्रतिक्रिया दिनुहोस्