Logo
Logo

इन्दिराको ‘लक्खुम’ आफ्नै आँगनमा विमोचन



काठमाडौं । पछिल्लो समय ठूला-ठूला तारे होटल र क्याफेहरुमा तामझामसहित पुस्तक विमोचन गर्ने चलन बढ्दै गएको छ । लेखक तथा कविहरुबीच नामकै लागि महँगो होटलहरुमा विमोचन गर्ने प्रतिस्पर्धा चलिरहेका बेला गजलकार इन्दिरा नेम्बाङ निङसाङले भने आफ्नो गजल संग्रहको विमोचन घरमै गरेकी छन् ।

गजलकार इन्दिराको लिम्बू भाषाको गजल संग्रह ‘लक्खुम’ अर्थात आँगन सार्वजनिक गरिएको छ । पाँचथर याङवरककी गजलकार इन्दिराको गजलसंग्रहलाई याङवरक गाउँपालिका अध्यक्ष भिमप्रसाद योङयाले लेखककै घरमा सार्वजनिक गरेका हुन् ।

गजल संग्रह सार्वजनिक गरिएको घरलाई निर्देशक तथा चर्चित हास्य कलाकार मौसम इम्बुङ ‘फुलेन्देको बाउ’ र गजलकार इन्दिराले ‘याक्थुङ नमुना घर’का रुपमा नामांकन गरेका छन् । यो घर पाँचथरको याङवरक–५ याङसिङबुङमा छ ।

नामओती समुह याङसिङबुङद्वारा आयोजित गजलसंग्रह सार्वजनिक कार्यंक्रममा पाँचथर जिल्लास्तरका पत्रकार तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । लेखक इन्दिराका अनुसार याङवरक गाउँपालिकामा गरिएको यो पहिलो साहित्यिक कार्यक्रम पनि हो ।

कार्यक्रममा एलबी नेम्बाङ, मधु केरुङ, पुष्पहाङ लोवा, महेन्द्र सेलिङ, बाबा मेन्याङबो, सबिन माबोलगायतले गजलसंग्रह ‘लक्खुम’माथि चर्चा गरेका थिए । द मार्जिनले प्रकाशन गरेको गजलसंग्रह ‘लक्खुम’लाई निश आङदेम्बेले सम्पादन गरेका छन् । कार्यक्रमको सञ्चालन कलाकार मौसम इम्बुङ (फुलेन्देको बाउ’ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्