Logo
Logo

नागढुंगामा स्थानीय र प्रहरीबीच झडप


9.8k
Shares

काठमाडौं । ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको विषयलाई सडक अवरुद्ध गरेपछि नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । सोही विषयलाई लिएर शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए । अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन् । प्रहरीले चन्द्रागिरी नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित केहीलाई नियन्त्रणमा लिएको छ ।
अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सवारी आवागमन पनि दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी–२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए । घाइते अस्मिताको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्