काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी बिधेयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्ने बताएका छन् ।
मानवअधिकार दिवसको सन्दर्भमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गम्भीर मानव अधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संक्रमण न्यायसम्बन्धी बिषयमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरिएको भन्दै अन्तिम अवस्थामा सहमति हुन नसके प्रक्रियागत रुपमा संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्ने बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा दलहरु पनि गम्भीरताका साथ सहमतिको नजिक पुगेको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको सभामा पनि शान्तिप्रक्रिया अन्तिम चरणमा रहेको र नेपालको मौलिक ढंगले निष्कर्षमा पुराउन खोजेको जानकारी दिए । शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउन अन्तराष्ट्रिय समूदायको पनि साथ चाहिने र उनीहरुको साथको प्रतिवद्धता आएको उनले बताए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले अहिले मुलुकको व्यवस्थामाथि धावा बोल्ने काम भएको भन्दै सवै जनयुद्धका घटकहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राखेका थिए ।














