काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलेको भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा ग¥यो भनेर आफूविरुद्ध दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै नेकपा मोओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफू दुबईबाट फर्किंदै गर्दा ठूलो षड्यन्त्रको नमूना पाएको बताए । उनले राष्ट्र, जनताको, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको बताउँदै दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्नसमेत पार्टीनिकट पत्रकारलाई आग्रह गरे ।

‘अर्बौं अर्बको पहिला पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ, एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमूनाको रूपमा त्यसलाई लिएँ । मैले केही प्रतिवाद गरिनँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले राष्ट्रको हितमा, जनताको हीतमा हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ । यति तलबाट मान्छेहरुले सोच्ने, भन्ने र खुला प्रचार गर्नसक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्ने बोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाईबाट, त्यही निचबाट होइन । यस्ता झुटो प्रचारहरू छन्, तिनको प्रतिवाद गर्नुपर्छ ।’
शहीद, बेपत्ता योद्धाका परिवारलगायत पीडितलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको उनको भनाइ थियो । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको समेत उनले बताए ।














