
काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज मंगलबार कोशी प्रदेश छिर्दै छ ।
सोमबार रामेछापको सदरमुकाम मन्थली पुगेको एमाले नेतृत्व आज ओखलढुंगाको हर्कपुरमा सभा आयोजना गर्दै कोशी प्रदेश प्रवेश गर्ने भएको हो ।कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश नम्बर १ पुनः नामकरण सङ्घर्ष समिति’को कडा चेतावनीकै बीच एमाले कोशी प्रदेशमा अभियान लिएर प्रवेश गर्न लागेको हो ।
कोशी प्रदेशमा अभियानका सबै कार्यक्रमको तयारी पूरा भएको एमाले नेता विसाल भट्टराईले बताए । ‘कार्यक्रमको तयारी सबै पूरा भएको छ, आज १ बजे ओखलढुंगाको हर्कपुरमा हाम्रो सभाको आयोजना हुन्छ’, भट्टराईले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरूलाई पहिचानवादी संगठनहरूले कोशीमा निषेध गर्ने घोषणा गरेका छन् । त्यसलाई मध्यनजर गर्दै मध्यपहाडी राजमार्ग इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेपछि एकीकृत सुरक्षा व्यवस्था चुस्त बनाउन प्रदेश सुरक्षा समितिले कार्ययोजनानै बनाएर लागेको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
उनका अनुसार तराई इलाकामा रहेका प्रहरीलाई व्यापक रूपमा माथिल्ला पहाडी जिल्लामा खटाइएको छ । ‘अन्तरजिल्ला हामी सुरक्षा अधिकारीहरूबीच निरन्तर सम्पर्क छ, सुरक्षाको विषयलाई लिएर त्यस्तो कुनै समस्या देखिएको छैन’, गौतमले भने ।
पहिचानवादीहरूले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कोशीका पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् ।














