बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले गोली चलाएको छ । बुधबार नगरपालिकामा आन्दोलनरत शिक्षक र कर्मचारीले नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोड र आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार चलाएको हो ।
बुधवार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुंगा प्रहार गरेका थिए । आन्दोलनकारीले गाडी जलाउने र कार्यालयमा ढुंगामुढा गर्न थालेपछि गोली चलाएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । गोली लागेर एकजना घाइते भएका छन् । उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

नगरपालिकामा ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प छ । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीले १४ महिनायता सेवासुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सोहीक्रममा बुधबार पनि कर्मचारीले प्रदर्शन गरिरहेका छन् ।














