काठमाडौं । बामपन्थी नेता सागर पाण्डेय आज आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
नेकपा एमाले निकटको मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेयले सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् ।
सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा पाण्डेयलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गर्दै थप उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।

आजपा अध्यक्ष साह सहित पार्टीका प्रवक्ता चन्द्रभुषण साह, स्थायी कमिटी सदस्य रविन्द्र सिंह, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा, केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य नारायणप्रसाद पाण्डे लगायतका विशेष सहभागिता रहेको थियो ।
बुटवल उपमहानगरपालिका- ३ रूपन्देही हाल काठकाडौं महानगरपालिका-९ निवासी पाण्डेय एमालेको सङ्गठनमा रही बिभिन्न जिम्मेवारीमा रही सक्रिय थिए ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको हाल सचिव र विभिन्न सामाजिक संघ संस्थामा समेत पाण्डेय सक्रिय रहेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।
पछिल्लो सयम बिभिन्न पार्टी परित्याग गर्दै आजपामा नेताहरू प्रवेश गर्ने लहर चलेको छ । आजपाले स्थानीय एवं सर्वसाधारणका मुद्दा उठाउँदै संघर्ष गरिरहेको छ । आजपाले बिभिन्न माग गर्दै १० माघमा मधेस बन्दको घोषणा समेत गरेको छ ।
यसैबीच आजपा निकटको आम सम्पर्क मञ्चको राष्ट्रिय भेला आउँदो शनिबार काठमाडौंमा हुँदैछ । अनामनगरको तमुबुद्ध सेवा समितिको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य एवं कार्यालय सचिव सापकोटाले जनाएका छन् ।














