Logo
Logo

अनित्य संसारको पाठ




नयाँ बस्तीमा जिन्दगीको पहिलो घर पाएको १५औँ दिनमा नै अकल्पनीय राजदरवार हत्याकाण्ड भएपछि मन विचलित भयो । बच्चाहरूलाई पनि गम्भीर असर पार्याे ।

त्यो घटनासंग मेरो कुनै सम्बन्ध नहुनुपर्ने हो । राजतन्त्र, राजदरबारसँग पनि कुनै भावनात्मक सम्बन्ध थिएन । जुन क्रान्तिकारी अभियानमा म किशोरावस्थादेखि संलग्न थिएँ, त्यसको चरित्र राजतन्त्रको पक्षमा थिएन । तर, राजारानीलगायत धेरैको मृत्युको समाचार सुन्नुपर्दा मेरो मन अति नै व्याकुल भयो । मेरो स्वभावमा कसैको हत्या सुन्न सक्ने क्षमता रहेनछ भन्ने फेरि देखेँ ।

यसरी मेरो मन विचलित भएको ठूली छोरीले देखिरहेकी थिइँ । उसैले नै मलाई सुझाव दिई ‘मामु एकपल्ट विपासनामा जाने हो कि…’ भनेर । कता गए मेरो मन शान्त हुन्छ भनेर मैले त सोच्न पनि सकेकी थिइनँ ।

छोरीले सुझाव दिए पनि बच्चाहरुलाई एक्लै घरमा छोडेर म १०–१० दिन घर छोडेर ध्यानमा जान मनले दिने कुरा भएन । केही समयपछि सरोज काम सकाएर उत्तर अमेरिकाको भ्रमणबाट फर्के । त्यो बीचमा सानी छोरी पनि बुढानीलकण्ठ स्कूल होस्टेलमा गइसकेकी थिइँ । अनि मात्र ठूली छोरी र उसको बुवालाई घरमा छोडेर १० दिनको विपश्यनामा जान सकेँ ।

बुढानीलकण्ठमाथि शिवपुरीको धर्मश्रृङ्ग विहारमा ध्यान शिविरमा जान ज्योती भवनमा भएको कार्यालयमा फारम भर्न गएँ । कसको प्रेरणाले शिविरमा सहभागी हुने मन गरेको भनेर प्रेरक व्यक्तिको नाम पनि लेख्नुपर्ने रहेछ । मैले आफ्नै छोरीको नाम लेखेँ । ऊ स्कूलमै छँदा विद्यार्थीहरूलाई ३ दिनको ध्यानमा लगेको थियो स्कूलले । छोरीको कलिलो अनुभवलाई नै मैले मानसिक बेचैनीको त्यो बेला ध्यान केन्द्रमा जाने पुल बनाएँ ।

विपश्यना ध्यानले मृत्युबोधसँगै जीवन बोध पनि भयो । धन्य जीवन ! यो अमूल्य मानव जीवनलाई केका निम्ति कसरी सदुपयोग गर्ने भनेर सोँच्नु र त्यस अनुरूप कर्म गर्नु नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ ।

मेरो विगत भौतिकवादी सोचले ओगटेको थियो । आध्यात्मिकतर्फ विस्तारै पाइला चल्न थाले पनि गम्भीर ध्यानमा पस्ने आँट गर्नु त्यति सजिलो थिएन । १० दिन नबोली, कसैसँग नहाँसी, पुरै आर्य मौनमा बसेर ध्यान गर्नु, गुरुको वचनलाई सुन्दै धैर्यका साथ अनुशासित भएर बस्नु पक्कै सजिलो थिएन ।

त्यहाँ जानुभन्दा अगाडि नै एकजना वाम आन्दोलनमा हिंडेका र आफ्नो शरीर र मनलाई सन्तुलनमा राख्नको निम्ति ध्यानको अनुभव पनि गरिसकेका, म आफैले पनि आदर गर्ने गरेका ‘सोनाम साथी’, अर्थात् शशी शेरचनसँग पनि सल्लाह गरेकी थिएँ ।

उनलाई मेरो विगतबारे सबै थाहा भएकोले मेरो स्वभाव सुहाउँदो सल्लाह दिँदै भनेका थिए– ‘…आफूले पढ्दै आएका, सोँच्दै आएका कुरालाई बिर्सिदिएर, पुरै पूर्वाग्रहरहित भएर आफू बढी ‘जान्ने’ नभइकन त्यहाँ जे–जे भन्छन् त्यस्तै मात्र गर्नु है…’ मैले पनि यो कुरालाई अक्षरशः मनन गरेकी थिएँ ।

सुरुमा बानी पार्न गाह्रो भए पनि सकेसम्म धैर्य राखेर आचार्यको आज्ञा पालना गरेँ । गुरु सत्यनारायण गोयन्काकै प्रवचनको भिडियो रेकर्डलाई ध्यान शिविरमा देखाइँदो रहेछ । उहाँको प्रवचन सुन्दै जाँदा गाह्रो हुन छोड्यो र चुपचाप बस्न पनि बानी पर्न थाल्यो ।

शिवपुरीको पवित्र वातावरण, त्यहाँको बिल्कुलै अलग संसार, झन् कोहीसँग बोल्दै नबोल्दा त संसारसँग नै सम्बन्ध छुटेको जस्तो भयो । केही दिनमै म बेग्लै भइसकेकी थिएँ । सुरुदेखि अन्त्यसम्म नै अनित्यता सत्यको पाठ आइरहन्थ्यो । सबै कुरा अनित्य !

आफूसँग हुने भनेको केवल वर्तमान मात्र हो…। आफ्नै सासलाई एकनासले हेर्ने… कसरी भित्र आउँछ ? कसरी बाहिर जान्छ ? यसैलाई हेरिरहँदा संसारमा घटित ठूला साना घटनाहरू पनि अनित्यसत्यकै प्रकट रूप लाग्न थाले । सबै परिवर्तनलाई सहज रुपमा लिन सकिने भयो ।

१० दिन त्यहाँ बसेर फर्कंदा आफूमा धेरै परिवर्तन आएको महसुस भयो । विपश्यनाको त्यो पहिलो अनुभव पहिलेको म र अनुभव भइसकेपछिको ममा भिन्नता आइसकेको थियो । त्यहाँ बस्दाबस्दै पनि आफ्नो मानसिक अवस्थामा परिवर्तन अनुभूत हुन थालेपछि यसको पहिलो श्रेय मेरी आफ्नै छोरीलाई दिएँ, कृतज्ञ भएँ ।

त्यहाँ मेरो रूममेट परेकी थिइन् मदर टेरेसाकी अनुयायी भारतीय नागरिक । उनी सेतो कपडा मात्र लगाउँथिन् । ९ दिनसम्म बोल्नु हुन्न भनेकोले बोल्न पाएकी थिइनँ । देख्दा नै लागेको थियो– उनी सेवामै समर्पित होलिन् भन्ने ।

९ दिनपछि बोल्न पाइने भएपछि उनीबाट म झन् प्रभावित भएँ । उनी कलेजमा पढाउने पनि गर्दिरहिछन् । आफ्नो ठेगाना दिएर मेरो पनि मागिन् । तर, पछि सम्पर्क भने कहिल्यै भएन ।

शिविरमा प्रायः सबै राम्रो उद्देश्यले नै आएका हुन्थे । र पनि ध्यानमा गाह्रो हुँदै गएपछि रोएर वा अरु कुनै बहाना बनाएर बिचैमा फर्किने युवारू पनि थिए ।

वास्तवमा ध्यानमा बस्नु भनेको बोले जस्तो सजिलो हुन्न । ध्यानको निम्ति जीवनको दृष्टि स्पष्ट हुनु जरुरी छ भने, संकल्पको त झनै आवश्यकता हुन्छ ।

संसारमा जन्मदेखि मृत्युसम्म अनेक घटना घटिरहन्छन् । संसारमा दुःख स्वाभाविक छ । अनेक दुःखहरुसँग लडिरहनुपर्छ । दुःख भयो भन्दैमा भागेर जाने ठाउँ पनि छैन । जीवनसँगै मृत्यु पनि छ भन्ने कुरा सहज रुपमा लिन कति गाह्रो हुन्छ हामीलाई !

विपश्यनापछि राजदरवार हत्या काण्डलाई पनि अनित्यताकै एउटा प्रकट रूप भनेर बुझ्न थालेँ । अझै पनि रहस्यमय नै रहेको त्यो घटनाका पनि अनेक कारण र परिस्थिति होलान् ।

राजपरिवारकै त्यति धेरै मृत शरीरलाई एकैचोटी पशुपति लिएर गएको अनि अन्तिम काजक्रिया पनि जसोतसो गरेको देखेपछि सत्ताका निम्ति लड्ने भिड्नेहरूदेखि झनै अचम्म लाग्न थाल्यो ।

राजनीति सप्रियो भने देश आफै सप्रिन्छ भन्ने सोंचेरै कुनै बेला राजनीतिमा होमिएका थियौँ किशोरावस्थामा । जीवन यात्रामा यहाँ पुगेपछि धेरै कुरा सोच्न कर लाग्यो । जीवन भन्नु पनि कति क्षणिक रहेछ ! सबै अनित्य । सबै अनित्य ।

बच्चैदेखि मृत्युका कुरा सुन्दै आएका हौँ हामी सबैले । आफू पनि मर्नुछ भन्ने कुरा पनि थाहा नपाएको हैन । तर, सर्वशक्तिमान ठानिएका राजा–महाराजाको पनि वंशविनाश नै हुने गरी यस्तो घटना आफ्नै देशमा घट्नु र त्यसको साक्षी हाम्रै पुस्ता हुनुपर्ने कुरा चाहिँ कहिल्यै सोँचेको थिएन ।

१० दिनको विपश्यना ध्यानले मृत्युबोधसँगै जीवन बोध पनि भयो । धन्य जीवन ! यो अमूल्य मानव जीवनलाई केका निम्ति कसरी सदुपयोग गर्ने भनेर सोँच्नु र त्यस अनुरूप कर्म गर्नु नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ…

प्रतिक्रिया दिनुहोस्