Logo
Logo
राष्ट्रियसभा सदस्य निर्वाचन-

शून्य मतको रास्वपाले च्याँखे थाप्ला कि सहजै हाप्ला ?


945
Shares

काठमाडौं । माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन चाहने दलका लागि निर्वाचन आयोगले यसअघि नै दल दर्ताको आह्वान गरिसकेको छ । त्यो म्याद आज समाप्त हुँदै छ ।

आयोगले दल दर्ताका लागि आह्वान गरेपछि अधिकांश पार्टीले दल दर्ता गरेका छन् । तर, प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने दल दर्ता गरेको छैन ।

प्रतिनिधिसभामा मात्र प्रतिनिधित्व गरिरहेको रास्वपाका लागि राष्ट्रियसभा सदस्य निर्वाचनमा शून्य मत हो । किनकि, राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख मात्र मतदाता हुन्छन् । 

पछिल्लो आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएर चौथो दल बनेको रास्वपासँग प्रदेश र स्थानीय सरकारमा प्रतिनिधि छैनन् । त्यसैले, यस निर्वाचनमा रास्वपा शून्य मतमा रहेको हो ।

आफूसँग मत नै नभएका कारण रास्वपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता नगरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, आज कार्यालय समय रहेसम्म दल दर्ता गर्न पाइने भएकाले दल दर्ता गर्ने सम्भावना पनि रहन्छ ।

यस बिचमा शून्य मत रहेको रास्वपा पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुने चर्चा चलेको थियो । सत्ता गठबन्धनसँग मिलेर केही सिट पाउन सक्ने अवस्थामा दल दर्ता गरेर अघि बढ्ने चर्चा भएको हो । तर, अहिलेसम्म यस विषयमा राजनीतिक दलबिच छलफल भएको छैन ।

सरकार सञ्चालनको सन्दर्भमा १ मतको समेत महत्त्व हुने भएकाले कुरा मिलेसम्म राष्ट्रियसभा सदस्य निर्वाचनमार्फत अरूकै मतबाट भए पनि संख्या थप्ने रास्वपाको योजना रहेको छ । तर, निर्वाचन हुने २० वटै सिटमा गठबन्धन दल सहजै विजयी हुने सम्भावना रहेकाले गठबन्धनले रास्वपाका लागि भाग नछुटाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्