
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेका छन् । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ, उनले भने। उनले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने मन्त्री शर्माको भनाइ थियो ।
‘जनताको चाहना र आकाङ्क्षा सरकारसम्म पु¥याउने र सरकारले गरेका कामको जानकारी सर्वसाधारणलाई गराउने जिम्मेवारी सञ्चारमाध्यामको हो’, मन्त्री शर्माले भने, ‘सरकारी सञ्चारमाध्यमले सरकारको गुणगान मात्रै गाउँछन् भन्ने बुझाइ चिर्न जरुरी छ । जनताका आशा, अपेक्षा, गुनासाबारे सरकारलाई जानकारी दिने, जनताका आवाज बुलन्द गर्न सक्नुपर्ने र समाजमा जनचेतना फैलाउन सक्नुपर्छ ।’
सरकारी सञ्चारमाध्यम र त्यसमा पनि छापामाध्यमले दिने सामग्रीमा सुधार गर्न सकिएन भने अहिलेको डिजिटल युगमा प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ । मन्त्री शर्माले अब सरकारी सञ्चारमाध्यमले विशिष्टिकृत सामग्री उत्पादनमा ध्यान दिनुपर्ने बताए । कुनै क्षेत्रगतरुपमा नेतृत्व गर्ने गरी समाचार सामग्री दिन सकेमा मात्रै छापामाध्यमले आफ्नो अस्तित्व जोगाउन सक्ने उनको बुझाइ थियो ।
‘अहिले नेपाली युवा विभिन्न बाहनामा विदेशिनेक्रम बढेको छ । यस्तो अवस्थामा सञ्चारमाध्यमले देशमै बसेर केही गर्न सकिन्छ भनेर सामग्री सम्प्रेषण गर्न आवश्यक छ’, शर्माले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल सहभागी हुँदै गर्दा आफ्नो आवाज के हो भनेर उठाउने, असुरक्षित वैदेशिक रोजगारका विषय उठाउनेलगायत विशिष्टीकृत सामग्री आउनसके प्रतिस्पर्धा गर्न सकिन्छ ।’














