Logo
Logo

पहिचानवादीको डरले हेलिकोप्टर चार्टर गरेर चिवाभञ्याङ पुगे ओली


7.6k
Shares

पाँचथर । मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ आज सकिएको छ । 

पाँचथरको चिवाभन्ज्याङ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डोत्तोलन गरेपछि यात्रा औपचारिक रुपमा समापन गरे । 

लगभग  २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथर  र भारत सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा पुगेर सकियो । तर, ओलीले पाँचथर पुगेपछि मध्यपहाडी लोकमार्गलाई पछ्याउने हिम्मत गरेनन् ।

कोशी प्रदेश प्रवेश गरेपछि एमालेले निरन्तर पहिचानवादीको अवरोधको सामना गर्नु परेको थियो । पाँचथर पुगेपछि ओलीले गाडी प्रयोग गरेनन् । पाँचथरदेखि उनी हेलिकोप्टर चार्टर गरेर मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुगेका थिए ।

आन्दोलनरत पहिचानवादीबाट सशक्त प्रतिरोध हुने थाहा पाएपछि ओलीले सडकमार्ग प्रयोग नगरेको पहिचानवादी नेता सागर केरुङले बताए । 

‘प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ले मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा एमालेको संकल्प यात्रामा अवरोध गर्ने तयारी गरेको थियो । पहिचानवादीले युवा फोर्ससमेत गठन गरेको थियो । 

केरुङले पाँचथरको याङवरकमा पहिचानवादीले वम राखेको र स्वागत गेट भत्काइदिएको निराधार हल्ला फैलाएर आन्दोलनलाई बदनाम बनाउन खोजिएको पनि बताए । आफूहरू शान्तिपूर्ण तर सशक्त आन्दोलनको तयारीमा रहेको केरुङले बताए ।

एमालेको संकल्प यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा अघि बढेको थियो । कोशी प्रवेश गर्न साथ  पहिचानवादीले अवरोध गरेको थियो । भोजपुर र  धनकुटाको सिमा लेगुवामा ओलीमाथि  आक्रमणको प्रयास नै भएको थियो । 

घुर्मीबाट कोशी प्रदेश गरेपछि संकल्प यात्रा टुंग्याउँदा समेत एमालेले अवरोध झेल्नु परेको थियो । 

प्रतिक्रिया दिनुहोस्