काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड मागेका छन् । सोमबार कांग्रेस नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘म त मन्त्रीहरुको होइन, प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु ।’
नेता कोइरालाले कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताउँदै भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो ।’

उनले संसदीय व्यवस्थामा मन्त्रीहरुले राम्रो नराम्रो काम जस्तो गरेपनि त्यसको सबै जस–अपजस प्रधानमन्त्रीले लिनुपर्ने बताए । अहिले गणतन्त्रमाथि देशभर आक्रमण भएको पाइएको दावी गर्दै उनले भने, ‘जनताको निराशा र आक्रोश गणतन्त्र, संघीयताप्रति नभइ नेतृत्वप्रति हो । नेतृत्व सुध्रिनु आवश्यक छ ।’ उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि कसैको बैशाखी टेकेर आए जस्तो आभाष भएको बताए ।














