काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताएका छन् ।
आज मङ्गलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताए ।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि त्यसको आधारमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरीतका काम कारबाही भएको पाए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘एनसेलको वैदेशिक लगानी शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलनको काम गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि त्यसको आधारमा सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।’
प्रधानमन्त्रीले एनसेलको शेयर खरिद–बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे ।














