Logo
Logo

मेलम्चीको पानी २८ दिनभित्रै काठमाडौं ल्याउने तयारी



काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । चिनियाँ निर्माण व्यवसायी सिनो हाइड्रोलाई पुनः काम दिने समझदारी भएको र यससँगै अब २८ दिनभित्र मेलम्ची खानेपानी काठमाडौं आइपुग्ने बताइको हो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सिनो हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौँका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो ।

समितिले बुधबार विज्ञप्ति जारी गर्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

‘सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ’, प्रवक्ता पन्तले भने ।

पथान्तरणपश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्