चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
सरकारले भ्रष्टाचारका केस (मुद्दा)मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ ।’

कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उनले थपे, ‘आलोचना, निन्दा गर्नेहरु पनि हुन्छन्, प्रशंसा गर्नेहरु पनि हुन्छन् ।’ आसन्न राष्ट्रियसभाको निर्वाचनबारे उनले यही गठबन्धनबीच तालमेल हुने बताए । गठबन्धनका दलबीच छलफल गरेर सिटको टुंगो लाग्ने उल्लेख गर्दै अध्यक्ष नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने बताए ।
उनले भने, ‘कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो । यी कुरा टुंगो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छाैं ।’ पार्टीभित्र राष्ट्रियसभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उनले उम्मेदवारको लर्काे लागेको बताए ।
यस्तै, नेत्रविक्रम चन्द्र (विप्लव)लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताए । उनले भने, ‘हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ । तर, उहाँहरुमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ ।’
नेपालमा आफूहरुले द्वन्द्व समाधान गर्न छलफल, परामर्श र समझदारीको बाटो अवलम्बन गर्दै आएको बताउँदै उनले भने, ‘हतियारबन्द बाटो लिने होइन, यो समस्यालाई बल्झाउने काम कहीँकतैबाट हुनुहुँदैन ।’ उनी पार्टीको राप्ती नगरस्तरीय कार्यक्रममा सहभागी हुन बुधबार यहाँ आइपुगेका हुन् ।














